दमारमा बिजुली बत्ती बल्यो, स्थानीय उत्साही

0


माया कँडेल
गैँडाकोट ।
गाउँमा बिजुली बत्ती बाल्न पाउने र विद्युत्बाट हुने काम गर्न पाउने भएपछि गैँडाकोट १८ का स्थानीयमा खुसियाली छाएको छ । वर्षौंदेखिको पखाइ अब पूरा भएपछि स्थानीय खुसी भएका हुन् । कतिपय यही बिजुलीको आश गर्दागर्दै जीवन व्यतीत गरेका थिए ।
गैँडाकोट १८ दमारका रेशमबहादुर लुङगेली मगरले अहिले निकै खुसी लागेको प्रतिक्रिया दिनुभयो । विद्युत्को सुविधा आएपछि अब गाउँको मुहार फेरिन्छ कि भन्ने आशा जागेको उहाँ बताउनुहुन्छ । अहिलेसम्म विकास नभएको स्थानमा अहिले बिजुली आउनु र बाटाको काम हुनु राम्रो भएको बताउँदै अब गैँडाकोट १८ पनि बजार बन्ने उहाँको विश्वास छ । अब बिजुली आएपछि सबैले काम गर्न पाउने व्यापार व्यवसाय गर्न पाउने र अब बिस्तारै कलकारखाना स्थापना भएपछि आफ्नो गाउँ बजार बन्ने बताउनुभयो । बिजुली नहुँदा पहिले समस्या थियो, कुटानी पिसानी मेल चलाउँदा डिजेलबाट गर्दा महँगो पथ्र्यो तर अब सहज हुने र विदेश जान नपर्ने गरी यही काम गर्न सकिने बताउनुभयो ।
लक्ष्मण आले मगरले बिस्तारै विकास त हुने रहेछ भन्ने महसुस बिजुली आएसँगै लागेको बताउनुभयो । पहिले दाउरा अनि टुकी बत्ती बालेका दिनहरू सम्झँदै अब बल्ल गाउँमा विकास भएको र विकासले गर्दा नै उज्यालोमा बस्न पाएको मगरको भनाइ छ ।
आफ्नो घरमा बत्ती फिट गरेको र बाल्दा लालमाया राना मगरको उत्साहित हुनुहुन्छ । विद्युत् गाउँमा आउँदा नया विकास आएको र आपूmलाई रमाइलो लागेको मगरको भनाइ छ । उमेरले ६७ वर्ष पुग्नुभएकी उहाँले पहिले बिजुली आएको भए अझै विकास देख्न पाइन्थ्यो होला भन्दै ढिलो आए पनि आफ्ना छोराछोरी र नातिनातिनाले केही गर्न सक्छन भन्ने अहिले आशा पलाएको बताउनुभयो । “अलि उमेर भएपछि उज्यालोमा भए पनि हिँडन पाएँ भन्ने खुसी छ” उहाँले बताउनुभयो ।
दमारकी लक्ष्मी केङगेङ खुसी हुँदै बिजुली आएपछि अब सबै चिज सहज हुने बताउनुभयो । स्थानीय जमुना राना टुकी बत्ती बाल्न नपर्ने भएपछि अब भने सहज हुने र छोराछोरीलाई पनि पढ्न सजिलो हुने बताउनुभयो । छोराछोरीले बिजुली बत्तीमै पढ्न पाउने र वडामा गर्ने साना साना कामका लागि दुःख पाउन नपर्ने कुराले स्थानीय अझै खुसी छन् । वडामा सामान्य फोटोकपीका लागि पनि ११ किलोमिटर यात्रा गर्नुपर्ने कार्यबाट मुक्ति मिल्ने बताएका छन् । उनीहरूले कुखुरा पाल्ने, मिल सञ्चालन गर्ने र अन्य व्यावसायिक काम गर्ने योजना बनाएका छन् ।
गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेसँगै ५६ घरमा बिजुली बलेको छ । यो सँगै गैँडाकोटका सबै वडामा बिजुली पुगेको छ ।
