प्रचण्डलाई प्रधानमन्त्री बन्ने लोभले प्रतिनिधि सभा विघटन : गृहमन्त्री थापा

0

डोलराज रानाभाट, गैँडाकोट, पौष २० । चितवनमा नेकपा फुटको झल्को देखिएको छ । दुवै पक्षले आआफ्नो समूहको शक्ति प्रदर्शन सहित छुट्टा छुट्टै कार्यक्रम गरेका छन् । ओली समूहले एक पार्टी प्यालेसमा र प्रचण्ड माधव समुहले पूर्व माओवादीको पार्टी कार्यलयमा कार्यक्रम गरेका हुन् ।


ओली समूहको भेलालाई सम्वोधन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले पुरानो संसदले प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने बताउनुभयो । प्रधानमन्त्री बन्ने इच्छा भए मध्यावधी निर्वाचनमा गएर जनमत ल्याउने बाटो खुलाइदिएको भन्दै प्रचण्डलाई निर्वाचनमा जान आग्रह गर्नुभयो । प्रचण्डले आफू प्रधानमन्त्री बन्नका लागि जालझेल गरेको र जालझेल बाट देशलाई बन्धक गराउन भन्दा फ्रेस जनमतका लागि मध्यावधीमा जान वाध्य भएको बादलको तर्क थियो । प्रचण्ड माधव समुहको अहिलेका कयौँ भेला र बैठक गुटगत भएको र आफूहरुनै आधिकारिक पार्टी भएको समेत बादलले दावी गर्नुभयो ।

कार्यक्रममा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ओली नेतृत्वको सरकारले गरेको विकास देख्न नसकेर अर्को समूह विरोध गर्दै हिँडेको आरोप लगाउनुभयो । धेरै प्रयास गरेपनि प्रचण्ड समुहलाई सहमतिमा ल्याउन नसकेको उहाँको भनाई थियो । गृहमन्त्री गृह जिल्लामा आउँदा सुरक्षा व्यवस्था भने कडा पारिएको थियो तर कडा सुरक्षाको वीचपनि बादल लाल गद्दार लेखेको कालो बेलुन उडाइएको थियो ।

बादललाई बर्सिन र गर्जिन नेता भट्टराईको आग्रह

नेकपाका नेता एवम पूर्व पर्यटन मन्त्री योगेश भट्टराइले संविधान विरोधी गतिविधि गर्ने प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा बादल साथमै रहेको भन्दै कटाक्ष गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी भरतपुर नगर कमीटीद्धारा आज चितवनमा आयोजित प्रचण्ड माधव समुहको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै भट्टराइले अहिलेको समय गर्जनुपर्ने बादल शान्त हुँदा अचम्मीत बनेको बताउनुभयो । अझै समय रहेको भन्दै संविधान विरोधी गतिविधि हुँदा गर्जन आह्वान गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली संविधानमाथि आक्रमण गरिरहेको र निर्लज्जाको साथ व्यवस्थाको भण्डाफोर र प्रणालीलाई ध्वस्त बनाएको आरोप उहाँले लगाउनुभयो । सिँहदरवार र बालुवाटारमा बसेर आतंक मच्चाइरहेको रुपमा जनताले बुझ्ने भन्दै भट्टराईले पछिल्लो समय प्रधानमन्त्री ओलीद्धारा व्यक्त गरिएको अभिव्यक्तिले आफूहरुलाई लज्जावोध बनाएको बताउनुभयो ।

कस्तो नेता बनायौँ भनी आफैलाई प्रश्न गर्न मन लागेको अवस्थामा उहाँका पछिल्ला अभिव्यक्तिले पुर्याएको भट्टराइले बताउनुभयो । बहुदलिय जनवाद भनेर हिँड्नेहरु अध्ययनविना पछ्याएको भन्दै अध्ययनशील हुन सुझाव दिनुभयो । कार्यक्रममा नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीलाई होसमा रहन आग्रह गर्नुभएको छ । उहाँका पछिल्ला भाषणले निम्नस्तरको व्यक्तिमा रुपमा चित्रित भएको भन्दै नेतृ झाँक्रीले देशको प्रधामन्त्री पदमा रहदा कसरी अभिव्यक्त गर्नुपर्छ भन्ने हेक्का राख्न आग्रह गर्नुभएको हो ।

नेकपा चितवन प्रचण्ड माधव समुहको अगुवा कार्यकर्ता भेलामा सम्वोधन गर्दै नेतृ झाँक्रीले प्रधानमन्त्री ओली नेतृत्वले अहिलेको व्यवस्थानै ध्वस्त बनाउन उद्दत देखिएकाले राजनीति र व्यवस्था रक्षाका लागि सडकमा आएको बताउनुभयो ।

पार्टीमा पूर्व एमाले र पूर्व माओवादी भन्नेनै नरहेको र अहिले सवै मुद्दामा केन्द्रीत भएर अघि वढ्न आग्रह गर्नुभयो । ओली समूहले कम्युनिष्ट विरोधी गतिविधि गरेको भन्दै उहाँले अहिले ओलीको राजनीतिनै रसातलमा पुगेको भन्दै राजाले भन्दा खतरा खालको कदम ओलीले चालेको भन्दै अव सडकबाटै यसको छिनोफानो गर्नुपर्ने बताउनुभयो । अहिले पार्टी कार्यालय कब्जा भन्दा पनि राजनीति जोगाउन आह्वान गर्नुभयो ।

Share.

Leave A Reply