अमर सहकारीले १७ प्रतिशत लाभांश वितरण गर्ने

0


प्रेम क्षेत्री
गैँडाकोट । अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड अमरापुरीले १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
संस्थाको सभाहल गैँडाकोट १६ मा भएको संस्थाको २१औं वार्षिक साधारण सभा तथा २२औं वार्षिकोत्सव समापन समारोहमा सहकारीका अध्यक्ष प्रजापति कँडेलले सो जानकारी दिनुभयो । कँडेलले बचत र दूधको कारोबार गर्दै सदस्यलाई आत्मनिर्भर बनाउन जोड दिइएको समेत बताउनुभयो । पशुपालन क्षेत्रलाई प्रबद्र्धन गर्न प्रति सदस्य अधिकतम तिन लाख विना ब्याज ऋण लगानी गर्ने साथै संस्थाले दुध खरिद गरी खाने सदस्यलाई लक्षीत गरी मासिक ३० लि.प्रतिदिन १ लिटरका दरले खरिद गर्ने सदस्यलाई मासिक १ लिटर बोनस प्रदान गर्ने बताउनुभयो । संस्थाको वेभसाईट संचालन गर्दै आगामी दिनहरुमा अझै सेयर सदस्यमुखी कार्यक्रमहरु ल्याउने बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष हरिदत्त पाध्यायले भाडाको घरबाट प्रारम्भ गरेको संस्था आज कार्यक्रमहरु आफ्नै सुविधा सम्पन्न भवनबाट गर्न पाउँदा साह्रै खुसी लागेको बताउनुभयो । साथै उहाँले संस्थाले अन्य उत्पादनका क्षेत्रहरुमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष दाताराम पाण्डे, सेयर सदस्यहरु लक्ष्मी ढकाल, घनश्याम पराजुली, उमानन्द कंडेल, खड्ककुमारी ढुङ्गाना, लक्ष्मीप्रसाद सापकोटा, गोपी कंडेल, खेमप्रसाद सापकोटा लगायतले सहकारी संस्थामा सबै सेयर सदस्यको अपनत्व कायम हुनेगरी सहकारी शिक्षा र हरेक नीतिगत कुराहरुमा छलफल गराएर अगाडी बढाउन सुझाव दिनुभयो । उहाँहरुले संस्थाको उन्नती र उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो ।

संस्थाले दुग्ध कारोवार तर्फ दुध लिटर परिमाणको आधारमा, दुधगुणस्तरको आधारमा, दुध नियमितको आधारमा, सरसफाईको आधारमा त्यस्तै गरी बचत तथा ऋण कारोबारतर्फ नियमित बचत, दैनिक बचत, असलऋणि, शेयर खरिद तर्फ, बाल सदस्य सम्मान, जेहेन्दार छात्रा÷छात्र सम्मान, ज्येष्ठ नागरीक सम्मान समेत गरेको थियो ।


संस्थाका उपाध्यक्ष कुलराज सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव श्याम सुन्दर शर्मा लामिछानेले गर्नुभएको थियो । २०५६ सालमा स्थापना भएको सहकारीमा हाल ५ हजार ४ सय ८५ जना सेयर सदस्य रहेको सचिव लामिछानेले जानकारी दिनुभयो । संस्थाको केन्द्रीय कार्यालय गैँडाकोट १६ अमरापुरी र न्यू जनसेवा सेवा केन्द्र गैँडाकोट १५ बुद्धचोकबाट संस्थाका सेयर सदस्यहरुलाई कोरोनाबाट सुरक्षित राख्दै विभिन्न समयमा उपस्थिति एवं सुझाव सङ्कलन गरिएको व्यवस्थापक देवेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । कार्यक्रम सहकारीका अध्यक्ष प्रजापति कँडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply