विकूको एटिएम सेवा अब दलदलेबाट पनि, विकूको उपस्थितीले लगानी मार्गप्रशस्त भएको वक्ताहरुको भनाई

0


प्रेम क्षेत्री
पुस २५, देवचुली । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौंथो एटिएम सेवा तथा ३६५ दिने बैंकिङ सेवा दलदले सेवा केन्द्रबाट पनि सुरु गरेको छ । सहकारी इतिहासमा नै पहिलो पटक एटिएम सेवा शुभारम्भ गरेको विकूले दलदलेमा पनि एटिएम सेवा विस्तार गरेको हो ।
शनिबार दलदले सेवा केन्द्रमा एटिएम सेवा तथा ३६५ दिने बैंकिङ सेवाको प्रमुख अतिथि देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले विकू देवचुली नगरपालिकाको गहनाको रुपमा रहेको उल्लेख गर्दै समस्यामा परेका सेवाग्राहीलाई यसले सहज हुने विश्वास व्यक्त गर्नुभयो । सहकारीले प्रतिस्पर्धा भन्दा पनि विपन्न समुदायको उत्थान गर्ने गरि कार्यक्रम गर्नुपर्ने बताउनुभयो । धितो नहुने समुदायका व्यक्तिहरुका लागि कार्यक्रम लक्षित गर्न सुझाव दिदैं उहाँले संसथाको प्रगतिको कामना गर्नुभयो ।


कार्यक्रममा विशिष्ट अतिथि देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले सहकारीको माध्यमबाट आर्थिक विकास गर्न सकिने भएकोले विपन्न समुदायमा पुँजी लगानी गरि उद्यमी तथा व्यवसायी बनाउन आवश्यक रहेको बताउनुभयो । सहुलियत दरमा लगानी गरि यहाँका विपन्न समुदायको आर्थिक सशक्तिकरण हुने गरि कार्यक्रम ल्याउन उहाँले सुझाव दिनुभयो । सहकारीमा अपनत्व हुने भएको हुँदा विकूमा आवद्ध हुन आह्वान गर्दै उहाँले एउटा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । सुखी र समृद्धि नगरपालिका बनाउन नगरपालिकाको तर्फबाट पनि काम भईरहेको प्रशंग उल्लेख गर्दै उहाँले सहकार्य गरेर अघि वढ्न सकिने बताउनुभयो ।


कार्यक्रमका अध्यक्ष विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले डेढ वर्षअघिदेखी नै दलदले सेवा केन्द्रमार्फत सेवा दिदै आएको भएपनि यहाँको माग अनुसार सेवा विस्तार गरिएको बताउनुभयो । नगरपालिकासँग सहकार्य गरि यहाँका निम्न वर्गका समुदायका व्यक्तिको आर्थिक उन्नतीका लागि विकूले लगानी गर्ने उहाँले बताउनुभयो । सो लागनीबाट उत्पादन गर्न सकिने र उत्पादित सामग्री बिक्रिको वातवरण पनि विकूले बनाउने उहाँले बताउनुभयो । ५० पैसाबाट शुरु भएको विकूको हाल करिब ७ अर्ब पुँजी पुगेको जानकारी दिनुभयो ।


उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका सदस्य धर्म बस्यालले सदस्यमैत्री सेवा र आर्थिक उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले दलदले कर्मसियल हबको रुपमा विकास भईरहेको जनाउँदै वित्तीय संस्थाको उपस्थितीले काम गर्ने व्यक्तिलाई मनग्य आर्थिक सहयोगका लागि मार्ग प्रशस्त भएको बताउनुभयो । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुषालले मुलुकको समृद्धिका लागि विकूको योगदान महत्त्वपूर्ण रहेको जनाउँदै सेवाग्राहीलाई सरल र सहजरुपमा सेवा प्रदान गर्न गरेको कदमको प्रशंसा गर्नुभयो । भिमसेन आदर्श माविका प्रधानाध्यापक नरदेव न्यौपानेले एटिएम सहितको सेवा एउटा आर्थिक क्रान्ति भएको उल्लेख गर्दै विकूको प्रगतिको कामना गर्नुभयो ।


दलदले सेवा केन्द्र व्यवस्थापन उप समिति संयोजक तेजप्रसाद न्यौपानेले विकू सदस्यमैत्री कार्यक्रमलाई निरन्तरता दिदैं सहज सेवा प्रदान गर्ने बताउनुभयो । विकूका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै विकूको लक्ष्य खुसी एवं स्वस्थ सदस्य बनाउने रहेको बताउनुभयो । कार्यक्रमको सहजिकरण गर्दै विकूका सचिव प्रेमप्रसाद सापकोटा राजुले २६ वित्तीय र ४३ गैर वित्तीय कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, लेखा संयोजक कमल सुवेदी, देवचुली १३ का वडा अध्यक्ष दिलबहादुर खत्री लगायतको उपस्थिती रहेको थियो ।


विकूले यसअघि कावासोती–३, गैंडाकोट ४ र केन्द्रीय कार्यालय गैंडाकोट ८ बाट एटिएम सेवा प्रदान गर्दै आईरहेको छ । एससिटि, युनियन पे नेटवर्कसँग आवद्ध नेपालभरी रहेका बैंक तथा वित्तीय संस्थाहरुको एटिएमबाट रकम निकाल्न सकिनेछ । नेपालभर जुनसुकै एटिएमबाट प्रयोग गर्दा शुल्क नलाग्ने विकुका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply