नगर स्वास्थ्य शाखा प्रमुख पौडेल सहित गैँडाकोटका ३ जनाले कोरोनाविरुद्धको खोप लगाए

0

डोलराज रानाभाट, माघ १४,गैँडाकोट । गैँडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ ।

नगरपालिकामा कोभिड १९ को संक्रमण भेटिनु अगावैदेखि क्वारेनटाइन निर्माण देखि निरन्तर अग्रभागमा रहेर काम गर्ने पौडेलले आज मध्यविन्दु अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको छ । कोरोना भाइरस विरुद्धको खोप लगाएपछिको अनुभव सुनाउँदै पौडेलले आफूलाई खोप लगाएपछि कुनै पनि असर नदेखिएको बताउनुभयो ।

उहाँसँगै नगरपालिकाका जनस्वास्थ्य निरीक्षक इन्द्रराज शर्मा, सिअहेव छैठो अधिकृत टुकाराम सिग्देलले पनि आजनै खोप लगाउनु भएको हो । गैँडाकोटको पालो भोलि भएपनि केही स्वास्थ्यकर्मी र सरसफाईकर्मी खोप लगाउन डराएका कारण एउटा सकारात्मक सन्देश र आत्मवल बढाउन पनि आफूहरुले खोप लगाएको उहाँको भनाई छ ।

 

केही भ्रममा रहेर नाम लेखाएपनि खोप लगाउन डराएको पौडेलले बताउनुभयो । तर विषयविज्ञको वाहेक अन्यको कुरा नसुन्न आग्रह गर्दै पौडेलले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।

कोरोना विरुद्धको लडाइमा यो एउटा महत्वपूर्ण सफलता भएको र चाँडै नेपालबाट कोरोना हट्नेमा आफू विश्वस्त रहेको पौडेलको भनाई छ ।

 

गैँडाकोटका सरकारी सेवाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई भोलि, सरसफाईकर्मी र निजी संस्थाका स्वास्थ्यकर्मीहरुलाई माघ १७ गते खोप लगाउने तालिका रहेको छ । सरकारी सेवाका स्वास्थ्यकर्मी ७९ जना, महिला स्वास्थ्य स्वयम्सेविका २१,सरसफाईकर्मी ३९ र वाँकी निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले खोप लगाउने भनी नाम लेखाएका छन् ।

भोलि खोप लगाउन जानेहरुलाई नगरपालिकावाट निशुल्क वसको व्यवस्था गरिएको पौडेलले विजय एफएमलाई जानकारी दिनुभयो ।

Share.

Leave A Reply