भेडाबारी सामुदायिक वनको साधारण सभा सम्पन्न, जीविकोपार्जन तथा बीउ पूँजी कार्यक्रममा जोड

0


प्रेम क्षेत्री
गैँडाकोट । भेडाबारी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ११ को १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार समूहको कार्यालय परिसरमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नेपाल सामुदायिक वनको राष्ट्र भनेर चिनिएको र अब सामुदायिक वनका कार्यक्रम रोजगारमूलक हुनुपर्ने बताउनुभयो ।


डिभिजन वन कार्यालय नवलपुरका प्रमुख, डिभिजनल वन अधिकृत मोहनप्रसाद काफ्लेले वनका गतिविधि दिगो व्यवस्थापनतर्फ नै केन्द्रित रहेको र कुनैपनि कार्यक्रम गर्दा ह्रास नआउने गरि कार्यक्रम गर्नुपर्नेतर्फ जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले सरकारले वन पैदावरमा लगाएको प्रतिबन्धले समूहका गतिविधि ठप्प भएको बताउँदै यसले विभिन्न कार्यक्रम प्रभावित भएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले दिगो वन व्यस्थापनतर्फ सामुदायिक वन लाग्नुपर्ने बताउनुभयो ।
वनका सल्लाहकार तथा निवर्तमान अध्यक्ष एवं गैंडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदीले विपन्न परिवारको उत्थान तथा आम्दानीको स्रोत वढाउने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।


सव डिभिजन कार्यालय गैंडाकोटका प्रमुख, सहायक वन अधिकृत सुर्यसिंह गुरुङले यहाँको पर्यटन क्षेत्रको विकास गर्न सके आम्दानीको स्रोत वढाउन सकिने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैंडाकोटका सचिव निर्मला कंडेल, वनका सल्लाहकार रामचन्द्र धिताल, मौलाकाली वनका अध्यक्ष काशिनाथ कंडेल लगायतले शुभकामना मन्तव्य राख्दै वनको प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवं भेडाबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गुरुप्रसाद पौडेलले वनले गरिबी न्यूनीकरणका लागि जीविकोपार्जन कार्यक्रम, महिला सशक्तीकरण, बीउ पूँजी कार्यक्रम, पर्यटन प्रर्वद्धन लगायतका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
वनका सचिव पार्वती आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा वनमा तारबार, सीपमूलक तालिम, वृक्षरोपण, मुकुन्दसेन दरबारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पदमार्ग निर्माण लगायतका कार्यक्रम गरिने बताउनुभयो । वनका कोषाध्यक्ष भोजबहादुर महतोले २ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
लेखा संयोजक बलबहादुर केसीले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्दै समितिका काम कारवाही र गतिविधि पारदर्शी रहेको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष भेषराज हमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जीविकोपार्जन आयमूलक कार्यक्रम सञ्चालन गर्ने सदस्य, शारिरिक अशक्त, ज्येष्ठ नागरिक, एकल महिलालाई सम्मान, विपन्न छात्रवृत्ती, बीउ पूँजी वितरण गरिएको थियो ।
वनमा १२८२ उपभोक्ता घरधुरी सदस्य रहेको वनका कार्यालय सचिव तिलक कंडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply