४८ जना रक्तदाताद्वारा रक्तदान

0


प्रेम क्षेत्री
माघ २८, गैँडाकोट । विजय परिवारको सदस्य संस्था विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको नवौं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४८ जना रक्तदाताले रक्तदान गरेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिकाको कार्यालयसँगै रहेको गैँडाकोट रिसोर्टमा भएको रक्तदान कार्यक्रममा बोल्दै १०८ पटक रक्तदान गरिसक्नुभएका सर्वाधिक रक्तदाता खुमनाथ पौडेलले चार धाम धाउनु भन्दा रक्तदान गरेमा मान्छेले गर्ने हरेक दान भन्दा पुण्य मिल्ने बताउनुभयो ।
ब्लड बैंक भरतपुरका प्रतिनिधि विश्वनाथ सापकोटाले रगतको माग र यसको महत्त्वबारे जानकारी गराउँदै यस क्षेत्रका हरेक नागरिकको सहयोगले अकालमा मृत्युवरण गर्नु नपरेको बताउनुभयो ।


संस्थाका अध्यक्ष कपिल न्यौपानेले रक्तदान कार्यमा सरिक भई रक्तदान गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै महान कार्यमा लाग्न आग्रह गर्नुभयो । स्वागत मन्तव्य व्यक्त गर्दै सञ्चालक खेमराज सापकोटाले विजय लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै नियमित रुपमा रक्त संकलन कार्यमा सघाउ पु¥याउँदै आएको र मेडिकल सिटीका रुपमा परिचित चितवनमा हरपल रगत माग भईरहने हुँदा रक्त संकलन कार्यलाई निरन्तरता दिईएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक स्वयम्भु शाक्य, अच्युतहरि अर्याल, गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सचिव गिरीराज लम्साल लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply