राजनीति कि लाजनीति ?

0

कविता
विष्णु पन्थी
गैँडाकोट–२

म आदर्श हुँ,
यो राष्ट्रको तोडफोडमा विश्वास राख्ने
कलकारखाना नष्ट गरी समृद्धिका पासा फाल्ने
म सिद्धान्त हुँ,
विश्वविकासको आफै अनुकूल प्रतिपादन गर्न सकिने
म सेवक हुँ,
जनता जसका नाउँमा सदा शासनसत्ता चलाउन सक्ने
मै हुँ कानुन जसका आडमा सत्ता बिकाइ दिने
म मृत्यु हुँ,
जसले विभिन्न बहानामा जीवन लिन सक्छु
कसले छुन्छ मलाई
रातारात न्यायालय किन्न सक्छु
म सहिद हुँ,
यो देशको, जसले फिरौती लिएर
बलिदान दिन पनि सक्छु
म झुट हुँ,
यो देशको झुटो बोलेर दूधले नुहाउन सक्ने,
म लुट हुँ,
सबैको सूक्ष्म रुपले लुटेर क्षणभरमै धनी हुन सक्ने
जनताको भोट माग्दा पाउमा लम्पसार पर्न सक्ने
म दास हुँ,
जनता लुट्नका लागि मेसो मिलाउन गोडा मल्न सक्ने
म माग हुँ,
जनताको पछि जो पूरा गरे पनि हुने, नगरे पनि हुने
म माग हुँ,
त्यसैले त पार्टीहरुको जो स्वार्थ पर्दा जता पारेर
भागबन्डा गरे पनि सहन सक्छु
म अभिभावक हुँ,
देश, देशवासी जनता र सर्वहारा सबैको
तर जसलाई करको दायरामा जति लुछे पनि हुने
म लुटेरा हुँ,
त्यसैले त तिम्रा नाममा आएको अनुदान
विभिन्न शीर्षकमा स्वात्तै पार्न सक्छु
म भोटको भोको हुँ,
अरु बेला जे जे गरे पनि
चुनावमा तिम्रै सम्झनामा रुने
म साह्रै मिलनसार हुँ,
म साह्रै सिपालु,
मेरो आवश्यकतानुसार तरकारीमा आलुजस्तै
जता पनि मिल्न सक्छु
म मृदुभाषी हुँ,
आवश्यकतानुसार उखान–टुक्का जोड्न सक्ने
म अन्धकार हुँ,
लोडसेडिङका रुपमा आएर
जनजीवन अन्धकार पार्न सक्ने
म पानी हुँ,
हाल काठमाडौँको आकाशमा कहिल्यै पर्न नसक्ने
त्यसैले त चाँजोपाँजो मिलाइ बजेट स्वात्त पार्न सक्छु
म देशभक्त हुँ,
जलस्रोतको धनी देश मेरो भनेर
परदेशीका अगाडि टुटेफुटे अङ्ग्रेजी खोक्न सक्ने
म पानी फुर्तिलो छु,
सबैको निद्रा हराम गर्न सक्ने
कीरा, गँड्यौलासहित राति दुई बजेदेखि उठ्न सक्छु
काठमाडौँका गल्लीगल्लीमा ट्याङ्करमा पुग्न सक्छु
म डाक्टर हुँ,
किनेर उपाधि ल्याएको
त्यसैले त पढेकालाई मनोरोगी पार्न सक्छु
फेवरमा आएन भने दुर्गम सार्न सक्छु
म यौनप्यासी हुँ,
हजारौँ निर्मलाहरुको
रिपोर्ट छिपाई अस्मिताको लुटेरा जोगाउन सक्छु
अपराधीललाई फूलमालाले सजाई सजाई
देशभक्तको उपाधि चढाउन सक्छु
म शिक्षा हुँ,
यो देशको घोषणापत्र वा कानुनमा दरिलो
स्कलर सिप माग राख्ने
साँच्चै म समाजवादी हुँ,
दलित, जनजाति र जेहेन्दारका नाममा कोटा पारेर
स्वजनहरुलाई स्वदेश तथा विदेशमा
डाक्टर, इन्जिनियर पढाउन सक्छु
म विवश छु,
मेडिकलका लापर्वाहीले दुईचार भोट घटे घटून्
म माफियाविरुद्ध बोल्न सक्दिनँ
त्यसैले त म प्रयोग गर्न सक्दिनँ
बरु सिटामोल खानै परे पनि स्वदेशी खान्नँ
मेरो बाध्यता, यसमा कमिसन खान नपाए
फेरि चुनाव जित्नै सक्दिनँ
म वचनमा पक्का छु,
खाडी मुलुकमा नेपाली लास सडे पनि
दूतावासका विरुद्ध औंला उठाउन सक्दिनँ
म सम्पन्न भए पनि नभएकै बन्न सक्ने
वैदेशिक भिसा नपाए स्वजनहरू
स्वदेशी शिक्षा पढाउन सक्दिनँ
साँच्चै म शिक्षित हुँ,
घरजग्गा धितो कर्जा प्रदान गर्न सक्ने
शिक्षित युवा पाताल प्रवास गराउन सफल
ल्याप्चे बटुलेर झोले बनाई अघिपछि पार्न सक्छु
बरु केही छैन विद्यालयमा तालाबन्दी गर्न सक्छु
म साँच्चै चलाख,
विद्याको सर्टिफिकेट बाकसमा थन्काइदिन सक्छु
भिटो लगाई जागिरमा अयोग्यताको भर्ती गर्न सक्छु
म धेरै बफादार हुँ,
मेरो र मेरा लागि हरेक वर्ष पार्टी फोर्न सक्छु
कुर्सीका लागि पोइलमात्र होइन जोइल पनि जान सक्छु
म त अब धेरै शक्तिशाली हुँ,
कसैलाई सेक्ने, कसैलाई करै नतिर्ने
फैसला मिलाउन सक्ने,
मेरा विरुद्ध लेख्ने राष्ट्रको चौथो अङ्ग
जसको कलम जफत गर्न सक्ने
म त अब सबै हुँ,
छुन्छ कसले मलाई ?
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका म सबै हेर्छु
मुठ्ठीमा बिरालाले मुसा खेलाएर खाएझैँ खान सक्छु
अब आफै भन्नुहोस् कठै ¤ मेरो देशको म के हुँ ?
साँच्चै देशको राजनीति हुँ कि म लाजनीति हुँ ?

Share.

Leave A Reply