उज्यालो प्रदेशको अँध्यारो गाथा, बिजुली नहुँदा समस्याका चाङ

0


माया कँडेल
बुलिङटार । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको बुलिङटार गाउँपालिकामा बिजुली नहुँदा यहाँको दैनिकी कष्टकर बनेको छ । हरेक पटक भएका निर्वाचनमा बुलिङटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण गर्ने नेताका आश्वासन झुटा साबित भएको स्थानीयको भनाइ छ । देशमा नै सबैभन्दा उज्यालो प्रदेशका रुपमा परिचय बनाएको गण्डकी प्रदेशको नवलपुरको बुलिङटारमा राष्ट्रिय प्रसारणको बिजुली नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएको स्थानीयले बताएका छन् ।
बुलिङटार ३ मा स्थानीय समीक्षा रानाभाट खाद्यान्न र फ्रेस हाउस खोलेर व्यवसाय गर्दै आउनुभएको छ तर उहाँ विद्युत नहुँदा ग्राहकको इच्छाबमोजिम व्यापार गर्न नपाएको बताउनुहुन्छ । विद्युत् नभएकै कारण फ्रिज चलाउन नपाएपछि मासु बिग्रने गरेको र व्यापारमा पनि घाटा हुने गरेको रानाभाटले बताउनुभयो ।
स्थानीय स्तरबाट नै लघु जलविद्युत् उत्पादन गरे पनि यसले सबैलाई पु¥याउन नसकिएको र भोल्टेज नपुग्ने गरेको उनीहरुको भनाइ छ । गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा विद्युत्कै कारण स्वास्थ्य उपकरण ल्याउन सकिएको छैन । यहाँ एमबिबिएस डाक्टर रहेपनि सहज स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको तर्क गरेका छन् ।
स्थानीय संगीता गिरीले लघु जलविद्युत्ले बिजुली आवश्यकताअनुरुप प्रयोग गर्न नपाइएको बताउँदै जीवन कष्टकर बनेको बताउनुभयो । इलेक्ट्रोनिक मेसिन र फ्रिज चलाउने मन भए पनि त्यो कल्पनामा नै सीमित बनेको उहाँको भनाइ छ ।
स्थानीय इन्द्रबहादुर पुलामी मगरसँग सीप छ । उहाँले कुटानी–पिसानी गर्ने मेल चलाउन सक्नुहुन्छ । काठबाट झ्याल, ढोका र यस्तै अन्य सामान बनाउने कला पनि उहाँसँग छ तर गाउँमा राष्ट्रिय प्रसारणको विद्युत् नभएकै कारण सीपलाई प्रयोग गर्न नसकिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार यदि राष्ट्रिय विद्युत्प्रसारणको लाइन बुलिङटारमा आए कोही बेरोजगार बस्न पर्दैन । सबैले आफ्नो पेसा र काम सहज रुपमा गर्न पाउँथे । उहाँले भन्नुभयो–“यदि राष्ट्रिय प्रसारणको विद्युत् भइदिएको भए गाउँमा कलकारखाना खुल्ने थिए, रोजगारी हुने थियो, सबैले सुबिस्ता पाउँथे ।”
बुलिङटारकी राधिका कुमाल बिजुली नहुँदा दाउराको प्रयोग बढेको बताउनुहुन्छ । जङ्गल विनाश र दाउरा खोज्न जाँदा हुने डरले पिरोल्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “जङ्गलमा गएर दाउरा लिएर आएर होइन बिजुलीमै खाना बनाउने धोको छ ।”
बिजुलीका कराण सञ्चारबाट पनि टाढा हुनुपरेको छ । चाहेको समयमा रेडियो सुन्न र टिभी हेर्न समस्या छ । बत्ती बाल्न र मोबाइल चार्जमा नै समस्या हुने गरेको स्थानिय वसन्ती विश्वकर्मा बताउनुहुन्छ । राष्ट्रिय प्रसारणको विद्युत् आए समस्या समाधान हुने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ – “नजिक लघु विद्युत् भएर पनि काम गरेन, हामी त राष्ट्रिय प्रसारणको विद्युत्को आशामा छौँ ।”
स्थानीय गोपालप्रसाद भण्डारीले खेतमा सिंचाइका लागि ल्याएको पानीको प्रयोग गरि विद्युत् निकालिए पनि यसले नथेगेको बताउनुभयो । त्यसकारण पनि दिउँसो प्रयोग गर्न नपाइने र बत्ती बाल्नमात्र विद्युत्को प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो ।
बुलिङटार ३ की वडा सदस्य भगवती पुरीले विकासका पूर्वाधार गाउँमा विकास गर्ने प्रयास भइरहेको बताउनुहुन्छ । राष्ट्रिय प्रसारणको विद्युत् नभएपछि गाउँमा धेरै समस्या बताउँदै उहाँले त्यो समस्या समाधान भए धेरैलाई सहज हुने बताउनुहुन्छ । उहाँले विद्युत् आएको भए अस्पतालमा भिडियो एक्सरेसहितको सहज स्वास्थ्य सेवा दिन सकिने बताउनुभयो ।
बुलिङटार गाउँपालिकाका प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले विद्युतीकरणका लागि प्रदेशबाट सर्भेको काम भइसकेको जानकारी दिनुभयो । उहाँले सर्भेपछि टेन्डर आउने र काम हुने बताए पनि त्यो हुन सकेको छैन । उहाँका अनुसार अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारणले पनि काममा ढिलाइ भइरहेको छ । गाउँपालिकाका तर्फबाट पनि सक्दो प्रयास र सहयोग भइरहेको बताउँदै उहाँले बुलिङटारमा रहेका ६ ओटै वडामा यस्तै समस्या रहेको बताउनुभयो । राष्ट्रिय प्रसारणको विद्युत् कहिले आउँछ अभैm भन्न नसकिने अवस्थामा रहेको गोदारको भनाइ छ तर पनि काम छिट्टै हुनेमा आशावादी बनेको बताउनुभयो ।
रोजगारी, व्यापार गर्ने, दैनीकि सहज बनाई अर्थोपार्जन र उपचारमा सहजताका लागि वर्षौदेखि राष्ट्रिय प्रसारणको विद्युत् लाइनको पर्खाइमा स्थानीय रहेका छन् ।

Share.

Leave A Reply