बालविवाह रोकौँं

0


भित्री मधेसअन्तर्गत पर्ने नवलपुर सुगम जिल्लाका रुपमा चिनिन्छ । यद्यपि यो जिल्ला विकास र शैक्षिक स्तरले अगाडि छ तथापि यही जिल्लाको गैँडाकोटमा बालविवाह हुने गरेको पाइएको छ । वडामा नै बालविवाह र विखण्डनका घटनाहरु बाहिर आउँदा समेत यहाँका जनप्रतिनिधि, वडा कार्यालय र नगरपालिकाको महिला तथा बालबालिका शाखा मौन छन् । एक त उनीहरुसमक्ष कसैले उजुरी गरेका छैनन् । उजुरी परेको छैन भन्दै यी निकाय पनि मस्त छन् । गाउँ तहमा कहाँ के भइरहेको छ भन्ने सूक्ष्म अध्ययन नहुनु र त्यसतर्फ केन्द्रित कार्यक्रम नआउनुले बालविवाहलाई प्रश्रय दिइरहेको देखिन्छ ।
नेपालको मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ६९ मा कानुनको अधीनमा रही विवाह गर्ने स्वतन्त्रता हरेक नागरिकलाई रहे पनि उमेर हद बीस वर्ष तोकेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ मा बालविवाह गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ । विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनेर भनेको छ । यदि उमेर नपुगी गरिएको विवाह भए सो स्वतः बदर हुने उल्लेख छ । यदि यस्तो कसुर गरेको भए गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ भनी स्पष्ट उल्लेख गरेको छ । यदि दुवैको मन्जुरी रहे पनि विवाह भए स्वतः बदर हुने र अपराध संहितामा १८ वर्षभन्दा मुनिका बालिकाको सहमतिमा विवाह र शारीरिक सम्पर्क भए जबरजस्ती करणी हो भनी करार गरेकाले विवाह गर्ने वा गराउने दुवैलाई सजाय हुन सक्छ । यसतर्फ आम नागरिक पनि सचेत बन्नुपर्छ ।
सोचाइ क्षमता नभएका वा चेतनास्तर कम भएका परिवार लक्षित चेतनामूलक कार्यक्रम र हरेक बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन आवश्यक छ । उनीहरुको मानसिकता नै परिवर्तन हुने गरी प्रभावकारी कार्यक्रम नल्याए यसले भोलिका दिनमा ठूलो समस्या निम्त्याउन सक्छ । अबका कार्यक्रम सोही लक्षित हुनपर्छ, जसले गर्दा भोलिका दिनमा कसैले बालविवाह गर्न नपरोस् र कसैले गराउन नसकोस् ।

Share.

Leave A Reply