न्यायको आशमा द्वन्द्व प्रभावित, पश्चात्तापमा पूर्व लडाकु

0

file photo

माया कँडेल
गैँडाकोट । आजभन्दा २५ वर्षअघि १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व प्रभावितहरु न्यायको पर्खाइमा छन् । १० वर्षे जनयुद्धका समयमा राज्य पक्ष र विद्रोही पक्षबाट प्रभावित भएकाहरु शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दासमेत न्याय नपाएको बताउँछन् ।
पूर्वी नवलपरासी कावासोतीकी बालकुमारी जि.सी.लाई अझै पनि आफ्नो श्रीमान् घरआँगनमै आउँछन् कि झैँ लाग्छ । विद्यालयमा अध्यापन गराउन जाने क्रममा २०६१ वैशाख २८ गते बाटाबाट नै अपहरणमा परेका उनका श्रीमान्को अत्तोपत्तो छैन । उनका काखमा रहेको साढे २ महिनाको छोरा लक्का जवान भयो । ९ वर्षसम्म त बुवाका बारेमा आपूmले पनि भनिनन् । छिमेकीलाई पनि नभन्न भनिन् तर यसरी कति समय टिक्ला र ?अपहरणमा परेका बुवाको अवस्था कस्तो छ ?सास छ कि छैन भन्ने पनि परिवारले थाहा पाउन सकेको छैन।
श्रीमान्को अत्तोपत्तो नभएपछि बच्चा र आफ्नो जीविकोपार्जनका लागि २२ महिनाको छोरालाई माइतीघरमा छाडेर विदेशिनुप¥यो । विदेश पनि सोचेजस्तो कहाँ हुन्छ र ?१ वर्षमा नै स्वदेश फर्किएकी उनले अहिलेयही संघर्ष गर्नुपरेको छ । अब त द्वन्द्वपीडितले न्याय पाउने आशा र भरोष्सा नरहेको उनको भनाइ छ । उनी देखावटीका लागि मात्र विभिन्न समिति गठन गरिएको पो हो कि जस्तो लाग्ने गरेको बताउँछिन् ।
सहिद परिवारले पनि आफ्नो परिवारका सदस्यको बलिदानीले अझै सार्थकता पाउन नसकेको बताउँछन् । द्वन्द्वमा आफ्नो भाइलाई गुमाएका गैँडाकोटका कृष्णप्रसाद शर्माले जे उद्देश्यका नाममा भाइको हत्या भयो त्यो उद्देश्य प्राप्त हुन नसकेको बताए । उनी भन्छन् – “जसका लागि संघर्ष गर्दै युद्धको मैदानमा हजाराँै होमिए अहिले त्यही युद्धका मुद्दालाई सरकारले बेवास्ता गरेको छ । उत्पीडित र अन्यायमा परेकाले अझै न्याय पाएका छैनन् । कति द्वन्द्वप्रभावितको अझै पनि सहज तरिकाले बिहानबेलुकाको छाक टार्ने हैसियत बनेको छैन ।”राज्यले तीकुरामा ध्यान दिँदै सबैलाई न्याय दिन आवश्यक रहेको भएपनि त्यो आशा झिनो मात्रै रहेको शर्मा बताउँछन् ।
देश बदल्ने सपना बोकेर धेरै युवा २५ वर्षअघि युद्धमा होमिएका थिए तर देश बदल्ने सपना बोकेर युद्धमा होमिए पनि आज ती युवाले आफ्नै जिन्दगी बदल्न नसकेको गुनासो गरेका छन् ।उत्पीडितलाई न्याय दिने र समतामूलक समाज निर्माण गर्ने सपना बोकेर ०५२ साल फागुन १ गतेबाट नेपालमा सशस्त्र द्वन्द्वको सुरुवात भएको थियो । त्यसबेला युद्धमा संलग्न धेरैले ज्यानको बाजी थापेर लडे अनि सपना देखे–समृद्ध मुलुक बन्छ कि ¤ भन्ने तर त्यो बलिदानीले सार्थकता नपाएको उनीहरु बताउँछन् । परिवर्तनको आकांक्षा लिएर युद्धमा लागे पनि परिवर्तन नपाउँदा अहिले दुःख लागेको पूर्व लडाकु पारसमणि गौतमको भनाइ छ । राजनीतिक अनिच्छाले नै परिवर्तनमा बाधा पु¥याएको गौतम बताउँछन् । द्वन्द्वका समयमा राज्य पक्षबाट बन्दुक बोक्ने हात यिनै हुन् भन्दै औँला काटिएको र यातना पाएको तीतो यादले त्यो बलिदानी संघर्ष व्यर्थ रहेको गौतमको तर्क छ । प्रत्युत्पादक समय सुन्दर सपनाका लागि बिताएका गौतमलाई आजको राजनीतिक परिस्थितिले वाक्क बनाउने गरेको छ ।
