३ करोड बढि लागतमा गैँडाकोट स्वास्थ्य चौकीको नयाँ भवन वन्ने, आज शिलान्यास

0

डोलराज रानाभाट, गैँडाकोट,माघ २० । गैँडाकोट स्वास्थ्य चौकी वडानम्वर ५ को नयाँ भवन निर्माण हुने भएको छ । आज नगरप्रमुख छत्रराज पौडेलले शिलान्यास गरेसँगै निर्माण कार्यले थप तिव्रता पाउने भएको हो ।

शिलान्यास गर्दै नगरप्रमुख पौडेलले नेपालको संविधानले प्रत्याभूत गरेको निशुल्क स्वास्थ्य सेवा पुर्याउने यसले थप मद्दत मिल्ने र वर्थिङ सेन्टर संचालन गर्ने जानकारी दिनुभयो । साथै एमविविएस गरेको डाक्टर राखेर सेवा दिने गरी आफ्नो पहल रहने उहाँको भनाई छ ।

कार्यक्रममा नगरउपप्रमुख विष्णुकुमारी कडेँलले भवन निर्माणको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्दै सुविधासम्पन्न भवनले सानो स्वास्थ्य समस्याकै कारण नारायणी पारी जानुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

वडाअध्यक्ष एवम कार्यक्रमका सभापति नवराज कडेँलले भवन निर्माणपछि वर्थिङ सेन्टर संचालन गरिने र एउटा एम्वुलेन्सको पनि व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य चौकी व्यवस्थापन समितका उपाध्यक्ष विष्णु प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम गोेविन्द रिमालले संचालन गर्नुभएको थियो ।

जनताले सजिलै धेरै प्रकारका स्वास्थ्य सेवा सहजै पाउने गरी गैँडाकोट नगरपालिकाको दक्षिणतर्फको खाली मैदानमा उक्त भवन निर्माण भइरहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवनतर्फको कुल ३ करोड ३९ लाख ४२ हजार ९४६ रुपैयाको बजेट अनुमान गरिएकोमा भवन निर्माण गर्न नागार्जुन जे जे आइभी कम्पनीसँग २ करोड ३६ लाख ८५ हजार ५५० रुपैयामा सम्झौता गरिएको छ ।

माघ ८ गतेदेखि निर्माण सुरु गरेको कम्पनीले १५ महिनाभित्र उक्त भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने आयोजना कार्यान्वयन इकाइ चितवनका इन्जिनियर सुवास न्यौपानले जानकारी दिनुभयो । भवनको गुणस्तरीयतामा कुनै प्रश्न गर्नुनपर्ने भन्दै आफूले जिम्मेवारीपूर्वक त्यहाँको अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

गार्डेन, क्यान्टीन र पार्किङको सुविधा सहित वन्ने स्वास्थ्यचौकीको भुइँ तल्लामा स्वास्थ्य सेवाहरु प्रदान गरिने कोठाहरु बन्नेछन् भने पहिलो तल्लामा तालिम, कार्यक्रम संचालन गर्नमिल्ने सभाहल, आवासीय सुविधाका कोठाहरु सहितको भवन निर्माण हुने न्यौपानेले बताउनुभयो ।

 

आयोजना कार्यान्वयन इकाईले गैँडाकोट सहित कुमारवर्ती र नारायणीमा पनि भवन निर्माण गरिरहेको उहाँको भनाई छ । सवै भवनहरु २०७९ साल वैशाख १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सवै भवन कूल ९ करोड ९८ लाख ४९ हजार ३०१ रुपैया कुल लागत रहेपनि ६ करोड ८७ लाख ४७ हजार २६१ रुपैयामा सम्झौता भएको थियो ।

Share.

Leave A Reply