श्रीधर उपाध्याय
गैँडाकोट, १७ पौष । धर्मलाई अंगिकार नगरेको राजनीति दुर्घटनामा पर्ने स्वामी ज्ञानानन्द सरस्वती महाराजले बताउनुभएको छ । हरिहर सन्यास आश्रम देवघाटधामका पिठाधीश स्वामी महाराजले धर्मविनाको राजनीतिको औचित्य नभएको बताउनुभएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको ४१ आँै साधारण सभामा वर्तमान राजनीति तर्फ इंगित गर्दै प्रमुख अतिथि रहनुभएका स्वामी महाराजले भन्नुभयो “ धर्मलाई अंगिकार नगरेको राजनीतिको गाडी दुर्घटनामा पर्दछ, धर्म ब्रेक हो भने राजनीति र समाज गाडी हो । धर्म विनाको वातानुकुलित गाडी नै भएपनि त्यसको औचित्य हुँदैन ।” स्वामीजीले हिन्दुराष्ट्र नेपाल बनाउन राजनीतिक नेतृत्वले बेलैमा सुझबुझ नभए समय र परिस्थितिले दुर्घटना निम्त्याउने भन्दै नेतृत्वलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “बहुदलमा बहुमतको कदर हुन्छकी हुँदैन, कदर हुन्छ भने ९० प्रतिशत भन्दा बढी हिन्दुहरुको अभिमतलाई कुल्चिनुलाई कसरी लोकतन्त्र भन्न सकिएला” भनि कार्यक्रममा उपस्थित राजनीतिक नेतृत्व प्रति प्रश्न गर्नुभएको थियो ।
गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको समृद्धि धार्मिक पर्यटकीय क्षेत्रबाटमात्र सम्भव भएको बताउनुभयो । मौलाकालिका मन्दिरलाई गण्डकी प्रदेशकै पहिचानको रुपमा स्थापित गराउन आफ्नो तर्फबाट सक्दो योगदान पु¥याउने बताउनुभएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका प्रमुख सल्लाहकार ज्ञानेन्द्र विक्रम महतले जीवनभर मन्दिरको सहयोगार्थका लागि आफू तत्पर रहने बचन दिनुभएको छ ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले मन्दिरको विकासमा योगदान पु¥याउने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । मन्दिरको विकासका लागि प्रदेश सरकारबाट करिब २० लाख बराबरको सहयोग प्राप्त भएको र सो को प्रक्रिया अघि बढेको बताउनुभयो । यसबाट मन्दिर परिसरको संरक्षणका लागि भूक्षय रोक्ने काम र मन्दिर पुग्ने बाटोका ढुंगाहरुमा देवताका आकृति कुद्ने लगायतका काम गरिने बताउनुभयो ।
गैँडाकोट नगरपालिका वाड नं. २ का अध्यक्ष ध्रुवराम पौडेलले मौलाकालिका मन्दिर धार्मिक पर्यटकीय गौरबको पक्ष बन्दै गएको बताउनुभयो ।
मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कंडेल, सम्पुर्ण महिलाहरुको तर्फबाट आजिवन सदस्य सीता सापकोटा, हरिहर सन्यास आश्रम गैँडाकोट ७ का अध्यक्ष होमनाथ सापकोटा, नेराश माविका प्रधानाध्यापक इन्द्रराज भट्राई लगायतले मन्दिरको विकासका लागि शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरुले धर्म संस्कार र संस्कृति संरक्षणका लागि मन्दिरको भूमिका महत्वपूर्ण रहेको र आगामी दिनमा अझ बढी महत्वपूर्ण हुने विश्वास राख्नुभएको थियो ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सचिव सुरेन्द्र रेग्मीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा मन्दिरका उपाध्यक्ष खगराज कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । साधारण सभाको औपचारिक कार्यक्रम मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मौलाकालिका मन्दिरको ४१ औँ वार्षिक साधारण सभा
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको ४१ आँै वार्षिक साधारण सभामा सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सुरेन्द्रप्रसाद रेग्मीले पानी ट्यांकी निर्माण, पाइपलाइन विस्तार, पर्यटन पूर्वाधारका विभिन्न काम भएको बताउनुभयो । यसैगरी मौलाकालिका देवघाट धार्मिक पर्यटकीय पदमार्गको ३०० मिटर पदमार्गको काम सोही आर्थिक वर्षमा सम्पन्न भएको बताउनुभएको छ । मौलाकालिका गुरुकुल सञ्चालनका लागि स्थानीय सरकारबाट अनुमति प्राप्त गरेको सभामा जानकारी गराउनुभयो । चालु आर्थिक वर्षमा मन्दिरको पहिचान स्थापित गर्न धार्मिक पर्यटनका विभिन्न कार्यक्रम अघि सारेको बताउनुभएको छ ।
मन्दिरका कोषाध्यक्ष सुवनप्रसाद ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार कोभिडका कारण मन्दिरको आयमा प्रभाव पारेको देखिन्छ । मन्दिरको आन्तरिक आम्दानी गत वर्षको तुलनामा करिब २८ लाखले कमि आएको छ । मन्दिरको विकास निर्माण खर्च अघिल्लो वर्षको तुलनामा करिब ३६ लाखले बढेको देखिन्छ । मन्दिर सञ्चालनका लागि निर्मित अक्षय कोष १ करोड ८२ लाख ३६ हजार पुगेको छ । मन्दिरको दीगो सञ्चालनका लागि यसलाई सकारात्मक रुपमा हेरिएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा आम्दानी तर्फ विकास र साधारण तर्फ गरि १ करोड ९० लाख २७ हजार बराबरको आम्दानी रहेको छ भने खर्च तर्फ विकास र साधारण दुबै गरि २ करोड ३१ लाख २७ हजार खर्च भएको आन्तरिक लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारण सभामा लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य पूर्णप्रसाद गौडेलले प्रस्तुत गर्नुभएको थियो । अनुगमन तथा मूल्यांकन उपसमितिका संयोजक हरिप्रसाद सापकोटाले मन्दिरको गुरुयोजनालाई समयसापेक्ष परिमार्जित गर्दै धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पहलका लागि सुझाब दिनुभएको छ ।