चितवनको आँपटारीमा पहिलो तौल पुल संचालनमा

0

चितवन, माघ १८ । चितवनको भरतपुर महानगरपालिका १ आँपटारीमा तौल पुलको उद्घाटन गरिएको छ । मालवाहक ट्रकहरुको तौल नाप्ने र भार वढि भएकाहरुलाई कारवाही गर्न उक्त तौल पुलको संचालन गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले आज उद्घाटन गरेसँगै उक्त तौल पुल संचालनमा समेत आएको छ ।

तौल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले नयाँ सडक निर्माण हुने धेरै ठाउँहरुमा सरकारले तौल पुल निर्माण गर्ने बताउनुभयो । सवारीले भार क्षमताभन्दा वढि ओजन बोक्ने प्रवृत्तिका कारण सडक जिर्ण हुने र दुर्घटनाको जोखिम धेरै हुनाले सडकको दिर्घकालिनका लागि पनि यो काम आवश्यक भएको उहाँको भनाई थियो ।

सडक निर्माण हुँदा भार वहन क्षमता तोकेर निर्माण गरिएको हुने तर क्षमता भन्दा बढी तौल बोकेर सवारी संचालन हुनाले त्यसको नियन्त्रणमा यसले सहयोग पुगने मन्त्री नेम्वाङले बताउनुभयो । राजमार्ग सँगै रहेको उक्त तौल पुलको क्षमता ८० टनको रहेको छ । १८ मिटर लम्वाइ रहेको उक्त पुलसँगै कार्यालय तथा आवास प्रयोजनका लागि तीन कोठाको भवन, कन्ट्रोल रुम, सार्वजनिक शौचालय, विद्युत, टेलिफोन खानेपानी तथा सीसी क्यामेरा समेत जडान गरिएको छ ।

उक्त तौल पुल निर्माणका लागि दुई वटा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्काबाट ६७ लाख ८४ हजार ७५८ रुपैयामा तौल पुल तथा भवनको निर्माण गरिएको थियो भने अर्को ठेक्कबाट ५३ लाख ८८ हजार ९०७ रुपैयाका सामान आयात गरिएको थियो । उक्त तौल पुल लगायत सम्पूर्ण भौतिक सामाग्रीहरु तयार पार्न कूल १ करोड २१ लाख ७३ हजार ६६५ रुपैया लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।

Share.

Leave A Reply