नेकपा ओली समूहको गैँडाकोट नगर संयोजकमा नवराज कडेँल

0

डोलराज रानाभाट,गैँडाकोट, माघ २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको गैँडाकोट नगर संयोजकमा नवराज कडेँल चयन हुनुभएको छ । कडेँललाई आज फेमली क्याफेमा भएको नगरस्तरीय अगुवा कार्यकर्ता भेलाले उहाँलाई संयोजकमा चयन गरेको हो । त्यस्तै सहसयोजकमा विमल चापागाई र सचिवमा ख्याम नारायण लम्साललाई चयन गरिएको छ ।


नेकपा स्थायी कमिटी सदस्य एवम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा यमुनाथ आचार्यले नाम प्रस्ताव गर्नुभएको थियो । भेलाले उक्त नाम पारित भएसँगै अव सवै कमिटी विस्तारको जिम्मा उहाँहरुलाई दिइएको छ ।

आफ्नै पार्टीको कार्यक्रममा यस अघि नगरका संयोजक सचिव तोकिएका व्यक्तिहरुको अनुपस्थित रहेको भन्दै नयाँ व्यक्तिहरुलाई चयन गर्नुपरेको जिल्ला अध्यक्ष रोशन गाहाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केपी ओली व्यक्तिलाई नभई सार्वभौम सम्पन्न स्वाभिमान नागरिक भएर बाँच्न सिकाएकाले समर्थन गरेको प्रष्ट पार्नुभयो । माधव नेपाल प्रचण्ड विदेशी इसारामा चल्ने नेताको संज्ञा दिँदै केपी ओली राष्ट्रवादी नेता भएको दावी गर्नुभयो ।

 

भेलालाई सम्वोधन गर्दै गुरुङले आधिकारिक पार्टीनै ओलीले नेतृत्व गरेको पार्टी भएको भन्दै अलमलमा नपर्न आग्रह गर्नुभयो । प्रतिनिधि सभा चुनाव सकिनासाथनै प्रचण्ड नेपालले बखेडा झिकेकोर असह्य भएपनि संसद विघटन गरी जनताको माझ जान अहिलेको कदम चालेको गुरुङको भनाई छ ।

 

बाघ शक्ति वनमा, गोही शक्ति पानीमा हुने भन्दै कम्युनिष्टको शक्ति जनतामा भएकाले सो कदम चालिएको गुरुङले बताउनुभयो । प्रचण्ड नेपाल धमिलो पानीमा दाउ खोजीरहेको तर केपी शर्मा ओलीले जनताको ताजा जनादेश चाहेको उहाँले बताउनुभयो । अहिलेको कदम सवैधानिक की असवैधानिक अव हुने चुनावमा फाइनल हुने उहाँको भनाई थियो ।

 

सभामा विघटीत प्रतिनिधि सभा सदस्य तिलक महतले नयाँ संयोजक सहितका नेतृत्वलाई पार्टीको माहोल थप बढाउन र आगामी चुनावमा बहुमत आउनेगरी काम निर्देशन दिनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य रोशन गाहा लगायतका नेताहरुले सम्वोधन गर्नुभएको थियो ।

Share.

Leave A Reply