सदस्यलाई आर्थिक रुपमा सशक्त बनाउँछौँ : सुवेदी

0


समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्था बनाउने सपना बोकेर हिँडेको २०५० सालमा स्थापित गैँडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिकाका विभिन्न ५ स्थानबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सहकारीले निम्न आयस्तर भएका समुदायलाई लक्षित गरी उनीहरुको जीवनस्तरमा सुधार र स्वरोजगारमार्फत आत्मनिर्भर बनाउन सोही अनुरुपका कार्यक्रम तय गरी अघि बढिरहेको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेका सन्दर्भमा सहकारीको २८ औँ साधारण सभाबाट सहकारीको अध्यक्षमा पोषणराज सुवेदी चयन हुनुभएको छ । सहकारीको अबको योजनालगायतका विषयमा हामीले गैँडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेका नवनिर्वाचित अध्यक्ष पोषणराज सुवेदीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, विजय खबरका लागि समाचार सम्पादक प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंश ः

अध्यक्षमा निर्वाचित भएपछि अबको योजना के बनाउनुभएको छ ?

मैले १७ वर्ष सहकारीमा बिताइसकेको छु । कुनै न कुनै भूमिकामा रहेर मैले सहकारीमार्फत काम गरिसकेको छु । यसअघि म संस्थाको उपाध्यक्ष पदमा रहेर पनि काम गरिसकेको छु । यसलाई अहिले मैले अध्यक्ष पदलाई एउटा अवसरका रुपमा लिएको छु र त्यत्तिकै चुनौतीका रुपमा पनि लिएको छु । नेपालमा रहेका सहकारीमध्ये अन्तर्राष्ट्रिय रुपमा समेत नाम कमाइसकेको सहकारीमध्ये यो सहकारी पनि पर्छ । योजनाका सन्र्दभमा अहिले यो नै भन्नु भन्दा पनि हामी छलफल गर्दैछौँ । यहाँका उस्तै प्रकृतिका संस्थाहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । संस्था एउटा नीति, विधि र प्रविधिले सञ्चालित छ । त्यसैलाई टेकेर आधुनिकीकरण गर्दै सेयर सदस्यहरुलाई सर्वसुलभ सेवा पु¥याउनु नै मेरो मुख्य कर्तव्य रहन्छ ।

सहकारीको वर्तमान अवस्था र प्रगति कस्तो छ ?

गैँडाकोट स्वाभिमान सहकारीमा अहिले ९ हजार ८ सय सदस्य आबद्ध हुनुहुन्छ । कुल सम्पत्तिको कुरा गर्ने हो भने १ अर्ब २७ करोड बढी रहेको छ । ११ करोड सेयरपुँजी पुगेको छ भने ९० करोडको हाराहारीमा बचत र सोही अनुपातमा लगानी पनि भएको छ । कोभिडका कारण सहकारीलगायत हरेक क्षेत्रमा केही न केही प्रभाव परेको छ । त्यसबाट हामी पनि प्रभावित बन्याँै र पनि हामीले गतवर्ष १६ प्रतिशत लाभांश वितरण गर्न सफल भयौँ । कोभिडका कारण पेसा–व्यवसाय गर्न लालायित नदेखिएका कारण अहिले केही लगानी गर्न असहज बनेको छ । सम्भवतः यो केही समयपछि सहज बन्ला ।

सहकारीमा देखिएको मुख्य चुनौती के हो ?

सहकारी विभागले एक सहकारी एक सदस्य भनेको छ । सञ्चालक अर्को सहकारीमा भने छैनन् तर सहकारीमा दोहोरो सदस्यता छ । यसलाई एकाकार गर्नलाई एउटा चुनौती पनि छ । सदस्यलाई अन्य सहकारीको सदस्य त्याग गरी यहि सहकारीमा मात्र सदस्य बन्नका लागि आह्वान गर्दै अभियान नै सञ्चालन गरेका छौँ । यी चुनौती पार गर्दै हामी अघि बढ्ने छौँ । हाम्रो संस्था हरेक हिसाबले केन्द्रविन्दुमा रहेको छ । अब हामीले भवन विस्तार गरी व्यापारिक कम्प्लेक्स राख्ने र उपभोक्ता सहकारीको अवधारणाका रुपमा लिएर अघि बढ्दै छौँ ।

स्थानीय तह अन्तर्गतको ठूलो सहकारीको पहिचान बनाएको त्यसमाथि अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेका ख्यातिलाई कायम राख्दै यस्को साख र छवि बिग्रन नदिन के गर्दै हुनुहुन्छ ?

