राष्ट्रियताको रक्षाका लागि गैंडाकोटमा सबै दल एउटै मञ्चमा

0


फागुन १, गैँडाकोट । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम भन्दै त्यसविरुद्ध शसक्त आन्दोलन र राष्ट्रियताको रक्षाका लागि गैंडाकोटमा सबै दल एउटै मञ्चमा देखिएका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरले गैंडाकोट २ मा आयोजना गरेको संसद् विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दल सम्वद्ध नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गरेको भन्दै लोकतन्त्र स्थापनाका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिहंद्वारा प्रस्तुत अवधारणा पत्रमा संसदको विघटन असंबैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम भएको उल्लेख गर्दै यसलाई हल्का रुपमा नलिएर गम्भिर रुपमा लाग्नुपर्नेमा जोड दिईएको छ । संसद् विघटन गरे पश्चात कामचलाउ सरकारको रुपमा हुनपर्नेमा ओलीले स्वेच्छाचारी र अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको आरोप लागाईएको छ । अवधारणा पत्र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दिपक पाण्डेले वाचन गर्नुभएको थियो । उहाँले प्रतिगमनको खतरा वढेको बताउँदै तानशाह रोक्न सबै लाग्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले आफ्नो पद बचाउन र व्यक्तिगत महत्वकाङ्क्षा पुरा गर्न ओलीले चालेको कदमले आघात पुग्ने बताउँदै राष्ट्रियताको रक्षा गर्न आवाज वुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधान सभा सदस्य एवं नेकपाका गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण पौडेलले नेकपा पार्टीलाई दोष दिनुभन्दा यो व्यक्तिबादी सोंचका कारण वर्तमान अवस्था सिर्जना भएको बताउँदै ओली वाद्को अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका संघीय क्षेत्रिय सभापति द्रोण वन सन्यासीले ओली सरकारका गतिविधि राष्ट्र हित विपरित रहेको बताउँदै आफ्ना संगठनभित्रको अन्तरकलहका कारणले संसदको विघटन गर्ने कार्य उचित नभएको बताउनुभयो ।
जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य गोपेन्द्रकेशरी न्यौपानेले ओलीको कदमले अराजक गतिविधि हुने खतरा रहेको बताउँदै नेपथ्यबाट राष्ट्रपतिले पनि सहयोग गरिरहेको बताउँदै राष्ट्रपतिको कदम पनि गलत रहेको बताउनुभयो ।
माक्र्सवादी विचार मञ्चका अध्यक्ष युवराज पन्थीले प्रधानमन्त्री ओलीले वितण्डा मच्चाईरहेको बताउँदै ओली सरकारका कदम औचित्यहिन रहेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका शालिकराम सापकोटा, अखिल नेपाल महिला संघ केन्द्रीय महासचिव शकुन्तला राना, तराई मधेश जनवादी मोर्चाका केन्द्रिय सदस्य रुपनारायण महतो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष विकाराम महतोले स्वागत र सल्लाहकार देवराज पौडेलले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply