बालबालिका प्रविधिको लतमा, मोबाइलको गलत प्रयोगले हैरानीमा अभिभावक

0

file Photo 

माया कँडेल
गैँडाकोट । कोरोना महामारीको कारण बदलिएको जीवनशैलीले समाजमाआमूल परिवर्तन ल्याएपनि शैक्षिक क्षेत्रमा सुरु गरिएको अनलाइन कक्षाले विद्यार्थीमा नकारात्मक असर परेको छ । क्षणिक रुपमा सहज मानिएको यो व्यवस्थाले विद्यार्थीहरुलाई विद्युतीय सञ्चारका साधनप्रति लगाव बढायो । जसको फलस्वरुप विद्यार्थीहरुमा यिनको प्रभाव बढ्दै गयो तर यसले निम्त्याएको कुलत डरलाग्दो रहेको छ ।
कोरोना महामारीका कारण राज्यका हरेक क्षेत्र पूर्ण रुपले प्रभावित बने । यसै मारबाट अछुतो रहेन शिक्षा क्षेत्र पनि । शिक्षा क्षेत्रलाई चलायमान बनाउन निरन्तरता दिनका लागि विभिन्न विद्यालयले भर्चुअल माध्यमबाट पठनपाठन गरे । कोरोना महामारीपछि सामान्य स्थितिमा फर्कंदा पनि विद्यार्थीहरुको रुचि अन्य क्षेत्रमा भन्दाविद्युतीय सञ्चारका साधनको प्रयोग सोहि अनुरुप नै निरन्तरता रह्यो । जसले गर्दा उनीहरु अहिले अध्ययन भन्दा पनि सामाजिक सञ्जाल, टिकटक, फेसबुक, युट्युवलगायत अनलाइन खेल माध्यम फ्रि फायर, पब्जीप्रति अकार्षित बनेका छन् ।
उनीहरुले महँगा विद्युतीय साधनको प्रयोग गर्दै मध्यरातसम्म दैनिकजसो समयको अवमूल्यन गरेको पाइएको छ । सँगै सामाजिक चेतनाको ह्रास आएको पाइएको छ । गैँडाकोटका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पढ्न भन्दा सामाजिक सञ्जालमा समय बिताउने गरेकोबताउँछन् ।
गैँडाकोट २ का कक्षा ५ मा अध्ययनरत छात्रासँग आइफोन सिक्स छ । उनले राति १२–१ बजेसम्म टिकटक हेर्ने, युट्युवबाट फिल्म हेर्ने गरेको बताउँछिन् । उनी भन्छिन् –“घरमा वाइफाइ छ, हातमा मोबाइल, पढ्नभन्दा त अरु हेर्न मज्जा हुन्छ ।” गैँडाकोटकै एक आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययन गर्ने अर्की छात्रा पनि मोबाइल नहुँदा गाह्रो हुने बताउँछिन् । उनले भनिन् –“पहिले त मोबाइल पनि थिएन, अहिले टिकटक बनाइन भने के छुट्यो जस्तो लाग्छ ।”
साथीसँग खेल्न घुलमिल हुन नपाउने भएपछि बालबालिकाको रोजाइमा समय बिताउने माध्यमका रुपमा सूचना प्रविधि र ग्याजेटका रुपमा मोबाइल तथा ल्यापटपपरेका छन् ।गैँडाकोटमा कक्षा १० मा अध्ययनरत एक छात्र दिनको ४÷५ घण्टा फ्रि फायर पब्जीमा समय व्यतीत गर्दै आएको बताउँछन्। उनी भन्छन् –“मोबाइल हेर्दा बाबा ममीले अहिले गाली पनि गर्नुहुन्न ।”
कोरोना भाइरसको त्रास फुर्सदिलो समय हातमा पुस्तक र गर्नुपर्ने गृहकार्य नभएपछि बालबालिकाको समय व्यतीत गर्ने माध्यम नै प्रविधि बनेको छ । गैँडाकोट ५ की कक्षा ९ मा अध्ययनरत अर्की छात्रा पनि धेरै समय अहिले पनि फ्री फायर खेल्दै बित्ने गरेको बताउँछिन् । प्रविधिको सही सदुपयोगभन्दा पनि अन्य क्रियाकलापमा समय व्यतीत हुने गरेको स्वयम् विद्यार्थीले बताएका छन् ।
अभिभावकहरुको गुनासो पनि उस्तै छ । कुनै बेला किताबी ज्ञानमा ध्यान दिने बालबालिका प्रविधिमा तल्लीन छन् ।गैँडाकोट ५ की अभिभावक लक्ष्मी कँडेलले भनिन् –“अध्ययनका लागि किनिदिएको मोबाइलको प्रयोग बढ्दो छ । नदिउँ रिसाउँछन्, दिउँ त्यसको निगरानी गर्न सकिएको छैन ।” कँडेलले अहिले छोराछोरीलाई मोबाइल नचलाऊ, टिभी नहेर भन्दा नमान्ने गरेको बताउँछिन् । उनले थपिन् “आनीबानी परिवर्तन भएको छ ।”गैँडाकोटका अर्का अभिभावक होमनाथ सापकोटाले पनि अहिले बढी मात्रामा बालबालिकाले मोबाइल चलाउन थालेको बताए । प्रविधिले कुलतमा लागेको उनको तर्क छ । अर्की अभिभावक अनीता थापाले आफ्नो ३ वर्षको छोरीको बानी देखेर हैरान परेको बताइन् । उनले भनिन् – “यति सानी भएर पनि मोबाइलमा गीत, टिकटक, कार्टुन हेर्ने बानी परेको छ, त्यही सिकोले वाक्कदिक्क बनाउँछे, खाना खाँदा र निदाउने बेलामा पनि मोबाइल दिनैपर्छ नत्र रुन्छे ।”
पछिल्लो समय विद्यालय भर्ना हुन अगाडिदेखि नै बालबालिकाहरुमोबाइल ट्याबजस्ता प्रविधिमा अभ्यस्त भइसकेका हुन्छन् । जसले उनीहरुको सिक्न खोज्ने अभिरुचि घट्दै गएको सरस्वती प्राथमिक विद्यालयकी शिक्षिका धनकुमारी तिवारीले बताइन् । उनले कतिपयविद्यार्थीले अनलाइन कक्षा सञ्चालनका लागि विद्यालयले तयारी गरिरहँदा मोबाइल नै छैन भन्ने गरेको भएपनि विद्यार्थीले मोबाइल चलाउने गरेको पाइएको बताइन् ।

