दौडिएर जित्नुहोस् २ लाख बढि पुरस्कार, खुल्ला प्रथम ऋषिङ्ग म्याराथनको तयारी तिव्र

0

डोलराज रानाभाट, पौष २२ । ऋषिङ्ग गाउँपालिका कोटदरबार तनहुँको आयोजनामा यहि पौष २७ गते हुने प्रथम ऋषिङ म्याराथन २०७७ को तयारी तिव्र पारिएको छ ।
नेपालभरका गाउँपालिकाहरुमध्ये ठूलो राशी सहितको खुल्ला म्याराथन आयोजना गर्ने यो नै पहिलो गाउँपालिका दावी गरिएको उक्त कार्यक्रमको तयारी तिव्र पारिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नेपाल सरकारले २०७३ साल फागुन २७ गते साविक काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग गाविसलाई समायोजन गरी गाउँपालिका बनाइएको थियो । गाउँपालिका बनेपछि यहाँ रहेका धार्मिक, ऐतिहासिक एवम प्राकृतिक मनोरमको दृश्यावलोकन सहितका पर्यटकीय स्थलहरुको खेल मार्फत देश विदेशमा चिनाउन यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

म्याराथन प्रतियोगिताकै अबसर पारेर प्रतियोगिता सुरु हुने स्थान ऋषिङ्ग गाउँपालिका वडा नम्बर ८ मा अवस्थित ऐतिहासिक एवम् पर्यटकिय स्थल गढि कोतमा निर्माण हुन लागेको गढि भ्यू टावरको शिलन्यास गरिने छ भने म्याराथन दौड सम्पन्न हुने स्थान ऋषिङ्ग गाउँपालिका वडा नम्बर ३ मा अवस्थित हालै निर्मित दुबुङ्ग भ्यु टावरको उद्घाटन पनि गरिने आयोजक ऋषिङ्ग गाउँपालिकाले जनाएको छ ।

गढी भ्यु टावरको सिलान्यास तथा खेलको शुभारम्भ संविधान सभा सदस्य झुल बहादुर आले बाट हुने र दुबुङ भ्यु टावरको उद्घाटन तथा पुरस्कार वितरण पूर्व मन्त्री तथा संविधान सभा सदस्य शंकर भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।  ऋषिङ समृद्धिको आधार, कृषि, संस्कृति, पर्यटन र पूर्वाधार नारा सहित गाउँको विकासमा जुटिरहेको गाउँपालिकाले यस प्रतियोगितामा निशुल्क नाम दर्ता गर्न सकिने र देशभरका जुनसुकै व्यक्तिले सहभागिता जनाउन सक्नेछन् ।

स्थानीयदेखि राष्ट्रिय खेलाडी समेत सहभागी हुन सक्ने गरी खुल्ला, स्थानीय र महिला म्याराथन गरी तीन वटा दौड हुने भएको छ ।

पहिलो खुल्ला म्याराथन ४२.२ किलोमिटरको दूरी रहेको छ । जसमा प्रथम हुनेले ६५ हजार, द्धितीय हुनेले ४० हजार, तृतीय हुनेले २५ हजार र सान्तव्ना हुने ३ जनाले जनही १० हजारका दरले नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाण पत्र  प्राप्त गर्नेछन् । यो दौडमा भाग लिने प्रतिस्पर्धीले गाउँपालिकाको गढी डाँँडा, रानीपोखरी, गाउँपालिका कार्यालय, पोखरीभञ्ज्याङ्ग, गोठादी, ढुँङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीवास,दाङसीरी र अन्तिम विन्दू दुवुङकोटको म्यूटावरसम्म दौडनुपर्नेछ ।

त्यस्तै स्थानीय म्याराथन ८ किलोमिटर दूरीको रहेको छ । यसमा प्रथम हुनेले १५ हजार, द्धितीय हुनेले १० हजार, तृतीय हुनेले ६ हजार र सान्त्वना हुने एक जनाले २ हजार नगद पुरस्कार पाउनेछन् । यो दौडको रुट भने ऋषिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खला छाप, केउराडी र ज्यामिरेमाई मन्दिर रहेको छ ।

र अर्को महिला सर्ट म्याराथनमा ४ किलोमिटरको दूरी पार गर्नुपर्नेछ । यसमा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले ८ हजार, तृतीय हुनेले ५ हजार र सान्त्वना हुनेले २ हजार रुपैया नगद सहित  ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका प्रवक्ता बिजय दराईले जानकारी दिनुभयो ।


पौष २६ गते बिहान १० बजेभित्र फारम भरी नाम दर्ता गर्नुपर्ने र थप जानकारीका लागि ऋषिङ गाउँपालिकाको वेवसाइट https://www.rishingmun.gov.np/, फेसबुक पेज https://www.facebook.com/ito.rishingmun हेर्न सकिने आयोजकले जनाएको छ ।
प्रवक्ता दराइका अनुसार पौष २७ गते हुने उक्त प्रतियोगिताको खुल्ला दौड विहान ८ बजे, स्थानीय तर्फको विहान ८ बजेर २० मिनेट र महिला तर्फ विहान ८ बजेर ४० मिनेट जाँदा सुरु हुनेछ ।

म्याराथनका बारेमा गाउँपालिकाले यस अघि पौष १० गते शुक्रवार पत्रकार सम्मेलन समेत गरिसकेको छ । अहिले दौड हुने रुटको सरसफाई देखि सुरक्षाका मापदण्डहरुलाई ध्यान दिएर कामलाइ तिव्र पारिएको हो ।

Share.

Leave A Reply