गैंडाकोटका ७ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिने

0


प्रेम क्षेत्री
माघ ८, गैंडाकोट । गैंडाकोट नगरपालिकाका आधारभुत स्वास्थ्य केन्द्रमा परिचालन हुने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको छ ।

गैंडाकोट नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिकाका ७ वटा वडामा स्थापना गर्न लागिएको आधारभुत स्वास्थ्य केन्द्रमा खटिने कर्मचारीहरुलाई अभिमुखिकरण गरेको हो । माघ ५ गतेदेखी शुरु भएको तालिमको बिहिबार समापन गरिएको हो । गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, सिनियर अहेब घनश्याम भट्टराई, हेल्थ असिस्टेन्ट माधव आचार्य र पुष्पराज श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

तालिम अवधिभर स्वास्थ्य सम्बन्धी अभिलेख राख्ने र प्रतिवेदन बनाउने सम्बन्धमा उनिहरुलाई जानकारी गराईएको हेल्थ असिस्टेन्ट माधव आचार्यले जानकारी दिनुभयो । प्रत्येक आधारभुत स्वास्थ्य केन्द्रमा एकजना हेल्थ असिस्टेन्ट र एकजना अनमी रहने छन् । कार्यालय व्यवस्थापन अन्तिम चरणमा रहेको र छिट्टै आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन सहित स्वास्थ्य सेवा शुरु गरिने स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । खोप, समुदायमा आधारित नव शिशु तथा वालरोगको एकिकृत व्यवस्थापन, पोषण, महिला स्वास्थ्य स्वयम्सेविका, जनसङ्ख्या व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, गाउँघर क्लिनिक, कुष्ठरोग, औलो, क्षयरोग, एचआईभि एड्स, विरामी जाँच तथ्याङ्क जस्ता विषयमा अभिलेख राखिने उहाँले जानकारी दिनुभयो ।

गैंडाकोटका वडा नम्बर १, ४, ६, ७, १२, १३ र १४ मा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो । यसपछि गैंडाकोटका वडा नम्बर २ र १० बाहेक हरेक वडामा स्वास्थ्य कार्यालय रहने छन् । अन्य वडामा यस अगावै स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य कार्यालय स्थापना भईसकेका छन् ।

Share.

Leave A Reply