हामीले यसवर्ष पनि एसियाली ऋण महासंघबाट प्रदान गरिने एक्सेस ब्रान्ड प्राप्त गर्नेछौँ । त्यो आधिकारिक रुपमा घोषणा गर्न मात्र बाँकी छ । यसले पनि पुष्टि गर्छ कि सहकारीले गर्नुपर्ने हरेक काम र गतिविधि पारदर्शी छन् । यसले गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरेको छ । यसले गर्नुपर्ने सूचकहरू पूरा गरेको छ । यति मात्र नभई हामी सहकारीको मर्मअनुसार नै निरन्तर काम गछौँ । एक्सेस ब्रान्डमात्र नभई त्यसभन्दा माथिको ब्रान्ड प्राप्त गर्नेतर्फ हाम्रो प्रयास रहनेछ र त्यो मापदण्ड पूरा गर्न हामी सञ्चालक र कर्मचारी लागिरहेका छौँ ।

नयाँ समिति बनेपछिको कार्ययोजना के छ ?

हामी भर्खरै निर्वाचित भएर आएका छौँ । हामीले यसअघि त्रिवर्षीय कार्ययोजना बनाएका थियौँ र सोही अनुरुप वार्षिक कार्ययोजना पनि बनाएका थियौँ । यसवर्षदेखि हाम्रो ४ वर्षे कार्ययोजना हुनेछ । त्यो कार्ययोजना बनाएपछि वार्षिक कार्ययोजना बनाउनेछौँ। त्यसो त हरेक वर्ष सहकारीले गर्ने काम साधारण सभाले पनि निर्दिष्ट गरेको हुन्छ । वार्षिक रुपमा गर्नुपर्ने कार्यक्रमहरु तय हुन्छन् । कोभिडका कारण केही कार्यक्रम प्रभावित हुने देखिन्छ र पनि सोही अनुरुपको नीति लिएर हाम्रा कार्यक्रम तय हुन्छन् । कार्ययोजना बनाएर हामी अघि बढ्नेछौँ ।

सदस्यलाई आर्थिक रुपमा मजबुत बनाउने सवालमा कस्तो रणनीति बनाउँदै हुनुहुन्छ ?

हामीले प्रत्येक सेयर सदस्यसँग भेटघाट, घरदैलो लगायतका कार्यक्रमबाट जनसम्पर्क गर्ने गरेका छौँ । सदस्यहरुलाई वित्तीय साक्षरता, सहकारी शिक्षालगायतका कार्यक्रम गर्ने गरेका छौँ । हामीले मत सर्वेक्षण पनि गरेका छौँ । उहाँहरुले सुझाव पेटिकामार्फत दिएका सुझावलगायतका कुरा हेर्दा सहकारीप्रति उहाँहरु सन्तुष्ट र खुसी हुनुहुन्छ । उहाँहरुले नै हो सहकारीलाई उत्कृष्ट गराउनुभएको र उहाँहरुको योगदान अमूल्य छ । हामीले पनि उपयुक्त सेवासुविधा दिन सकेका छौँ भन्ने लागेको छ । सदस्यहरुलाई हामी उत्पादनमुखी क्षेत्रमा प्रोत्साहन गरिरहेका छौं । सोही अनुपातमा कृषि, पशुपालन, तरकारी खेती, उद्योगहरुमा लगानीको वातावरण बनाउँदै लग्ने छौं । उनीहरुलाई सहज होस् भन्ने हेतुले ब्याजदरमा पनि सहज बनाउँदै लग्ने छौँ । सदस्यलाई आर्थिक रुपमा सशक्त बनाउँछौँ ।

उपभोक्ता सहकारी, उपभोक्ता पसल या व्यापारिक कम्प्लेक्स के बनाउने बन्ने निचोडमा पुगिसक्नुभएको हो ?

यसभन्दा अघिल्ला सञ्चालक समितिले पनि यो विषयमा कुरा उठाउनुभएको छ तर कुन रुपमा भन्ने हामीले छलफल गरिरहेका छौँ । उपभोक्ता सहकारी, उपभोक्ता पसल र व्यापारिक कम्प्लेक्स यी सबै विषयमा छलफल भएका छन् । यो सञ्चालक समितिले सबैको राय लिएर आवश्यकता के हो भन्ने निक्र्याैल गरेर सुरुवात गर्छ । कुन रुपमा जाने भन्ने मात्र हो । हामीले यसलाई कार्ययोजना बनाएर अघि बढाउँछौं । यो छलफलकै क्रममा छ । यो कार्यकालमा सकरात्मक सुखद खबर सुन्न पाइन्छ । यहाँ रहेका सेयर सदस्यले जसरी पनि दैनिक उपभोग्य वस्तु खरिद गर्नुपर्छ । त्यो उहाँहरुको पैसा बाहिर नजाओस्, आफ्नै सहकारीमा आओस् भन्ने हो । आफै मालिक बन्ने र आफैले उपभोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ भनेर हामी लागेका छौँ ।

Source – Vijaya Khabar Weekly paper

Share.

Leave A Reply