बाल विवाह गरेका किशोरीहरु पश्चात्तापमा

0


पवित्रा पराजुली
गैँडाकोट । भनिन्छ, ‘विवाहवारी २० वर्ष पारी’तर सुगम जिल्ला र चेतनास्तर उच्च रहेका स्थानमा नै बालविवाह गरेका पाइन्छ । कानुनी पाटो एकातिर व्यवहार त अर्कातर्फ । यसले निम्त्याउने समस्या पनि जटिल छन् । नवलपुरको गैँडाकोटमा पनी बालबालिका विवाह बन्धनमा बाँधिएको देखिन्छ ।
उमेरले १६ वर्ष । भर्खरै ८ कक्षा चलिरहेको थियो । आर्थिक अवस्था कमजोर थियो । घरको मियोका रुपमा रहेका बाबुले दिनहुँ रक्सी सेवन गरेर दिने पीडाले असह्य उनले झेल्दै थिइन् । घरमा हुने कलहले मुक्ति खोजिरहेकी उनलाई दाँवली साथीहरुले विवाहपछि सुख पाइने सल्लाह दिए । मानसिक यतानाबाट मुक्ति पाउन, परिवारिक सुखको आशामा उमेरको हेक्का नराखेकी गैँडाकोटकी उनले १६ वर्षको कलिलो उमेरमा नै विवाह गरिन् । भागेर बालविवाह गरेकी उनले श्रीमान्को घरमा पनि सुख पाइनन् ।
उनी भन्छिन् –“बुवाले सधैँ रक्सी खाएर घरमा झगडामात्र गर्नुहुन्थ्यो । कपी,कलम पनि नकिनिदिने,कहिले काहीँ तविद्यालयमा नै आएर कराउनुहुन्थ्यो । साथीहरुले बिहे गरे सुख पाइन्छ भने । उनीहरुको पनि बिहे भएको थियो । उनीहरुले सुखै पाएर भनेका होलान्भन्ने लाग्यो तर मेरो भाग्यमा दुःख लेखेको रहेछ, मैले बिहेपछि पनी सुख पाइनँ ।”
श्रीमान् र सासूससुराको व्यवहारले उनले पारिवारिक विखण्डन भोग्नुप¥यो । एक त अन्तर्जातीय त्यसमाथि कलिलो उमेरमा भएको विवाह । अपरिपक्व व्यवहार भन्दै उनलाई श्रीमान्सँग छुटिनुपर्ने भयो ।
उनले थपिन् –“बिहे गरेको पर्सिपल्टबाटै श्रीमान् घरमा आउन छाड्नुभयो । बिरामी हँुदा पनि हेर्नुहुन्थेन । श्रीमान् पनि रक्सी खाएर कराउन थाले । दाइ, मामा र आमाले पनि छोड्ने सल्लाह दिनुभयो । अहिले म मामा घरमा आएर बसेकी छु ।”
विवाह गरेको ६ महिनामा नै श्रीमान्सँगछुट्टिएर उनलाई मावली शरणमा पुग्नुप¥यो । बाल उमेरमा नै रहेका श्रीमान्ले दोस्रो विवाह गरे । फेरि पनि उनले बालविवाह गरे । यो बालविवाह र यसले निम्त्याएको एउटा ज्वलन्त उदाहरण हो ।
उनी जस्तै गैँडाकोटकै १६ वर्षीया बालिका पनि विवाहबन्धनमा बाँधिएको अहिले ६ महिना भयो ।बालविवाह गर्नुहुन्न भन्ने थाहा थियो । प्रेमीले विवाहका लागि कर गरेपछि उनका अगाडि केही चलेन ।
उनी भन्छिन् “हाम्रो अन्तर्जातीय बिहे हो । हामीले १६ वर्षको उमेरमा भागी विवाह गरेका हौँ । बालविवाह गर्न हुन्न भन्ने थाहा थियो र पनि श्रीमान्ले नभए अन्तै विवाह गर्छु भनेपछि विवाह गरेँ ।”
