गैँडाकोटमा जम्मा १६ प्रतिशत योजनाले पाए पूर्णता

0


प्रेम क्षेत्री
गैँडाकोट । समृद्ध गैँडाकोट बनाउन गैँडाकोट नगरपालिकामा सानाठूला गरी ३ सय १४ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनका चरणमा रहेका छन् । पूर्वाधार विकासतर्फ नगरका १८ वटै वडामा नगर तथा वडास्तरीय योजना सम्पन्न गर्नका लागि ३ सय १४ वटा योजना सम्झौता भइसकेका हुन् । नगरपालिकाका नगर तथा वडास्तरीय ५ सय ८८ वटा योजनामध्ये ३ सय १४ वटा योजना सम्झौता भई कार्यान्वयनमा रहेको गैंँडाकोट नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर राजु अर्यालले जानकारी दिए ।
चालु आर्थिक वर्षको मध्यसम्ममा नगर स्तरीय १२ वटा र वडास्तरीय २६२ वटा योजना सम्झौता हुन बाँकी रहेका छन् । ५३.४० प्रतिशत योजना सम्झौता भइसकेका छन् ।

नगरस्तरीय योजनाहरुमा भने कुनै प्रगति हुन सकेको छैन । पूर्वाधार विकासतर्फ रहेका १२ वटा योजनाहरु सम्झौता हुन सकेका छैनन् । यी १२ वटा योजनाका लागि ३ करोड ३३ लाख ४४ हजार ४६ रुपैयाँ विनियोजन गरिएको छ ।

नगर तथा वडास्तरीय ५ सय ८८ वटा योजनाका लागि २९ करोड ३० लाख ३७ हजार ४ सय ६ रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये योजना सम्पन्न गर्नका लागि १५ करोड १९ लाख २० हजार १ सय २ रुपैयाँ बराबरको सम्झौता भइसकेको छ । सम्झौता भएका योजना र लागत हेर्दा ५१.८४ प्रतिशत प्रगति भएको पाइएको छ । नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अर्यालका अनुसार सम्झौता भएका योजनामध्ये ९८ वटा योजना सम्पन्न भइसकेका छन् । योजना सम्पन्न भएपछि १२.५२ प्रतिशत रकम भुक्तानी भइसकेको उनले जानकारी दिए । उनका अनुसार त्यो रकममा ३ करोड ६६ लाख ७४ हजार २ सय ६ रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी वडा नम्बर १ र १२ मा ११÷११ वटा योजना सम्पन्न भएका छन् । वडा नम्बर १ मा रहेका ३९ वटा योजनामध्ये २५ वटा सम्झौता भइसकेको र ११ वटा सम्पन्न भएका हुन् । वडा नम्बर १२ का २४ वटा योजनामध्ये १९ वटा सम्झौता भई ११ वटा सम्पन्न भएका हुन् ।

वडा नम्बर ११ मा रहेका २८ वटा योजनामध्ये ११ वटा सम्झौता भइसके पनि हालसम्म कुनै पनि योजना सम्पन्न हुन सकेका छैनन् । १८ वटै वडामध्ये सबैभन्दा बढी गैँडाकोट १४ मा ७० वटा योजना रहेका छन् । जसमध्ये ५८ वटा सम्झौता भइसकेका मध्ये ८ वटा मात्रै योजना सम्पन्न भएका छन् । सबैभन्दा कम वडा नम्बर ४ मा मात्रै १४ वटा योजना रहेकामा ७ वटा योजना सम्झौता भएका छन् भने ३ वटा सम्पन्न भइसकेका छन् ।

गैँडाकोट वडा नम्बर २ का ३१ वटा योजनामध्ये ९ वटा सम्झौता भई ६ वटा सम्पन्न भएका छन् । त्यस्तै वडा नम्बर ३ मा १८ वटा योजनामध्ये ११ वटा सम्झौता भई ८ वटा सम्पन्न भएका छन् । गैँडाकोट ५ का २१ वटा योजनामध्ये ५ वटा सम्झौता भई २ वटा सम्पन्न भएका छन् । वडा नम्बर ६ का ३४ वटा योजनामध्ये २० वटा सम्झौता भई ४ वटा सम्पन्न भएका छन् । वडा नम्बर ७ का २५ वटा योजनामध्ये १४ वटा सम्झौता भए मध्ये एउटा मात्रै सम्पन्न भएको छ । वडा नम्बर ८ का ३२ वटा योजनामध्ये १३ वटा सम्झौता भएका छन् भने ५ वटा योजना सम्पन्न भइसकेका छन् । त्यस्तै वडा नम्बर ९ का ३८ वटा योजनामध्ये २३ वटा सम्झौता भई ७ वटा योजना सम्पन्न भएका छन् ।

गैँडाकोट वडा नम्बर १० का १७ वटा योजनामध्ये ११ वटा सम्झौता गरिएकामा एउटा मात्रै सम्पन्न भएको छ । गैँडाकोट १३ को ३७ वटा योजनामध्ये १९ वटा सम्झौता भएकामा ११ वटा योजना सम्पन्न भएका छन् ।

त्यसैगरी वडा नम्बर १५ का ३२ वटा योजनामा १४ वटा सम्झौता भई ७ वटा योजनाले पूर्णता पाएका छन् । १६ नम्बर वडाका ४० वटा योजनामध्ये २० वटा सम्झौता भएकोमा ५ वटा सम्पन्न भइसकेका छन् । १७ नम्बर वडाको ४० वटा योजना रहेकामा २० वटा सम्झौता भई ७ वटा सम्पन्न भएका हुन् । त्यस्तै गैँडाकोट १८ को ३६ वटा योजनामध्ये १५ वटा सम्झौता भएका छन् भने ९ वटा योजना सम्पन्न भएका छन् ।

From Vijaya Khabar

Share.

Leave A Reply