चितवनमा कोरोनाविरुद्धको खोप लगाउने पहिलो चरण सकियो

0

माघ २५ । चितवनमा पहिलो चरणमा ६ हजार ९७३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले ९ दिनका लागि खोप लगाउने अवधि तोकेपनि चितवनमा दुई दिन थप गरी शनिवार ११ औँ दिनमा समापन गरिएको हो ।

चितवनमा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा. जगन्नाथ तिवारीले लगाएर सुरु गरिएको खोप अभियानको पहिलो चरण आज शनिवार अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले लगाएसँगै अन्त्य भएको हो ।

भरतपुर अस्पतालको केन्द्रबाट मात्रै ३ हजार ७२९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको अर्को खोप केन्द्र रत्ननगरको बकुलहर अस्पतालबाट ४ सय २ जनाले, बघौडा अस्पताल माडीबाट ८९ जना, नयाँ मेडिकल कलेजबाट १ हजार ४० जना, पुरानो मेडिकल कलेजबाट ८०८ जना, वृद्धाआश्रमबाट २२२ जना,भरतपुर कारागारबाट ६८३ जनाले उक्त खोप लगाएका हुन् । खोप सुरु भएको पहिलो दिन २७९ जनाले खोप लगाएका थिए भने यो संख्या बढेर एकैदिन खोप लगाउने १ हजार २५७ जना सम्म पुगेका थिए ।

जिल्लालाई दिइएको लक्ष्यमा ९२ दशमलव ३३ प्रतिशत सफलता पाएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिनुभयो । खोप लगाउनेहरुमा ३ हजार ९ सय जना महिला र ३ हजार ७३ जना पुरुष रहेका छन्।

जिल्लामा खोप लगाएकाहरुमा सामान्य असर वाहेक अन्य कुनैपनि अवान्छित घटना भएन । ४ जनालाई खोप लगाएपछि र्यासेज आउने, डावर उठ्ने, चार जनाले सिटामोल खानुपरेपनि समयमै निको भएको डा युवानिधि बसौलाले बताउनुभयो ।

२८ दिनपछि दोस्रो डोजको खोप दिने अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । अहिले दोस्रो चरणमा खोप लगाउनेहरुको तथ्याङ्क संकलन कार्य भइरहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply