चितवनमा पौष २६ देखि गरिने जलपक्षी गणनाको तयारी पुरा

0

डोलराज रानाभाट, चितवन, पौष २५ । चितवनमा आगामी पौष २६ देखि माघ १ गतेसम्म हुने जलपक्षी गणनाको तयारी पुरा भएको छ ।

बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनले हिजो राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा एक कार्यक्रमको आयोजना गरी गणनाको उद्घाटन सहित अन्तरक्रिया कार्यक्रम गरेको हो ।

चरा गणनाका लागि आजिवन सदस्य टिका गिरीको संयोजनमा ९ सदस्यीय टोली नेता चयन गरेर तालिका सार्वजनिक गरेको अध्यक्ष रमेश चौधरीले जानकारी दिनुभयो । तालिका अनुसार पौष २६ गते भण्डारादेखि जिम्दगानी घाट, जिम्दगानी घाटदेखि सौराहा र सौराहा देखि कसरा लामीताल तथा तमरतालसम्म गाण्ना हुने भएको हो ।


पौष २७ गते बुढी राप्ती नदी, ढुुङ्ग्रे खोला, पटना तालमा जलपक्षीको गणना गरिनेछ । पौष २८ गते दिब्यनगर वरीपरी,, पौष २९ गते बिसहजारी ताल र माडी क्षेत्र र माघ १ गते रियु खोला देखि सौराहासम्म गणना गर्ने तालिका सार्वजनिक गरिएको छ ।

प्रमुख अतिथिले चरा हेरी त्यसको पहिचान गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । विश्वव्यापी रुपमा गरिने गणना अनुसार आउने तथ्याङ्कले चराहरुको संरक्षणका लागि रणनीतिहरु तय गर्न सहयोग पुग्ने चौधरीको भनाई छ । 

चितवनको सिमसार क्षेत्र चराहरुका लागि उपयुक्त स्थान भएकाले रैथाने देखि हजारौँ माइल यात्रा गरी चरा यहाँ आउने गर्दछन् । सोसाइटीका पूर्व अध्यक्ष योगेश अधिकारीले चरा आश्रीत हुने पानी र वासस्थान प्रदूषित हुने र बासस्थान नै संकटमा पर्दै जाने खतरा बढेपछि यस पटकको गणनामा समुदायलाई जोड्दै कार्यक्रम गर्ने बताउनुभयो । सोही अनुसार हिजो अन्तरक्रिया समेत सम्पन्न भएको छ । अन्तरक्रियामा गणना गरिएको तथ्याङ्कलाई अभिलेखिकरण गरी त्यसको स्थानीय स्तरमै विश्लेषण गर्न सुझाव दिइएको छ ।

एसीयन वाटरवर्ड सेन्सस २०२१ नाम दिएर गणना गर्न लागिएको हो । विश्वमा १९६७ जनवरीदेखि जलपक्षीको गणना थालिएको थियो भने अहिले ५४ औँ गणना चलिरहेको छ । २७ वटा देशमा गणना चलिरहेको बताउँदै अध्यक्ष चौधरीले नेपालमा विस २०५३ सालदेखि गणना गर्न थालिएको र ५४ औँ गणना हुनेछ ।

चितवनको ९ स्थानबाट डुँगा, जीप र पैदल हिँडेर चरा विशेषज्ञ र फोटाग्राफरहरुको टोली सहितले गणना गर्नेछ । हालसम्म वास्तविक तथ्याङ्क नभएपनि नेपालमा १६५ जातीका जलपक्षी पाइने सोसाइटीको दावी छ । यो पटकको गणनादेखि तथ्याङ्कलाई व्यवस्थित गरिने भएको छ भने गणनामा आएका विवरण राखेर पुस्तकसमेत प्रकाशन गरिने जनाइएको छ ।
सोसाइटीले पानी जरा, हिउँदे आगन्तुक चरा निरन्तर रुपमा गणना गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत प्रकाश उप्रेतीले सरकारी निकायले गर्नुपर्ने काम भएपनि चरालाई प्राथमिकतामा राख्न नसकिरहदा सोसाइटीले गर्न लागेको कार्य प्रससायोग्य रहेको बताउनुभयो । चरा गणनाको अनुमति दिने बताउँदै तथ्याङ्कको अभिलेखिकरण गर्न सुझाव दिनुभयो । विशिष्ट अतिथि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा बाबुराम लामिछानेले मानविय गतिविधिबाट जलपक्षीको वासस्थान संकटमा पर्नसक्ने भन्दै जनचेतनाका कार्यक्रम पनि चलाउन सुझाव दिनुभयो ।
कार्यक्रममा रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतीवडाले लन्च सहयोग गर्ने घोषणा गर्नुभयो । सोसाइटीका अध्यक्ष रमेश चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाघमारा सामुदायिक वनका अध्यक्ष जितवहादुर तामाङ, मृगकुञ्जका सचिव सागर मिश्र, वडानम्वर ६ का वडासदस्य किरण चौधरी लगायतले कार्यक्रमको शुभकामना दिनुभयो ।

पूर्व अध्यक्ष योगेश अधिकारीले सचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष लोजिककृष्ण सागरले स्वागत गर्नुभएको थियो ।

Share.

Leave A Reply