विभिन्न कार्यक्रम गरी चितवनमा पनि पृथ्वी जयन्ती मनाइयो

0

चितवन, पौष २७ । चितवनमा आज पृथ्वी जयन्ती एवम राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा भरतपुरको केन्द्रीय बसपार्कमा कोण सभा गरेर दिवस मनाइएको हो । राष्ट्रिय झण्डा, बाजागाजा सहितको र्याली चौविसकोठी हुँदै पुन बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य एवम बागमती प्रदेश सभा सदस्य रिना गुरुङले सम्वोधन गर्दै चितवनबाटै राजसंस्थाको पक्षमा बिगुल फुक्ने कामको सुरुवात भएको बताउनुभयो ।

पृथ्वीनारायण शाहले एक गरेर बनाएको सुन्दर नेपाललाई ७ चिरा पार्ने काम भएको र करको भार, गरिबी मात्रै पाएको उहाँको भनाई थियो । चमात्कारिक विकासको आशा गरेका जनतालाई अहिलेका मुख्य पार्टीका नेताहरुले धोका दिएको उहाँको भनाई थियो ।

 

उहाँले विभिन्न दलका नेताले राष्ट्रिय स्वाभिमान गिराउने गरी छिमेकी राष्ट्र समक्ष शिर झुकाउदै आएकाले राष्ट्रको रक्षाका लागि राजसंस्थानै चाहिएको बताउनुभयो । राप्रपाका बागमती प्रदेश सदस्य ज्ञानजंग लामाले पृथ्वीनारायण शाहले एकीकरण गरेको देशलाई भागबण्डा गरेर खाने प्रवृत्ति विरुद्ध जनता जागेको बताउनुभयो ।

राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले गणतन्त्रप्रति जनतामा आएको वितृष्णाको वेगले राजसंस्थालाई स्थापित गर्ने दाबी गर्नुभयो । शाही शक्ति नेपाल भरतपुरका अध्यक्ष सहुलमियाँ अन्सारीले पृथ्वीनारायण शाहले रगत पसिनाले जोगाएको देशलाई राष्ट्रवादी शक्तिलेमात्रै जोगाउन सक्ने बताउनुभयो ।

 

त्यस्तै जिल्लाको चौविसकोठीमा पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानले पनि एक कार्यक्रम गरी जन्मजयन्ती मनाएको छ । बाजागाजा सहित पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै राष्ट्रिय झण्डा फहराएर कार्यक्रम चौविसकोठीमा कार्यक्रम गरिएको थियो ।

 

 

Share.

Leave A Reply