डोलराज रानाभाट, पौष २४, गैँडाकोट । मार्चको महिनामै गैँडाकोटमा कोरोना भाइरस विरुद्धको खोप आइपुग्ने भएको छ ।
नेपाल सरकारले मार्चको पहिलो हप्ता खोप आइपुग्ने बताइरहदा त्यसरी आएको खोप ढिला नगरी गैँडाकोटमा ल्याउने गरी तयारी पुरा भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल सरकारले मार्चको पहिलो साता विमानस्थलमा खोप झार्ने र त्यहीबाट गैँडाकोट नगरपालिकाका लागि छुट्याइएको खोप ल्याउने उहाँले जानकारी दिनुभयो । खोप लगाउने व्यक्तिहरुको विवरण नगरपालिकाबाट स्वास्थ्य मन्त्रालयले माग गरेको विवरण अनुसार पठाइसकिएको पौडेलले बताउनुभयो ।
प्रथम चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्यस्वयम्सेविकालाई खोप लगाउने सरकारको निर्णय अनुसार गैँडाकोटमा पनि सोही अनुसार खोप दिइने भएको उहाँले जानकारी दिनुभयो ।
परिवार कल्याण महाशाखाले केही दिन अघि मात्रै पत्रचार गरेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको नामावली पठाउन भनेको थियो । सोही अनुसार विवरण पठाइएको पौडेलले बताउनुभयो । त्यस्तै निजी स्वास्थ्य संस्थामा कार्यरतहरुको पनि नामावली माग गरेपनि अहिलेसम्म उनीहरुले भने नगरपालिकामा उपलब्ध नगराएको पौडेलले जानकारी दिनुभयो । त्यस्तै नगरभित्र अहिले कोभिड १९ का संक्रीय संक्रमित जम्मा ९ जना रहेको उहाँको भनाई छ ।
मंसिर महिना देखिनै कोभिड १९ को जाँच गर्न बन्द गरिएको र कसैलाई लक्षण देखिए भरतरपुर अस्पतालमा जाँच गर्ने व्यवस्था मिलाइएको पौडेलले बताउनुभयो । यदि धेरै जनालाई एकै पटक लक्ष्ण देखा परेमा मध्यविन्दु अस्पतालमा जााच गर्ने व्यवस्था मिलाइएको पनि पौडेलले जानकारी दिनुभयो ।