स्वास्थ्य बीमाबारे गैंडाकोटमा कार्यपालिका सदस्यहरुलाई अभिमुखिकरण

0


प्रेम क्षेत्री
माघ २१, गैँडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अभियानलाई तिव्रता दिईएको छ ।
स्वास्थ्य बीमा सम्बन्धी स्थानीय तहका सरोकारवालाहरुका लागि १ दिने अभिमुखिकरण अन्र्तगत बुधबार गैंडाकोटमा नगर कार्यपालिका सदस्यहरुलाई अभिमुखिकरण गरिएको छ । कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले अभिमुखिकरण गर्नुभएको थियो । उहाँले नागरिकलाई सहज र सुलभ तरिकाले सेवा पाउने यो एउटा माध्यम भएको बताउनुभयो । त्यस्का लागि दर्ता सहयोगी छनोटका लागि वडा अध्यक्षको भूमिका, स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।


कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नगरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन वडा अध्यक्षहरुको भूमिका महत्त्वपूर्ण हुने भएकाले दर्ता सहयोगी छनोट लगायतका कार्यमा सजग हुन आग्रह गर्नुभयो । अभिमुखिकरण कार्यक्रममा नगर उप प्रमुख विष्णुकुमारी कंडेल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषाल, वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।


नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि जिल्लामा दर्ता सहयोगी छनोट तथा अभिमुखिकरण कार्यलाई अघि बढाईएको छ । नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको ५ वर्षपछि नवलपुरमा यहि फागुनदेखी लागु गर्नेगरि तिव्रता दिईएको हो । २०७२ चैत २५ गतेदेखी कैलालीबाट यो कार्यक्रम शुरु भएको थियो । सो समयमा दुम्कौलीलाई नमूनाका रुपमा लिईएपनि यो कार्यक्रम अघि वढ्न सकेको थिएन ।


गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ८ वटा जिल्लामा यो कार्यक्रम शुरु भईसकेको छ । फागुन पहिलो साता नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र यसै आर्थिक वर्षभित्र गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा समेत यो कार्यक्रम लागु हुने स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो । उहाँले हाल सम्म गण्डकी प्रदेशका ४ लाख ८० हजार नागरिकको स्वास्थ्य बीमा गरिएको बताउनुभयो । त्यस्तै ६१ हजार ज्येष्ठ नागरिक र अति गरिब परिचय पत्र लिएका ७ हजार परिवारको स्वास्थ्य बीमा भईसकेको जानकारी दिनुभयो ।


गण्डकी प्रदेशमा भने पहिलो पटक २०७३ सालमा बागलुङबाट यो कार्यक्रम शुरु भएको थियो । हाल मुलुकका ६५ जिल्लामा यो कार्यक्रम लागु भईसकेको स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंका अनुगमन तथा सुपरिवेक्षण शाखा प्रमुख शम्भु पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा स्वास्थ्य बीमाका लागि गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीमा दर्ता सहयोगी छनोट, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधीहरुलाई समेत अभिमुखिकरण गरिएको छ । यसै साता हुप्सेकोट, बौदीकाली र बुलिङटारमा समेत अभिमुखिकरण लगत्तै बीमा शुरु गरिने जनाईएको छ ।


बीमा गरेकाहरुले ११ सय ३३ प्रकारका औषधी सहितको सेवा प्राप्त गर्न सक्ने छन् । ५ जना सम्मको परिवारले १ लाख सम्म र सो भन्दा वढि सदस्य रहेका परिवारले प्रति व्यक्ति २० हजारका दरले वढि र अधिकतम सेवा विन्दु वढिमा २ लाख सम्मको सेवा पाउने छन् । बीमा वापत ५ जनासम्मको परिवारले वार्षिक ३५ सय र त्यो भन्दा वढि भए प्रति थप सदस्य शुल्क ७ सय थप तिनुपर्ने छ ।

Share.

Leave A Reply