विश्वसनीय र सहज खोप सेवा

0


देशैभर दोस्रो चरणको कोभिड विरुद्धको कोभिसिल्ड खोप अभियान जारी छ । नवलपुरमा पनि यो खोप चलिरहँदा सरकारले निर्धारण गरेका तोकेका व्यक्तिहरुले यो खोप लिइरहेका छन् । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोभिड १९ विरुद्धको खोप जिल्ला तथा नगरमा नै सञ्चालन हुँदा समुदायका व्यक्ति पनि खुसी छन् । पर्याप्त खोपको उपलब्धता नहुँदा यो खोप सबैले भने लिन पाएका छैनन् । अनुदानमा आएको यो खोप प्राथमिकताका आधारमा कोभिडको उच्च जोखिममा रहेका व्यक्तिहरुले लिइरहेका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाभाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिएकाहरूलाई खोप लगाइएको छ । दोस्रो चरणमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, पत्रकारलगायत ९ वटा वर्गका ज्यक्तिहरुलाई खोप लगाइँदै छ ।
यो खोप चलिरहँदा खोपले पार्ने असर र प्रभावबारे नकारात्मक प्रचारबाजीका कारण सोचेजस्तो उपलब्धि भने हाँसिल हुन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको हकमा आशा गरिएका भन्दा आधाआधिले मात्र यो खोप लिइरहेका छन् । जिल्लामा खोपले खासै ठूलो नकारात्मक असर परेको छैन । खोपको नकारात्मक असर पर्न सक्ने भन्दा पनि कार्यव्यस्तताले उपस्थित नभएको जनाउने गरेका छन् । केही पर्ख र हेरको स्थितिमा रहेका छन् । एक त जिल्लाको सीमित स्थानबाट मात्रै खोप सञ्चालन हुनुले पनि तोकिएका व्यक्तिहरु भौगोलिक कारण उपस्थित हुन सकिरहेका छैनन् । भौगोलिक रुपमा तीन तहमा रहेको जिल्लाका नागरिकलाई सहज खोप सेवा लिने वातावरण गराउनुपर्दछ ।
दोस्रो चरणपछि फागुनको दोस्रो साताबाट उमेर समूहका आधारमा तेस्रो चरणको खोप दिने तयारी भइरहेको छ । अहिले भारतबाट आएको अनुदानको खोप दिइएको छ । यसपछि आउने नेपालमा प्रयोग हुने खोप अन्तराष्ट्रिय मापदण्ड पूरा भएको खोप र यसले पार्न सक्ने सकारात्मक तथा नकरात्मक असरबारे सबैलाई विश्वस्त गराउन जरुरी छ । जनस्वास्थ्यको विषयमा हेलचेक्र्याइँ गर्नुहुँदैन । सञ्चालित खोप वा अब आउने खोप सुरक्षित रहेको विषयमा सबैलाई विश्वस्त गराई सुरक्षित रुपमा सञ्चालन गर्न सके खोपको प्रभावकारिता हुनसक्ने देखिन्छ ।

Share.

Leave A Reply