यस्तै उज्यालो गण्डकी प्रदेश घोषणाअन्तर्गत गैँडाकोट नगरपालिका वडा नम्बर १८ मा विद्युतीकरण शुभारम्भ गरिएको हो । पहिलोपटक गैँडाकोट १८ मा विद्युत्को केन्द्रीय प्रसारण लाइनअन्तर्गत बिजुली पुगेको हो । गैँडाकोट १८ दमारमा रहेको वडा कार्यालय परिसरमा गण्डकी प्रदेश सभाका प्रतिपक्ष दलका नेता एवं सांसद कृष्णचन्द्र नेपालीले शनिबार बत्ती बालेर उज्यालो गैँडाकोट १८ को घोषणा गर्नुभएको थियो । उहाँले गैँडाकोट १८ बासीका लागि यो ऐतिहासिक दिनसमेत भएको बताउनुभयो । इतिहासमा गैँडाकोट १८ ले पहिलोपटक फड्को मारेको र अध्यारोबाट उज्यालोतर्फ पाइला मोडेको दिन हुनाले यो दिन सबैका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । अँध्यारोबाट उज्यालोतर्फ मात्र नभई बालबालिकाले उज्यालोमा बसेर पढन पाउने आमा तथा दिदीबहिनीले खाना पकाउन र अन्य कामका लागि विद्युत्को प्रयोग गर्न पाउने बताउनुभयो । बिजुली आएसँगै युवालाई प्रविधिमा जोडिन र रोजगारीका अवसर सिर्जना गर्न सघाउने उहाँको भनाइ छ ।
कोरोनाको प्रतिकूल समयमा पनि सबैको प्रयासले विद्युत् सेवा आउँदा यस क्षेत्रकै सांसदको नाताले आपूmलाई निकै खुसी लागेको बताउँदै वडामा विकासका पूर्वाधार ल्याउन र समृद्ध समाज निर्माणमा आफ्नो पहल रहेको नेपालीको भनाइ छ । उहाँले भोलिका दिनमा सडक आएसँगै उद्योग र व्यवसाय फस्टाउने र विकसित गैँडाकोट १८ बन्ने दावी गर्नुभयो । संघीयता र प्रदेश आएपछि नै विकासले गति लिएको हुनाले प्रदेश र संघीयताको महत्त्वपूर्ण भूमिका रहेको नेपालीको भनाइ छ । केन्द्रसँग समन्वय हुन नसक्दा र त्यहाँसम्म पुग्न नसक्दा पहिले विकास कम भए पनि संघीयता आएसँगै नै विकासले मुहार फेरेको पनि उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले कार्यक्रममा बोल्दै सत्ता पक्ष र प्रतिपक्ष नभनी नवलपुरको विकासका लागि खटिएको बताउनुभयो । उहाँले सबै मिलेर समृद्ध नवलपुर बनाउन चिन्तन गरिरहेको र त्यसैको फलस्वरुप विकास अगाडि बढेको बताउनुभयो । वडामा विद्युत् विस्तारका लागि सांसद कृष्णचन्द्र नेपालीको महत्त्वपूर्ण भूमिका रहेको लामिछानेले बताउनुभयो । सबैको सहयोगले काम छिटो भएको पनि उहाँको भनाइ छ ।
गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कँडेलले गैँडाकोट नगरपालिकाकै लागि खुसीको दिन भएको बताउनुभयो । अब गैँडाकोट १८ का स्थानीयको दिनचर्या सहज हुने उहाँको विश्वास छ । उहाँले यसको सावधानीका साथ प्रयोग गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले गैँडाकोट १८ मा विद्युत् विस्तार गर्दै उत्साह र खुसीका दिन ल्याउन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुख हरिदत्त पौडेलले गण्डकी प्रदेश कार्यालयले उज्यालो प्रदेश बनाउने योजनाअनुरुप नै कार्य गरेको बताउनुभयो । उहाँले राष्ट्रिय प्रसारण लाइन पुग्ने स्थानमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् पु¥याउने र त्यसपछि लघुजलविद्युत् आयोजना भएका स्थानमा त्यसको मर्मतसम्भार र लघु जलविद्युत् पनि नपुग्ने स्थानमा सोलारबाट भए पनि उज्यालो प्रदेश बनाउने योजना रहेको बताउनुभएको छ ।
