नारायणीबाट नदीजन्य पदार्थ उत्खनन् का लागि गैँडाकोट ७ र ९ का स्थानीय सहमत, प्रभावकारी अनुगमनमा जोड

0

डोलराज रानाभाट, माघ ९, गैँडाकोट । नारायणीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न  गैँडाकोट नगरपालिका वडा ७ र ९ का स्थानीयले सहमत जनाएका छन् ।

विकास निर्माणका लागि नदीजन्य पदार्थ आवश्यक पर्ने र त्यसका लागि आफूहरु वाधक नभएको उनीहरुको भनाई थियो । नारायणी नदीको गैडाकोट ७ को मुरलीटार र गैँडाकोट ९ को जयनटार क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन् हुने गरी नगरपालिकाले टेण्डर आह्वान गर्ने भएपछि प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदनका लागि आज सार्वजनिक सुनुवाई गरिएको थियो ।

नारायणी माविमा भएको कार्यक्रममा बोल्दै स्थानीयहरुले बिगतमा फितलो अनुगमन र बजेट समेत नगरपालिकाले पर्याप्त नदिएको भन्दै अहिले ती समस्यालाई सुधार्न अनुरोध गरेका छन् ।

मापदण्ड अनुसार मात्रै उत्खन्न गर्न दिने, टिप्पर हिँड्न सीमित बाटो तोकिदिने, टेण्डरको अवधि सकिनासाथ बाटो मर्मत गर्ने र नदीजन्य पदार्थ विक्रिबाट आएको बजेटबाट वडानम्बर ७ र ९ लाई विशेष प्राथमिकतामा राख्नुपर्ने साथै तटबन्धको काम बढाउने लगायतका माग राखेका थिए । साथै प्रभावकारी तटवन्धको विकास गर्नपनि उनीहरुले अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख छत्रराज पौडेलले प्रतिशत नै तोकेर बजेट उपलब्ध गर्न नसकिएपनि आवश्यकताका आधारमा बजेट दिने बताउनुभयो । साथै वडाअध्यक्ष जनप्रतिनिधिलाई पर्याप्त अधिकार भएको र टोलविकास संस्थाका प्रतिनिधिहरु समेत मिलेर अनुगमन समिति बनाई नगर उप–प्रमुखको मातहतमा रही मापदण्ड कार्यान्वयनमा लाग्न पनि अनुरोध गर्नुभयो ।

 

प्राकृतिक सम्पदाको संरक्षण गर्नु नगरपालिकाको दायित्व रहेकाले मापदण्ड विपरीत कुनैपनि कार्य हुन नदिनेमा आफू प्रतिवद्ध रहेको जानकारी दिनुभयो । कार्यक्रममा गैँडाकोट ७ का वडाअध्यक्ष चोलानाथ उपाध्याय, ९ का वडाअध्यक्ष प्रेम प्रसाद सापकोटा, वडादस्य इश्वरी चापागाई, स्थानीय लक्ष्मी चौधरी, ज्ञानप्रसाद खनाल,राजेन्द्र पौडेल, मोतिलाल ढुंगाना, शिव कुमाल लगायतले बोल्नुभएको थियो ।

नगरपालिकाका इन्जिनियर शंकर कडेँलले सहजीकरण गर्नुभएको कार्यक्रममा बोल्दै विज्ञ किरण भुषालले मुरलीटारबाट ७९ हजार ५ सय १५ घनमिटर क्यू र जयनटारबाट ८० हजार ११८ घनमिटर क्यु परिमाणको नदीजन्य पदार्थ उत्खन्न गर्न सकिने बताउनुभयो ।

 

अव स्थानीयको सुझाव र मागलाई कार्यपालिका बैठकमा पेश गर्ने र त्यसपछि मात्रै टेण्डर प्रकृया अघि वढ्ने बताइएको छ । अहिले करिव ४ करोडको मूल्याङ्कन भएको र टेण्डर सहित बिक्रि भएपछि राम्रै अंकमा राजश्व संकलन हुने विश्वास नगरपालिकाले लिएको छ ।

Share.

Leave A Reply