सातौँ कृषि गणना २०७८ बारे चितवनमा गोष्ठि

0

डोलराज रानाभाट, चितवन,माघ १५ । जनगणना २०७८ सम्पन्न पछि सातौँ कृषि गणना २०७८ हुने भएको छ । सो बारेमा चितवनमा हिजो जिल्ला स्तरीय सचेतना गोष्ठि आयोजना गरी जानकारी गराइएको थियो ।
विस २०१८ सालदेखि प्रत्येक १० वर्षमा हुँदै आएको कृषि गणना आउँदो वर्ष २०७८ को पुस महिना देखि सुरु हुने तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार देशमा रहेको तीन तहको सरकारलाई आवश्यक पर्ने कृषि सम्बन्धी सम्पूर्ण तथ्याङ्कहरु उपलब्ध गराउने उद्देश्यले यो गणना गर्न लागिएको हो । यो पटक जिल्लास्तर मात्रै नभई पालिका स्तरीय तथ्याङ्कहरुको समेत जानकारी हुने गरी अभिलेख गरिने भएको भण्डारीले बताउनुभयो ।
यो पटक हुने गणनामा महिलाको नाममा रहेको जग्गा, कृषि वीमा तथा सरकारी अनुदान, जलवायू परिवर्तनले कृषिमा पारेको असर, वालीमा विषादीको प्रयोग, कृषिकार्यबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन, सरकारी सेवा सुविधामा कृषकको पहुँच वृद्धि आदिलाई लक्षित गरी प्रश्नावलीहरु तयार गरिएको छ ।


यस पटक कागजी प्रश्नावलीसँगै ट्याव्लेटमा समेत गणना गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए । २०७८ मा हुने गणनामा तीन तरिकाले सोधिने प्रश्नावलीहरु तयार भएका छन् । जसमा कृषिक परिवार सूचीकरण, कृषक परिवार प्रश्नावली र सामुदायिक प्रश्नावली रहनेछन् ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले कृषकहरुले यथार्थ तथ्याङ्क दिन सक्ने गरी वातावरण बनाउन सुझाव दिएका छन् । साथै विषयगत सरकारी कार्यालयहरुसँग सहकार्य गर्न पनि अनुरोध गरिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले गणक र सुपरीवेक्षक छनौटमा ध्यान दिन आग्रह गर्दै वास्तविक तथ्याङ्क आउने गरी स्थानीय कृषकहरुले बोल्ने वातावरण वन्नुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा राखिएका जिज्ञासाहरुको सहजीकरण गर्दे तथ्याङ्क कार्यालय चितवनका प्रमुख भण्डारीले सवैका सल्लाह सुझावलाई पनि अव हुने गणनामा सकेसम्म समावेश गर्नेगरी केन्द्रलाई सुझाव पठाउने बताउनुभयो ।

Share.

Leave A Reply