गैँडाकोट ९ मा सामुहिक रुपमा श्री स्वस्थानी पूजा हुने

0


प्रेम क्षेत्री
गैँडाकोट । गैँडाकोट ९ मा सामुहिक रुपमा श्री स्वस्थानी व्रत कथा वाचन एवं पूजा अर्चना हुने भएको छ । गैँडाकोट ९ स्थित हरि ॐ सत्सङ्ग साधना सदनमा यहि १५ गतेदेखी वडा स्तरिय सामुहिक एक महिने स्वस्थानी व्रत कथा वाचन एवं पूजा अर्चना हुने सदनका अध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिनुभयो ।
बुधबार आयोजित अन्तरक्रिया कार्यक्रमपछि पूजा व्यवस्थापनका लागि सदनका उपाध्यक्ष गमता पाण्डेको संयोजकत्वमा ७ सदस्यीय पूजा व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा गैंडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनानाथ त्रिपाठी, हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष टिकाराम सापकोटा, थुम्सी बजार व्यस्थापन समितिका अध्यक्ष कल्पना देवकोटा लगायतको उपस्थिती रहेको थियो । उनिहरुले सदनको कदमको प्रशंसा गर्दै पूजा कार्यका लागि आवश्यक सहयोग गर्ने बताएका थिए ।


सामुहिक पूजामा सहभागिताका लागि ५१ जनाले नाम टिपाईसकेको र सो सङ्ख्या १०८ हुने अनुमान गरिएको अध्यक्ष खनालले जानकारी दिनुभयो । पण्डितहरु टिकाराम कंडेल र उमाकान्त सुवेदीले कथा वाचन गर्नुहुने र मुल कर्ताका रुपमा मन्दिरका पण्डित श्यामभक्त घिमिरे रहने जनाईएको छ । मध्यान्ह पूजा अर्चना एवं हरेक दिन बेलुका ७ बजेदेखी ९ बजेसम्म कथा बाचन एवं भजन किर्तन हुने अध्यक्ष खनालले जानकारी दिनुभयो ।
श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

Share.

Leave A Reply