माघ १६, गैँडाकोट । आज शहिद दिवस, जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै देशभर मनाइदैछ ।
शहिद दिवसकै अवसर पारी आज भरतपुरको चौविसकोठीमा राष्ट्रिय झण्डा फहराइने भएको छ । चोकमा रहेको आइल्याण्डमा हेल्प फर ह्याप्पिनेस संस्थाको नेतृत्वमा बेटर चितवनको सहयोगमा राष्ट्रिय झण्डा राखिदैछ । साथै साँझ पख सोही स्थानमा अमर सहिदहरुको सम्मान सम्झानामा दीपावली गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
२४ फिट बरावरको राष्ट्रिय झण्डा करिव १ लाख रुपैयाँको लागतमा तयार भएको हो । झण्डा ५३ फिटको उचाइमा राखिनेछ भने झण्डाको साइज मात्रै २४ फिटको रहनेछ । विभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सहयोगमा हेल्प फर हेप्पीनेसले सो कार्यलाई अन्तिम रुप दिन लागेको संस्थाका अध्यक्ष नविन तिवारीले जानकारी दिनुभयो ।
देशका सरकारी कार्यालयमै रहेका झण्डाहरु समेत खुलिएका,च्यातिएका अवस्थामा आफूहरुले सवैतिरको प्रतिनिधित्व गर्नेगरी यो झण्डा राख्न लागिएको उहाँको भनाई छ ।
नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा आफ्नो ज्यानको आहूती दिएका चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिदैछ ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो।
त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए। आज नै पछिल्लो राजनीतिक कालखण्डमा निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धमा अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको समेत सम्झना र सम्मान गरिन्छ।