विनयी त्रिवेणीकी निशा चौधरीलाई जनयुद्धमा होमिने निर्णय व्यर्थ लाग्न थालेको छ । अरुकै प्रेरणाले बुर्जुवा शिक्षाका विरुद्ध लाग्न पढाइ छोडेर चौधरी युद्धमा होमिएकी थिइन्, अधुरा सपनाहरुका अघि त्यही पढाइले आज मन पोलिरहन्छ । परिवर्तनको सम्भावना बोकेर युद्धमा लागेकी चौधरीका आजका दिनहरु कष्टपूर्ण छन् । उनका श्रीमान्लाई प्यारालाइसिस छ, ३ जना बच्चाको पालनपोष्ण गर्नुपर्ने संघर्षले विगतको निर्णयलाई व्यर्थ लागेको उनको भनाइ छ । उनले भनिन् – “जसको नेतृत्वमा परिवर्तनका लागि लडेँ उनीहरुको आजको राजनीतिक परिस्थिति देख्दा झन् दिक्क लाग्छ ।”
द्वन्द्वमा नै नहिँडेको र जनयुद्ध के हो ?भन्ने थाहा नहुनेले पनि समस्या भोग्न परेकाले त्यो अवस्था अन्त्य होस् भन्ने चाहना रहेको देवचुलीका लोकप्रसाद भुर्तेलको भनाइ छ । उनले उत्पीडित वर्गका लागि नै आपूmहरुले आवाज उठाएकाले उनीहरुले न्याय र समृद्धि पाउनुपर्ने भएपनि अहिलेसम्म सो हुन नसकेको बताउदै सरकार जनतासम्म पुग्न आवश्यक रहेको बताए । देश बदल्ने सपना बोकेर २६ वर्षअघि युद्धमा होमिएका युवा शान्ति,विकास र समृद्धिको पर्खाइमा छन्।
मुलुकमा भएको सशस्त्र द्वन्द्वका क्रममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको तथ्याङ्कअनुसार १७ हजार ८ सय २८ जनाले सहादत प्राप्त गरे, १ हजार ४ सय ५२ जना बेपत्ता भएका छन् । यस्तै विस्थापित परिवार २२ हजार ८ सय ६३ रहेका छन । श्रीमान् गुमाएका ९ हजार, घाइते १ हजार ७ सय ३७, अपहरण २ हजार ९ सय ८५, अनाथ २ सय ४२, व्यक्तिगत सम्पत्ति क्षति १४ हजार ८ सय ३८, अपाङ्गता ५ हजार ९ सय १२, न्यायिक हिरासत १ हजार ४ सय १५ जनाको तथ्याङ्क रहेको छ ।
तत्कालीन विद्रोही र सरकारी पक्षबाट पीडित हुनेको संख्या अझै धेरै रहेको हुनसक्ने इन्सेक प्रतिनिधि भोला महत बताउँछन् । जिल्ला प्रशासन कार्यालय नवलपरासी र इन्सेकको तथ्याङ्कअनुसार साविक नवलपरासीमा मात्रै अपाङ्ग ६ जना, बेपत्ता १६ जना, मृत्युवरण गर्ने २ सय १५ गरी २ सय ३७ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमध्ये लिङ्गका आधारमा हेर्ने हो भने २ सय २० पुरुष र १७ जना महिला हत्या, बेपत्ता र अपाङ्गता रहेको भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासी र इन्सेकको तथ्याङ्कलाई आधार मान्दा पूर्वी नवलपुरको तथ्याङ्कमा ११९ जना सहिद र ६७ जना द्वन्द्वप्रभावित भएको तथ्याङ्कले जनाउँछ ।

Share.

Leave A Reply