सुकुम्वासीका समस्या समाधान गर्न गैँडाकोटमा काम सुरु, आयोगको इकाई कार्यालय स्थापना

0

डोलराज रानाभाट, गैँडाकोट, माघ १८ । गैँडाकोट नगरपालिका भित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न काम सुरु भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले नगरपालिकामा ईकाइ कार्यालयको समुद्घाटन गरेसँगै कामको सुरु भएको हो ।
कार्यालय उद्घाटन पछि गैँडाकोट रिर्सोर्टमा भएको भूमि सम्वन्धी समस्या समाधान विषयक अन्तरक्रियामा बोल्दै ज्ञवालीले आयोगको म्याद ३ वर्षको रहेको र गैँडाकोटले चालु आर्थिक वर्षको असार अघिनै लालपुर्जा विहिन नगरवासी नरहने गरी काम सकाउन आग्रह गर्नुभयो ।
गैँडाकोटसँग आयोगले मंसिर २७ गते पोखरामा सम्झौता गरेको र नगरभित्र रहेका वास्तविक सुकुम्वासीको समस्या समाधान हुनेगरी काम गर्न सुझाव दिनुभयो । भावनामा वग्ने , स्वार्थबाट प्रेरित भई सिफारिस गर्ने गरेमा अख्तियार समेत अकार्षित हुने भन्दै गम्भिर सतर्कताका साथ काम गर्न आग्रह गर्नुभयो । सरकारले १०० वटा स्थानीय तहको काम गर्न भनेपनि यो पटक ४०० स्थानीय तहसँग समस्या समाधान गर्न सम्झौता भएको ज्ञवालीले बताउनुभयो । ७५३ स्थानीय तहकै समस्या तीन वर्षभित्र सक्ने भन्दै राजनीतिक उथलपुथल तथा सरकार परिवर्तनले आयोगलाई असर नगर्ने प्रष्ट पार्नुभयो । जनप्रतिनिधिलाई यो ऐतिहासिक अवसर भएको भन्दै वाटो नविराउन र नडराई भूमिहिनहरुलाई जग्गा तथा लालपुर्जा दिने र व्यस्थित वसोवास गराई सात पुस्ताले समेत सम्झने गरी इतिहास रेकर्ड राख्न सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख छत्रराज पौडेलले इकाइ कार्यालय स्थापनासँगै नगरपालिकाले पारदर्शी रुपमा लगत संकलन गर्ने र वास्तविक सुकुम्वासीले अव दोस्रो दर्जाको आरोपमा बाँच्नु नपर्ने प्रष्ट पार्नुभयो । तर लगत संकलन गरेपनि आयोगको कार्यविधि तथा केही ऐनले जग्गा दिन वाधा पुर्याउने भन्दै त्यसको सहजीकरणका लागि आयोगलाई आग्रह गर्नुभयो ।
उपप्रमुख विष्णुकुमारी कडेँलले यो जटिल प्रकृया भएपनि आयोग गठन भएपछि कानुनी व्यवस्थाले काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । नियमावली र कार्यविधि निर्माणसँगै नगर र वडामा सहजीकरण समिति वनेको उहाँको भनाई छ । अव काम तिव्र रुपमा अघि वढाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष, नगरसभा सदस्यहरु तथा सामुदायिक वनका अध्यक्षहरुले व्यवहारिक कठिनाईका प्रश्नहरु राख्नुभएको थियो । त्यसको जवाफ दिँदै ज्ञवालीले पारदर्शी भएर काम गर्न आग्रह गर्दै कठिन परे आफूले सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुषालले सहजीकरण गर्नुभएको थियो । आजनै वास्तविक सुकुम्वासीहरुको लगत संकलन गर्ने देखि ऐन नियमको वारे प्रशिक्षण समेत दिइएको थियो ।

Share.

Leave A Reply