आदिवासी जनजाती समुदायका युवा लक्षित सीप तथा आयमुलक तालिम शुरु

0


प्रेम क्षेत्री
माघ २०, गैँडाकोट । गैँडाकोटमा रहेका आदिवासी जनजाती समुदायका युवा लक्षित सीप तथा आयमुलक तालिम शुरु भएको छ । गैंडाकोटमा रहेका विभिन्न १५ जातीका ४० जनालाई घरेलु विद्युत जडान सम्बन्धी तालिम प्रदान गरिने नेपाल आदिवासी जनाजाती महासंघ नगर समन्वय परिषद् गैंडाकोटका सह सचिव लक्ष्मीप्रसाद चौधरीले जानकारी दिनुभयो । ४५ दिने सो तालिम २ समूहमा विभाजन गरि प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
गैंडाकोट नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनाजाती महासंघ नगर समन्वय परिषद् गैंडाकोटको समन्वयमा सो तालिम प्रदान गर्न लागिएको हो । तालिममा दिपक दराई र सुन्दर गुरुङले प्रशिक्षण दिने जनाईएको छ ।
मंगलबार गैंडाकोट लखनचोकमा तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले तालिमको सदुपयोग गर्दै स्वरोजगार बन्न आग्रह गर्नुभयो । उहाँले तालिमलाई व्यवहारत कार्यान्वयनमा ल्याएर व्यवसायिक रुपमा गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष, नेपाल आदिवासी जनाजाती महासंघ नगर समन्वय परिषद् गैंडाकोटका उपाध्यक्ष एवम् गैंडाकोट १४ का वडा अध्यक्ष कोकीसरा रानामगरले आदिवासी जनजाती युवाहरुलाई स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा गुरुङ समाजका अध्यक्ष विरबहादुर गुरुङ, मगर समाजका अध्यक्ष दुर्गाबहादुर मसराङ्गी मगर, थारु कल्याणकारी सभाका सदस्य बाबुराम चौधरी, महासंघका पूर्व सल्लाहकार केयरसिं राना मगर, प्रशिक्षक सुन्दर गुरुङले मन्तव्य राख्दै विद्युत जोखीमयुक्त क्षेत्र भएकाले सर्तक बन्दै ज्ञान आर्जन गर्न र व्यवसायिक तथा स्वरोजगार बन्न सुझाव दिएका थिए ।
नेपाल आदिवासी जनाजाती महासंघ नगर समन्वय परिषद् गैंडाकोटका सचिव बुद्धिकुमारी कुमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेल, प्रशिक्षक दिपक दराई लगायत विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण नेपाल आदिवासी जनाजाती महासंघ नगर समन्वय परिषद्का सह सचिव लक्ष्मीप्रसाद चौधरीले गर्नुभएको थियो ।

Share.

Leave A Reply