भुजेल गाउँ नमुना बन्दै

0


पवित्रा पराजुली
गैँडाकोट । भित्री मधेशको पहाडी ईलाका, गैँडाकोट ३ भुजेल गाउँबासीलाई एकताका एउटै पिरलो थियो, पानीको जोहो कसरी गर्ने ? यो समस्या हटेपछि उनीहरु उत्साही छन् । बिहानै उज्यालो नहुँदै पानी डोकामा बोकेर घरधन्दा भ्याउने भुजेल गाउँकी विष्णुमाया भुजेललाई घर अगाडिआएको खानेपानीको धाराले सास्ती हटेको छ । घन्टाँै लगाएर खोलाको पानी लिन जानुपर्ने बाध्यता हटेपछि उहाँ खुसी हुनुहुन्छ । रातभर जनावरले बिथोलेको फोहर पानीको प्रयोग हटेको उहाँको भनाइ छ ।
घन्टौँ लगाएर ल्याएको पानीले गुजारा चल्थ्यो । डोकामा गाग्री र ग्यालिनमा पानी नओसारेसम्म अर्को विकल्प थिएन । खानेपानीको धारा गाउँमा आएसँगै स्थानीयले सुरक्षित पानी पिउन पाएका छन् ।पानी नभएकै कारण बाँझै रहेका बारीमा अहिले तरकारी फल्न थालेका छन् । यसले पैसा पनि र समय पनि बचत भएको स्थानीय सुस्मा भुजेल बताउनुहुन्छ ।


शुद्ध पानी वितरण भएसँगै गाउँको मुहार पनि फेरिदै छ । जंगलमा शौच गर्दै आएका उनीहरुको योजना अब शौचालय बनाउनु रहेको छ । भुजेल गाउँमा रहेका ३५ घरमध्ये जम्मा ४ घरमा मात्र शौचालय छ । शौच गरेपनि पानी नहुँदा समस्या थियो । पानी नभएकै कारण शौचालय नबनाएको उनीहरु बताउँछन् तर अहिले घर घरमा पानी पुगेसँगै शौचालय बनाउने तयारीमा उनीहरु जुटेका छन् । स्थानीय सोमी माया भुजेलले सबैले शौचालय बनाउने कुरा चलिरहेको बताउनुभयो ।
भुजेल गाउँमास्थानीय सरकार, रोटरी क्लब र स्थानीयको जनश्रमदानमा करिब १५ लाखको लगानीपछि पानीपुगेको हो । रोटरी क्लब अफ गैँडाकोटले नमुना भुजेल गाउँ बनाउने योजनाका साथ काम गरिरहेको छ । अब शौचालय बनाउने काम सुरु गरेको रोटरी क्लब अफ गैँडाकोटका अध्यक्ष शंकर घिमिरे बताउनुहुन्छ ।
नगरपालिका भएर पनि विकासका पूर्वाधारबाट पछि परेको गैँडाकोट ३ को भुजेल गाउँलाई नमुना गाउँ बनाउने सपना साचेका छन् । यस कार्यमा रोटरी सारथी बनेको छ ।

Share.

Leave A Reply