यस्तै कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत व्यस्तताका कारण उपस्थित हुन नसकेको जनाउँदै शुभकामना सन्देश पठाएको भन्दै पौडेलले सुनाउनुभएको थियो । मन्त्री बस्नेतको शुभकामनामा उज्यालो प्रदेश बनाउने योजनाअनुसार नै साबिक रतनपुर र अहिलेको गैँडाकोट १८ का स्थानमा रहेका २०० बढी घरधुरीमा विद्युत् पु¥याउने लक्ष्य लिए पनि डेढ किलोमिटर जङ्गलको क्षेत्रले समस्या भएको र सो समस्या समाधानमा आपूmले पहल गरेको मन्त्री बस्नेतको भनाइ रहेको थियो ।
नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख एकनाथ तिवारीले कार्यक्रममा बोल्दै स्थानीयले पहिले जेजति दुःख भोेगे पनि अब भने आफ्नो समयलाई ऊर्जावान् बनाउन सक्ने बताउनुभयो । उहाँले बालबालिकाले चाहेको समयमा पढ्न पाउने साथै अन्य काम गर्न सक्ने पनि बताउनुभयो । उहाँले स्थानीयलाई विद्युत् सही तरिकाले प्रयोग गर्न सके मात्र साथी हुने र प्रयोग गर्ने तरिका गलत भएमा यसले दुर्घटना निम्त्याउने हुनाले प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्दै तार लत्रिएको वा चुँडिएको देखेमा विद्युत् प्राधिकरणमा खबर गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल विद्युत् प्राधिकरण कावासोती शाखा प्रमुख मधुसूदन यादवले गैँडाकोट नगरपालिकाकै विद्युत् नपुगेको वडाको रुपमा रहेको गैँडाकोट १८ का स्थानीयले सबैको प्रयासबाट विद्युत् सेवा उपयोग गर्न पाएको बताउनुभयो । उहाँले ४ करोड १२ लाखको लागतमा काम भएको र अहिले दमार उज्यालो भएको बताउनुभयो । अहिले १३ किलोमिटर एसटी लाइन ८ किलोमिटर एलटी लाइन निर्माण भएको र २ वटा ट्रान्समिटर पनि गैँडाकोट १८ का लागि बनेको बताउनुभयो । उहाँले दमारमा १०० केभीको ट्रान्सफर्मर राखेर उद्घाटन समारोह गरेको पनि बताउनुभयो । अरु काम पनि जारी रहेको र जङ्गलको विवाद चाँडै टुङ्गिए समस्या समाधानमा अगाडि बढ्न सक्ने उहाँको भनाइ छ ।
कार्यक्रमका अध्यक्षसमेत रहनुभएका गैँडाकोट १८ का वडाध्यक्ष तिलबहादुर चितौरेले दमारका ५६ घरमा विद्युत् बाल्न पाउँदा खुसी लागेको बताउनुभयो । दमारमा मात्र बत्ती बाल्न पाउँदा भने आपूm पूर्ण रुपमा सन्तुष्ट नरहेको बताउने उहाँले आफ्नो अब बाँकी कार्यकालमा उज्यालो गैँडाकोट १८ बनाउने सपना पूरा गर्ने बताउनुभयो । अब दमार मात्र भए पनि विद्युत् आउँदा स्थानीयलाई वडाको काममा धेरै सहज हुने विश्वास लिएको वडाध्यक्ष चितौरेको भनाइ छ ।

Share.

Leave A Reply