उपेक्षामा गैँडाकोटका बोटे समुदाय, सेवा सुविधा होइन, सीप र रोजगारी चाहियो

0


पवित्रा पराजुली
गैँडाकोट । मनमा उत्साह त छ तर हातमा सीप नभएकै कारण, गैँडाकोट ६ बोटेटोलका स्थानीय हात बाँधेर बस्न बाध्य छन् । त्यही हातले भोट हालेर जिताएका जनप्रतिनिधिले सीप सिकाउलान् र काम पाइएला भन्ने अपेक्षा थियो तर उनीहरुको अपेक्षा हालसम्म पूरा भएको छैन ।
स्थानीय सरकार आएपछि दूरदराजका नागरिकले सेवा सुविधा र विकास पाउने अपेक्षा गरिएको थियो तर गैँडाकोट नगरपालिका वडा नम्बर ६ का ३५ घर बोटे समुदायका मानिसहरुले स्थानीय सरकारबाट कुनै सुविधा नपाएको गुनासो गरेका छन् । स्थानीय उमा विककाम नपाउँदा जीवन चलाउन पनि गाह्रो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–“भोट हालेर पठाएको स्थानीय सरकारले न त कुनै तालिम दिएको छ न कुनै सीपमूलक कार्यक्रम ल्याएको छ, गरिखान गाह्रो छ ।” उहाँले परिवार चलाउनसमेत गाह्रो भएको बताउँदै भन्नुभयो– “नगरमा, वडामा कपडा सिलाउने, गुडिया बनाउने, मैनबत्ती बनाउने लगायतका धेरै कार्यक्रम आउँछन् भन्ने सुनिन्छ तर हाम्रोतिर आएको छैन ।”
चुनावका समयमा बोटे समुदायका लागि सीपमूलक कार्यक्रम ल्याउने र रोजगारीको अवसर सिर्जना गर्ने जनप्रतिनिधिले बताएका थिए तर तीन वर्ष भयो जितेर गएकाहरुले यहाँ बोटे समुदाय लक्षित कार्यक्रम ल्याउन सकेका छैनन् । बोटे समुदायका मानिसको दुःखका दिन पनि फेरिएका छैनन् । मजदुरी गरेर छाक टार्नै मुस्किल परेको स्थानीय धनबहादुर बोटे बताउनुहुन्छ । आफूहरुको आर्थिक अवस्थामा सुधार आउने सपनासहित भोट हालेर जनप्रतिनिधि पठाएपनि त्यसो हुन नसकेको उहाँको भनाइ छ । आफ्नो सीप बेचेर पुग्ने गरी कमाउने र खाने धोको स्थानीयको छ । दिन प्रतिदिन बढ्दै गएको महँगीले ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने गाह्रो भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–“दिन प्रतिदिन महँगी बढेको छ, तेल–चामल सबैको भाउ बढेको बढ्यै छ तर हाम्रो ज्याला कहिल्यै बढेन । न त कसैले राम्रो काम नै दिएका छन् ।हाम्रो कुरा कसले सुन्छ र ?”
गैँडाकोट नगरपालिका वडा नम्बर ६ मा ३५ घरधुरी बोटे समुदाय बस्छन् । नारायणी नदी किनारमा बोटे समुदायका घर छन् तर अधिंकाश घर घामपानी छेक्ने खालका छैनन् । न रोजगारी छ, न प्रशस्त जग्गा । यहाँ भएका यी घर पनि सहमति संस्थाले विभिन्न दातासँगको सहयोगमा निर्माण गरिदिएको हो ।
स्थानीय शर्मिला बोटेले आयआर्जनका कार्यक्रम माग गर्न पटक पटक वडामा जाँदा पनि कहिल्यै सुनुवाइ नभएको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ –“तरकारी खेतीसम्बन्धी तालिम वा अन्य कुनै सीपमूलक तालिम पाए हुन्थ्यो भन्ने आशा थियो तर हामीलाई कसैले हेरेनन् ।”
नगरपालिकाले विकाससँगै सीपमूलक तालिमहरु पनि नचलाएको होइन तर बोटे समुदायको बस्ती जहिलै बत्तीमुनिको अँध्यारोमा पर्दै आएको छ । वडामा आएका आयआर्जनका कार्यक्रम पनि अन्य स्थानमा सञ्चालन गरिँदा उनीहरु वञ्चित हुन पुगेका हुन् । अब त्यस्तो हुन नदिने गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा बताउनुहुन्छ ।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले आगामी दिनमा सीमान्तकृत बोटे समुदाय लक्षित कार्यक्रम ल्याउने बताउनुभएको छ । उहाँले पालिका स्तरबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै उनीहरु छुटेको हुन सक्ने र अब समेटिने बताउनुभयो । उहाँले भन्नुभयो –“उहाँहरुले कस्तो कार्यक्रम चाहनुभएको हो र कस्तो कार्यक्रम सञ्चालन गर्दा उहाँहरुको जीवनस्तर सुधार हुन्छ सोही अनुसारको कार्यक्रम सञ्चालन गर्ने छौँ ।”
बोटे समुदायका मानिसहरुले स्थानीय सरकारबाट अनावश्यक सेवा सुविधाभन्दा पनि सीप र रोजगारी खोजेका छन् तर राज्यले आफ्नो दायित्व पूरा गरेको छैन ।

Share.

Leave A Reply