नवलपुरमा स्वास्थ्य बीमा शुरु हुँदै

0


प्रेम क्षेत्री
गैँडाकोट । नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि जिल्लामा दर्ता सहयोगी छनोट कार्य अघि बढेको छ । सोमबार स्वास्थ्य बीमा सम्बन्धी स्थानीय तहका सरोकारवालाहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ । कार्यक्रममा गैँडाकोट नगरपालिकाका स्वास्थ्यकर्मी तथा स्थानीय तहका वडा सचिवको सहभागिता रहेको थियो ।


फागुनको पहिलो सातादेखी नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्लामा यो कार्यक्रम शुरु हुने स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंका अनुगमन तथा सुपरिवेक्षण शाखा प्रमुख शम्भु पौडेलले जानकारी दिनुभयो । सो कार्यका लागि माघ २८ गतेसम्ममा हरेक वडामा दर्ता सहयोगी छनोट गरिने र उनिहरुलाई तीन दिनको तालिम पश्चात बीमा कार्यक्रम शुरु गरिने उहाँको भनाई छ ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ८ वटा जिल्लामा यो कार्यक्रम शुरु भईसकेको छ । फागुन पहिलो साता नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र यसै आर्थिक वर्षभित्र गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा समेत यो कार्यक्रम लागु हुने उहाँले जानकारी दिनुभयो । २०७२ सालदेखी कैलालीबाट बीमा कार्यक्रम शुरु भएको थियो । गण्डकी प्रदेशमा भने पहिलो पटक २०७३ सालमा बागलुङबाट यो कार्यक्रम शुरु भएको थियो । हाल मुलुकका ६५ जिल्लामा यो कार्यक्रम लागु भईसकेको उहाँले जानकारी दिनुभयो । बीमा गरेकाहरुले ११ सय ३३ प्रकारका औषधी सहितको सेवा प्राप्त गर्न सक्ने छन् । ५ जना सम्मको परिवारले १ लाख सम्म र सो भन्दा वढि सदस्य रहेका परिवारले प्रति व्यक्ति २० हजारका दरले वढि र अधिकतम सेवा विन्दु वढिमा २ लाख सम्मको सेवा पाउने छन् । बीमा वापत ५ जनासम्मको परिवारले वार्षिक ३५ सय र त्यो भन्दा वढि भए प्रति थप परिवार ७ सय थप तिनुपर्ने छ ।


स्वास्थ्य बीमा कार्यक्रमका लागि गैंडाकोटमा नगर स्वास्थ्य शाखाले समन्वय गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रमका अध्यक्ष एवं गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन आह्वान गर्दै यसलाई व्यवस्थित गराउन पहल गरिने बताउनुभयो । त्यस्का लागि रचनात्मक सहयोगका लागि स्वास्थ्यकर्मी तथा वडा सचिवहरुलाई आग्रह गर्नुभयो ।

 

Share.

Leave A Reply