अभिभावकले केयर गर्ने आफ्नो भूमिका मोबाइललाई दिँदा समस्या निम्ताएको छ – बालमनोचिकित्सक, डा. विक्रम काÇले

ग्याजेट एडिक्सन डरलाग्दो

बालबालिकाहरुले मोबाइल र इन्टरनेट नचलाएसम्म खान सुत्न मन नलाग्ने, कोही कसैसँग बोल्न मन नलाग्ने गरेको बताउने गरेका छन् । यस्तो अवस्थालाई चिकित्सकहरुलेविद्युतीय सञ्चार सामग्रीको लत अथवा ग्याजेट एडिक्सन भन्ने गरेका छन्। बालमनोचिकित्सक डा. विक्रम काÇले भन्छन् – “आवश्यकभन्दा बढी टेलिभिजन हेर्ने, मोबाइल, कम्युटर चलाउन मन लाग्ने, त्यसैसँग रमाउन मन लाग्नुलाई ग्याजेट एडिक्सन भनिन्छ ।” यस्ता सामग्रीको लत पाको उमेरका मान्छेहरुलाई भन्दा साना बच्चा र किशोरकिशोरीहरुलाई छिटो लाग्ने गरेको उनको तर्क छ । उनले भने “ शारीरिक वा मानसिक रुपमा होस् अथवा सामजिक रुपमा यसले निम्त्याउने समस्या डरलाग्दो हुन्छ ।” मोबाइल ट्यावलगायतका सूचना प्रविधिको लत बस्दा बालबालिकामा सोचाइ क्षमता कम हुने, सामाजिक घुलमिल नहुने र शारीरिक समस्या देखिन सक्ने बताए । प्रविधिको राम्रोसँग प्रयोग गर्न नसकेका कारण बालबालिकामा मानसिक समस्या देखिने उनको भनाइ छ ।
अभिभावकले बालबालिकालाई भुलाउन खेलाउन र समाजसँग अभ्यस्त बनाउन नयाँ नयाँ उपाय खोज्नुपर्ने र त्यसले बालबालिकाको सिकाइलाई व्यावहारिक बनाउन सहज हुने बाल मनोचिकित्सक काफ्लेको भनाइ छ ।अभिभावकले केयर गर्ने आफ्नो भूमिका मोबाइललाई दिँदा समस्या निम्ताएको उनले बताए । उनले ५ वर्षमुनिका बालबालिकालाई मोबाइल ट्यावलगायतका सूचना प्रविधिबाट टाढा राख्न सुझाव दिएका छन् । ५ वर्षमाथिका बालबालिकालाई दिनको एक डेढ घण्टाभन्दा बढि चलाउन दिन नहुने पनि उनले बताए ।त्यसका लागि स्किन टाइम लिमिट गर्न सकिने र अभिभावकले प्रशस्त मात्रामा समय दिनुपर्नेमा जोड दिए ।
समाजवादी शिक्षाका अध्येता वाइपी आचार्यले अहिलेको अवस्थामा बालबालिकालाई प्रविधिबाट टाढा राख्न सकिने अवस्था नभएको भए पनि सहि सदुपयोग गर्न सिकाउनुपर्नेमा जोड दिए । उनी भन्छन् – “सिकाइका लागि प्रविधिको प्रयोग राम्रो भएपनि बालबालिकालाई यसको दुरुपयोगबाट नरोक्ने हो भने सिकाइमा नै प्रभावित पर्न सक्छ ।” बालबालिकाले प्रविधिको प्रयोग के कसरी र कति मात्रामा गर्दैछन् भनेर अभिभावकले निगरानी गर्नुपर्ने उनले बताए । बालबालिकामा विद्युतीय सामग्रीको प्रयोगले सहज जीवनशैली बनाए पनि गुणस्तरीय बनाउन नसकेको आचार्यको भनाइ छ ।समाज जति मात्रामा परिवर्तन भएको छ त्यति नै मात्रामानीति बनाएर अगाडि बढ्न सक्नुपर्ने राज्यले सोही अनुरुप नीति बनाउन आवश्यक रहेको उनले बताए ।

Share.

Leave A Reply