गैँडाकोटमा ड्रागन फ्रुट खेती सुरु

0


पवित्रा पराजुली
गैँडाकोट । गैँडाकोट ८ मा पहिलोपटक ड्रागन फ्रुट खेती सुरु गरिएको छ । तीन महिना अगाडिसम्म बाँझै रहेको खेतमा अहिले ड्रागन फ्रुट लहलह देखिन्छन् । देशका विभिन्न स्थानमा यो खेती गरिएको भए पनी गैँडाकोटमा यो पहिलोपटक गरिएको हो । सुख्खा जमिन बालुवा मिसिएको माटो भएकाले पनी यहाँ अन्य खेती राम्रो नहुने भएकाले यसअघि यो जमिन बाँझै थियो । अहिले करिब ३ बिगाहा जमिनमा ड्रागन फ्रुट खेती सुरु गरिएको हो । मरुभूमि जस्तो देखिने यो जमिनमा वामदेव गौलीले ड्रागन खेती सुरु गर्नुभएको हो । उहाँको यस कार्यमा अन्य ५ जनाले साथ दिएका छन् ।
ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलपूmल हो । ड्रागन फलका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिणी मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहदेखि १५ सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिने लगानीकर्ता वामदेव गौलीले बताउनुभयो । त्यसका लागि यहाँ सम्भावना धेरै रहेकाले पनि यो खेती सुरु गरेको उहाँको भनाइ छ । त्यसका लागि करिब ७० लाख लगानी गरेको उहाँले बताउनुभयो ।


यो फल वार्षिक ५०–१५० सेन्टिमिटर वर्षा र २०–३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकाले यसका लागि पानी नजम्ने ठाउँ रोज्नुपर्दछ र बलौटेदेखि दोमट माटोसम्ममा सजिलै खेती गर्न सकिने जनाइएको छ ।
गौलीका अनुसार रोपेको ढेडदेखि २ वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ केजीसम्म यो फल बिक्री भइरहेको छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हुँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ उहाँको भनाइ छ ।
यहाँ ड्याङ बनाएर पिलर गाडेर, करिब ८–८ फिटमा ड्रागन खेती गरिएको छ । पानी कम भए पनि हुने र अन्य खेती नहुने ठाउँमा यो खेती गर्न सकिने भएकाले आपूmहरुले यो जमिनलाई रोजेको तिलक अधिकारीले बताउनुभयो । खेतीबारी बाँझै छोडनुभन्दा माटो अनुसारको खेती गर्ने हो भने आर्थिक रुपमा पनि सबल बन्न सकिने उहाँको भनाइ छ । ड्रागन खेती लगाएर खाली रहेको स्थानमा तरबुजा खरबुजा लगाउने तयारी गरेको अधिकारीले बताउनुभयो ।


नेपालमा यो फल सबै ठाउँमा सजिलै नपाइने भएकाले पनि यसको बजारीकरणमा पनी खासै समस्या नहुने उहाँको धारणा छ । यसबाट राम्रो फल लाग्ने र आम्दानी राम्रो हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।
ड्रागन फ्रुट स्वादिलो हुनाका साथै स्वास्थ्यका लागि पनि फलदायी मानिन्छ । यसलाई विभिन्न रोगको औषधी बनाउनका लागि पनि प्रयोग गरिन्छ । सुख्खा जमिनमा थोरै ठाउँमा कम मेहनतमा गर्न सकिने भएकाले यो खेतीप्रति आकर्षण बढ्दो छ ।

Share.

Leave A Reply