मुकुन्दपुर खानेपानीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी

0


प्रेम क्षेत्री,
फागुन ५, गैँडाकोट । मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । संस्थाको छैटौँ अधिवेशनले सहमतिमा कार्यसमिति चयन गर्न नसकेपछि खानेपानी संस्थामा आज मतदानमार्फत नयाँ समिति चयन गर्न लागिएको हो ।
संस्थाको प्राङ्गणमा ६ वटा मतदान स्थलमार्फत मतदान भईरहेको छ । ४ वटा बाकसमा उपभोक्ताले मत खसाली रहेका छन् । बिहान १० बजेसम्म ७ सय १२ मत खसिसकेको निर्वाचन समितिका संयोजक लीलाधर शर्माले जानकारी दिनुभयो । मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा ३२ सय २० मतदाता रहेका छन् । मतदान शान्तीपूर्ण रुपमा नै भईरहेको उहाँले जानकारी दिनुभयो ।
नयाँ नेतृत्वका लागि नेपाली कांग्र्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक गठबन्धन)ले संयुक्त उम्मेदवार खडा गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा पार्टी (बाम गठबन्धन) ले पनि संयुक्त उम्मेदवारी दिएका छन् ।
प्रजातान्त्रिक प्यानलतर्फ अध्यक्षमा शेषकान्त देवकोटा, उपाध्यक्षमा चन्द्रदत्त जैसी, सचिवमा सोमबहादुर भण्डारी क्षेत्री, कोषाध्यक्षमा रोहिणी सदाशंकर सुनार, महिला सदस्यमा इन्दिरा महतो र पञ्चु माया चितौरे, सदस्यमा दुर्गादत्त कँडेल, प्रेमलाल खरेल र बुद्धि प्रसाद न्यूरेको उम्मेदवारी रहेको छ ।
त्यस्तै प्रगतिशील प्यानलतर्फ अध्यक्षमा माधवप्रसाद कोइराला, उपाध्यक्षमा खड्कबहादुर क्षेत्री, सचिवमा विनोदकुमार श्रेष्ठ, कोषाध्यक्षमा चेतना अर्याल आचार्य, महिला सदस्यहरुमा पवित्रा सुवेदी, शान्ति भण्डारी, सदस्यहरुमा ऋषिराम कँडेल, प्रकाश भुसाल र महेशकुमार श्रेष्ठको उम्मेदवारी रहेको छ ।

Share.

Leave A Reply