गैंडाकोट हर्कपुरमा एनसिसि बैंकको एक्सटेन्सन काउन्टरको उद्घाटन

0


प्रेम क्षेत्री
पुस १६, गैंडाकोट । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसि) गैंडाकोट शाखा अन्र्तगत गैंडाकोट १२ हर्कपुरमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरिएको छ । गैंडाकोट १२ का वडा अध्यक्ष थिरबहादुर थनेतले रिबन काटेर काउन्टरको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उहाँले गैंडाकोट नगरपालिका अन्र्तगत मुकुन्दपुर क्षेत्रमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य असहज भईरहेको र बैंकिङ कारोबार गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाईदिन आग्रह गर्नुभयो । उहाँले वडाका वृद्धवृद्धालाई सहज होस् भन्ने हेतुले बैंकसँगको सहकार्यका लागि नगरपालिकासमक्ष सिफारिस गरेको समेत बताउनुभयो । यस क्षेत्रमा बैंक अत्यावश्यक रहेको र पटक पटकको आग्रहपछि बैंक स्थापना हुनु खुसीको कुरा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट १३ का वडा अध्यक्ष पदमलाल पौडेलले सहजरुपमा बैंकिङ् सेवा प्रदान गर्न सुझाव दिदैं शुभकामना व्यक्त गर्नुभयो । गैंडाकोट १२ का वडा सदस्य गोविन्दराज कोईरालाले बैंक स्थापना भएपछि यस क्षेत्रका नागरिकलाई बैंकिङ् कारोबारका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा एनसिसि बैंकका प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले यस क्षेत्रका नागरिकको चाहना र आवश्यकता अनुसार गैंडाकोट शाखा अन्तर्गत एक्सटेन्सन काउन्टरको शुभारम्भ गरिएको बताउनुभयो । पछि यसलाई शाखाकै रुपमा विस्तार गरिने समेत उहाँले बताउनुभयो । बैंकका गैंडाकोट शाखा प्रमुख रिता कंडेलले उपस्थित महानुभावलाई स्वागत गर्दै यस क्षेत्रमा गुणस्तरिय र छिटो छरितो सेवा प्रदान गरिने बताउनुभयो । कमर्सियल बैंक नभएको अवस्थामा यसले सहज हुने कार्यक्रममा उपस्थित महानुभावले विश्वास व्यक्त गरेका छन् । साथै उनिहरुले छिट्टै शाखाको रुपमा विस्तार गर्न आग्रह समेत गरेका थिए ।


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले देशका विभिन्न १२७ शाखा तथा ७ वटा एक्सटेन्सन काउन्टर र १०२ स्थानबाट एटिएम सेवा सहितको बैंकिङ् सेवा प्रदान गरिरहेको अपरेशन ईन्चार्ज अमृता गौतमले जानकारी दिनुभयो । एक्सटेन्सन काउन्टर ईन्चार्ज आशिष श्रेष्ठले नयाँ सदस्य आउने तथा बैंकिङ् सेवा शुभारम्भ भईसकेको जानकारी दिनुभयो ।


कार्यक्रममा समाजसेवी रामचन्द्र धिताल, शेषकान्त देवकोटा, शान्ती कोईराला लगायत स्थानीय विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो । बैंकले करिब २ दर्जन रेमिट्यान्स सुविधा, मोवाईल बैंकिङ्, एनसिसि ईन्टरनेशनल डेविट कार्ड, लकर सुविधा सहितको ३६५ दिने सेवा दिईरहेको छ ।

Share.

Leave A Reply