गैँडाकोट ३ की वडासदस्य मित्रमाया सुनारको निधन, शोकमा वडाकार्यालय बन्द

0

डोलराज रानाभाट,गैँडाकोट, माघ ११ । गैँडाकोट नगरपालिका वडानम्वर ३ की दलित महिला वडासदस्य मित्रमाया सुनारको निधन भएको छ । नेपाली काँग्रेसबाट उम्मेदवार रहेर विस २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा उहाँले दलित महिला वडा सदस्यमा जित्नुभएको थियो । उहाँको गएराति अर्थात् माघ १० गते ११ बजेर ३५ मिनेटमा आफ्नै निवास गैँडाकोट ३ बडेस्वाँरामा निधन भएको हो ।

गत असोजदेखिनै जण्डिसबाट पीडित उहाँको कलेजोमै गम्भिर समस्या रहेको चिकित्सकहरुले बताएका वडाअध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । काठमाण्डौ लगायतका अस्पतालहरुमा उपचार गराइएपनि निको नभएको र अन्तिम समय पुरानो मेडिकल कलेजमा उपचार भएको थियो । उहँको श्रीमान् र ४ जना छोरा हुनुहुन्छ । एक छोराको विहे भएको छ ।

उहाँको आजै अन्त्यष्टी गरिने वडाअध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

शोकमा वडाकार्यालय बन्द

यसैविच दलित समुदायको हक, हित र अधिकारका विषयमा निरन्तर आवाज उठाइरहने साथै समाजका अन्य क्षेत्रको पनि विकास हुनुपर्छ भन्ने धारणा राख्ने सुनारको निधनले वडानै स्तब्ध भएको वडाअध्यक्ष तिवारीको भनाई छ ।

सामाजिक कार्यमा सक्रिय हुने उहाँको अल्पायूमै भएको निधनले अपूरणीय क्षती सँगै वडावासी स्तब्ध भएको र शोकमा आज वडाकार्यालय बन्द गरिएको छ ।

वडाअध्यक्ष तिवारीले भन्नुभयो,“ शोकको घडीमा परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् । हार्दिक श्रद्धा सुमन मित्रा दिदी छोटो समय मै हामिलाइ छोडेर जानुभयो । तपाइले भौतिक रुपमा छोडेर गएपनि तपाइले देखेको वार्ड बिकासको सपना लाई पूरा गर्न हर्दम वडा कार्यलय सक्रिय हुने छ ।”

२०३२ साल असार ११ गते जन्मनुभएको उहाँले गएको स्थानीय निर्वाचनमा ५ सय भन्दा बढि मत प्राप्त गर्नुभएको थियो ।

Share.

Leave A Reply