स्वस्थ समाज बनाउन ध्यान दिऔँ

0


गैँडाकोट नगरपालिका सहज स्वास्थ्य सेवाको पहुँच भएको नगरका रुपमा चिनिन्छ । छिमेकी जिल्ला मेडिकल सिटीका रुपमा विकसित हुनु, गैँडाकोट नगरपालिकामा रहेको स्वास्थ्य चौकी, अस्पताल, सहरी स्वास्थ्य एकाइ, आर्युवेदिक औषधालय, गाउँघर क्लिनिक, खोप क्लिनिक, निजी अस्पताल तथा पोलिक्लिनिक र फार्मेसीलगायतको सहज स्वास्थ्य सेवाले नागरिकलाई सहज भएको छ । नगरका २ ओटा वडामा भौगोलिक हिसाबले केही असहजता भए पनि नगरमा रहेका स्वास्थ्य संस्थाको उपस्थिति र दिएका सेवा हेर्ने हो भने सन्तोष गर्न सकिन्छ । गैँडाकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको रिपोर्टलाई आधार मान्ने हो भने कोरोना कहरको विषम परिस्थितिमा नगर स्वास्थ्य शाखाअन्तर्गत रहेका सबै स्वास्थ्य संस्थाले उल्लेखनीय काम गरेका छन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएको जनसांख्यिक विवरणअनुसार सेवा क्षेत्रभित्र रहेको लक्ष्यित जनसंख्या ६७ हजार ८ सय ९२ रहेको छ । नगर स्वास्थ्य शाखाका अनुसार पहिलो ४ महिनामा मात्रै नयाँ व्यक्ति ८ हजार ६ सय ६६ जना स्वास्थ्य संस्था पुगेका छन्, जुन सकारात्मक छ ।
गैँडाकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाले चालु आर्थिक वर्षको पहिलो चार महिनामा केही उदाहरणीय कार्यहरु गरेको छ । नियमित क्षयरोग, कुष्ठरोग, मधुमेह उच्च रक्तचापको औषधि वितरण गर्नु, गैँडाकोट स्वास्थ्य चौकीमा भिडियो एक्स–रे कार्यक्रम सञ्चालनमा आउनु, स्वास्थ्य चौकी र अस्पतालका लागि प्रयोगशालाको रिएजेन्ट र उपकरणलगायत सामग्री वितरण हुनु, गाउँघर क्लिनिक र खोप केन्द्रको व्यवस्थापन चुस्त हुनु, विद्यालय स्वास्थ्य शिक्षा तथा विद्यालय नर्स कार्यक्रम सञ्चालन, स्वास्थ्यकर्मीको सुरक्षा र आवश्यक सामग्री व्यवस्थापनसहित प्रोत्साहनलगायतका कार्य उदाहरणीय र महत्त्वपूर्ण छन् ।
गैँडाकोट नगरपालिकाको ‘स्वस्थ समाज ः हाम्रो अभियान’ लाई सार्थक बनाउन स्वास्थ्य, पोषण र रोग व्यवस्थापनमा कुनै सम्झौता गरिने छैन भनी नीति तथा कार्यक्रममा समेत घोषणा गरिएको थियो । यसलाई सार्थक बनाउन पनि प्रस्तावित गैँडाकोट नगर अस्पताल नगरबाट घोषित भए तापनि कार्यक्रम सञ्चालन गर्न औजार उपकरणलगायत कर्मचारीको व्यवस्थापन नहुनु, स्वास्थ्य चौकीहरुमा नियमित कार्यक्रम सञ्चालन गर्न भौतिक संरचनाको व्यवस्थापन नहुनु, स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापनमा कठिनाइजस्ता समस्या देखिएका छन् । अबको ध्यान यसतर्फ दिने हो भने स्वस्थ समाज बनाउन सकिन्थ्यो र समयमा नै नागरिकले सहज स्वास्थ्य सेवा पाउने थिए ।

Share.

Leave A Reply