शिवशक्ति सहकारीले दुधमार्फत सदस्यलाई आत्मनिर्भर बनाउने

0


प्रेम क्षेत्री
पुस २९, गैंडाकोट । शिवशक्ति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड गैंडाकोट ७ को २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार गैंडाकोट ७ मा सहयात्री साकोसको सभाहलमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष गुरुप्रसाद कंडेलले दुधमार्फत सदस्यलाई आत्मनिर्भर बनाउँदै गुणस्तरिय सेवा प्रदान गर्न सुझाव दिनुभयो ।


कार्यक्रमका अध्यक्ष शिवशक्ति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष जीवनाथ कंडेलले सदस्यको चाहना अनुरुप आएको सुझावलाई एकिकृत गर्दै सदस्यमैत्री कार्यक्रम गर्ने बताउनुभयो । संस्थाका सचिव तारापति त्रिपाठीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कृषकलाई पशुपालनसँगैं आधुनिक करेसाबारीबाट अर्गानिक कृषि उत्पादनका लागि सहयोग पुग्नेखालका कार्यक्रम समावेश गरिने बताउनुभयो । संस्थाका कोषाध्यक्ष हरिप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै बिक्रिबाट ८५ लाख २६ हजार ५ सय ३७ रुपैयाँ आम्दानी भएको र सोही अनुपातमा खर्च समेत रहेको जानकारी दिनुभयो ।


संस्थाका उपाध्यक्ष मोतिलाल ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनानाथ त्रिपाठी, गैंडाकोट ७ का वडा सदस्य उमादेवी सापकोटा, संस्थाका निवर्तमान अध्यक्ष हरिकृष्ण रिमाल, सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्षुमण ओझा, समाजसेवी आत्माराम पौडेल, धनपति सापकोटा लगायतले संस्थाको उन्नतीको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा संस्थाका सेयर सदस्य नरेश्वर कंडेल, यमलाल कंडेल र हरिलाल कंडेललाई संस्थामा रहि उत्कृष्ट कारोबार तथा दुध संकलन गरेवापत सम्मान गरिएको संस्थाका व्यवस्थापक राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

 

Share.

Leave A Reply