भरतपुरमा भेटिएका बस्तु बम नभएको पुष्टि, बन्दको प्रभाव न्यून, ट्रकमा तोडफोड

0


भरतपुर । चितवन भरतपुर स्थित मुख्य सडकका दुई स्थानमा भेटिएका बस्तु बम नभएको पुष्टि भएको छ ।
खतरा लेखिएको र तार सहित भरतपुर ११ बाईपास रोड र भरतपुर १ रामनगरको मुख्य सडकमा भेटिएका ती वस्तु बम नरहेको पाईएको हो । भरतपुर–१ रामनगरमा राखिएको बस्तु रातो कपडाले बेरेका इँटा र भरतपुर–११ बाइपास रोडस्थित आँखा अस्पताल अगाडि राखिएको बस्तु सिसाको बोतल भएको पाइएको प्रहरीले जनाएको छ । नेपाली सेनाको टोलीले दुवै स्थानको शंकास्पद बस्तुको डिस्पोज गरेको हो ।
बन्द सफल बनाउन सर्वसाधारणहरुलाई तर्साउन विप्लव निकटका व्यक्तिले नै शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ । शंकास्पद बस्तु भेटिएपछि दुवै ठाउँमा सवारी साधन रोकिएको थियो । सो स्थानमा सर्वसाधारणको भिंड लागेको थियो ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण चितवन नवलपुरमा आंशिक प्रभाव परेको छ । चितवन नवलपुरलगायत देशका मुख्य सहरबजार नियमितझैं खुलेका छन् । सवारीसाधनको आवागमनमा केही प्रभाव परेको छ । अघिपछि भन्दा भरतपुर र नारायणगढमा सार्वजनिक बस लगायत सवारीसाधन कम गुडेका छन् । छोटो दुरीका साधन भने निर्वाध सञ्चालनमा रहेका छन् । विप्लव नेतृत्वको नेकपाले आफ्ना पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेको विरोधमा आज नेपाल बन्दको आह्वान गरेको थियो ।


अज्ञात समूहले भरतपुरको गीतानगरमा एउटा ट्रकमा तोडफोड गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अज्ञात समूहले ना ५ ख ३८६३ नम्बरको ट्रकमा तोडफोड गरेका हुन् । मोटरसाइकलमा जाँदै गरेका व्यक्तिले ढुङ्गा प्रहार गरेर भागेको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । ढुङ्गा प्रहारबाट ट्रकको अगाडिको सिसा फुटेको छ । अज्ञात समूहको खोजी कार्य भईरहेको प्रहरीले जनाएकोे छ ।

Share.

Leave A Reply