उनका अनुसार उनी यो उमेरमा आमा बन्दैछिन् । १६ वर्षको कलिलो उमेरमा नै उनले पेटमा ४ महिनाको बच्चा रहेको बताइन् । विवाह गर्नुका कारण जेसुकै हुन् तरआर्थिक अवस्था कमजोर र अशिक्षाका कारण नवलपुरका धेरै बालबालिकाले बालविवाह गरेको पाइएको छ । बालविवाह र यसले निम्त्याउने समस्यापनि जटिल बन्दै गइरहेको छ । कानुनी विषयको चेतनाको अभाव अर्को पाटो हो तर कतिले बालविवाह गरे भन्ने यकिन तथ्याङ्क कसैसँगछैन । जनप्रतिनिधिहरु नै अशिक्षा र पारिवारिक संस्कारले गर्दा बालविवाह हुने गरेको बताउँछन् । जनप्रतिनिधि चोलानाथ उपाध्याय भन्नुहुन्छ–“अशिक्षाका कारण यस्ता घटना घटेका हुन् ।यसलाई कम गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गरेका पनि छौँ तर कार्यक्रम गर्ने समयमा बुझेजस्तो गर्नुहुन्छ पछि फेरि अवस्था उस्तै छ ।”
गैँडाकोट नगरपालिकाको महिला तथा बालबालिका शाखा यसबारे बेखबर छ । नगरपालिकामा बालविवाहसम्बन्धी कुनै उजुरी नपरेको र जानकारी नभएका कारण पनि कार्यक्रम सञ्चालन नगरिएको गैँडाकोट नगरपालिकामा रहेको महिला तथा सामाजिक विकास शाखा प्रमुख सीता लामिछाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –“गैँडाकोट नगरपालिकामा आजसम्म यस्ता घटना दर्ता भएका छैनन् । न कसैले भन्नुभएको नै छ । अब घटना नै थाहा नभएपछि हामी कहाँ कहाँ के छ ?भनेर खोज्दै हिँड्ने कुरा पनि त भएन ।” उहाँले स्थानीय सरकार आएसँगै बालबालिकाको कार्यक्रम पनि वडावडामा जाने गरेको र वडाबाट नै कार्यक्रम हुने गरेकाले पनि नगरपालिकाका तर्फबाट बालविवाहसँग सम्बन्धित कुनै पनि कार्यक्रम सञ्चालन नगरिएको बताउनुभयो ।
बालविवाह र यसले निम्त्याउने समस्या विकराल छ । बालविवाह गराइएमा तीन वर्ष कैद हुने उल्लेख छ तर व्यवहारमा भने कडाइ गरेको पाइँदैन ।यस अवस्थालाई अन्त्य गर्न स्थानीय स्तरबाट नै प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।
कानुनी कारवाहीको अवस्था
सामान्य अर्थमा भन्नुपर्दा उमेर नपुगेका कुनै पनि केटा वा केटीमा हुने विवाह भन्ने बुझिन्छ ।कानुनले २० वर्षभन्दा मुनिको उमेरमा विवाह हुन्छ भने त्यसलाई बालविवाहका रुपमा लिने गरेको छ । नेपालमा अहिले पनि ४२ प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको तथ्याङ्क रहेको अधिवक्ता अनु शर्मा बताउनुहुन्छ।मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ७३ ले बालविवाह गर्न नपाउने भनेर स्पष्ट लेखेको छ । जसमा निजको उमेर २० वर्षभन्दा कम छ भने त्यसलाई बालविवाह भनिन्छ ।यदि २० वर्षभन्दा कम उमेरमा नै विवाहभएको छ भने त्यो विवाहस्वतः बदर हुने अधिवक्ता शर्माको भनाई छ । बालविवाह गर्ने र गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजारसम्मको जरिवाना रहेको छ ।अधिवक्ता शर्माका अनुसार यदि २० वर्ष नपुग्दै वा बालविवाह सम्बन्धमा उजुरी गरेका खण्डमा पुरुषलाई बलात्कारसम्मको कानुनी कारवाहीसमेतका कानुन बनिसकेकाले सचेत बन्नुपर्ने उहाँ बताउनुहुन्छ ।कानुनी कारवाही रहे पनि बालविवाह भने अझै पनि हुने गरेका छन् । यसलाई कम गर्नका लागि सबैभन्दा पहिले शिक्षाको स्तर बढाउन आवश्यक छ ।

Share.

Leave A Reply