युवाहरु भैँसीपालनमा आकर्षित

0


पवित्रा पराजुली
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६ का युवा गाउँमै व्यावसायिक रुपमा पशुपालन गरीमनग्य आम्दानी गरिरहेका छन्। अन्य व्यवसायका तुलनामा सहज र राम्रो आम्दानी हुने भएपछि युवाहरु भैँसीपालनमा आकर्षित भएका हुन्।
गैँडाकोट ६ का राजुप्रसाद सापकोटाको फर्ममा अहिले २१ वटा भैँसी छन् । परिवारले निर्वाहमुखी गर्दै आएको भैँसीपालन कार्यलाई व्यवस्थित गर्दै बागलुङ दमेक कृषि तथा पशु फार्म दर्ता गरि व्यावसायिक रुपमा सुरु गरेका हुन् । यही व्यवसायबाट मासिक ५० देखि ६० हजार रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ । व्यावसायिक रुपमा गर्ने हो भने कमाउन विदेश धाउनु नपर्ने उनको तर्क छ । उनी भन्छन् – “पहिले धेरै पेसा गरे तर कुनैमा पनि राम्रो नभएपछिभैँसी पालन गरेको हुँ, अहिले राम्रो आम्दानी भएको छ ।”
सुरुमा दुईवटा भैँसीबाट पाल्न थालेका गैँडाकोट ६ कै प्रविन खड्काले पनि यसलाई व्यावसायिक रुपमा गर्न थालेका छन् । खड्काको अभिषेक पशु तथा कृषि फर्ममा अहिले १४ वटा भैँसी रहेका छन् । करीब ५ लाखको लगानीमा सुरु गरेको फार्मबाट हुने आम्दानीले उनी सन्तुष्ट रहेको बताउँछन् । उनको र्फाममा अन्यले रोजगारी पनि पाएका छन् ।उनले भने –“फार्मबाट महिनाको खर्च कटाएर ४० देखी ५० हजारसम्म बचत हुन्छ । यसले जीविका चलेको छ अन्य कामलाई पनि सहज भएको छ ।”
फर्मबाट दैनिक करीब ७० लिटर दुध उत्पादन हुने गरेको उनी बताउँछन् । गैँडाकोट र चितवनका विभिन्न स्थानमा उनी आफै दूध बिक्रिका लागि पुग्ने गर्छन । युवाहरु कृषि र्कम तथा पशुपालनतर्फ आकर्षित भएपनि यसको प्रवद्र्धनका लागि भने स्थानीय सरकारले नहेरेको खड्काको गुनासो छ । उनले भने – “फार्म दर्ता भएको छ । दर्ता भए पनि कुनै सेवा सुविधा पाएको छैन। नगरपालिकामा घासँ काट्ने मेसिनलगायत अन्य अनुदान आउँछ भन्छन् कहिले आउँछ थाहा पाइँदैन ।”
तर गैंडाकोटलाई कृषि र पशुमा आत्मनिर्भर बनाउन नगरपालिकाले सोही अनुरुपका कार्यक्रम तय गरेको सम्बन्धित शाखाको भनाइ छ । नगरपालिकाका पशु चिकित्सक प्रमोद पौडेलले भैँसीपालन गर्ने कृषकको लागी समूहमा आवश्यक पूर्वाधारका लागि सहयोग तथा परामर्शलगायतका सेवा प्रदान गर्ने गरेको बताउँछन् । पौडेल भन्छन् –“हामिले अहिले भैँसी पालन गर्ने किसानका लागी कार्यक्रम सञ्चालन गरेका छौँ जसमा भैँसी पाल्ने कृषक समूह बनाएर करिब २ सय वटा भैँसी पालन बनाएर आउनु भयो भने हामीले त्यही अनुसारको सुविधा दिने छौँ ।”
स्थानीय तह तथा विभिन्न निकायबाट प्रदान गरिने अनुदान, परामर्श तथा सहयोग कार्यक्रमले युवाहरुलाई केही हदसम्म सघाउ त भएको छ तर त्यो समानुपातिक र सबै समक्ष पुग्नुपर्ने यी युवाहरुको भनाइ छ । गाउँठाउँमा केही गर्न खोज्ने युवाहरुलाई प्रोत्साहनका कार्यक्रम बढाउनुपर्ने उनीहरुको माग छ ।

Share.

Leave A Reply