आज माघे संक्रान्ति, देवघाटधाममा स्नान गर्ने भक्तजनको भीड

0

गैँडाकोट, माघ १ । आज माघे संक्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सक्रान्ति पनि भनिन्छ ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् ।

कोरोना संक्रमण कायमै रहेपनि आज माघे संक्रान्तिमा देवघाटधाममा स्नान गर्ने भक्तजनहरुको घुइचो लागेको थियो । प्रसिद्ध धार्मिक तीर्थ स्थल देबघाट धाममा मेला नलाग्ने तर स्नान गर्न पाइने यसअघि देवघाट क्षेत्र विकास समितिले निर्णय गरेको थियो । सोही अनुरुप चितवन, नवलपुर, तनहुँ, गोरखा, मकवानपुर लगायतका जिल्लाबाट भक्तजनहरु आएका थिए ।

भक्तजनको भीडभाड बढेसँगै चितवनतर्फबाट तनहुँ जाने झोलुङ्गे पुलमा अत्याधिक मात्रामा मानिसहरुको आवतजावत थियो । सो आवतजावतलाई नारायणीमा संचालित र्याफ्टीङले सहयोग गरेको थियो । गतवर्ष भन्दा कोभिड १९ का कारण भक्तजनहरुको सख्ंयामा भने कमी आएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो ।

थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाइरहेका छन् । कोरोना संक्रमण डरले विशेष कार्यक्रम नभएको तर सम्पूर्ण थारु समुदायहरुलाई पर्वको अवसरमा शुभकामना प्रदान गरेको थारु कल्याणकारीणी सभा गैडाकोट नगर समितिका अध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply