मृगौलाको पत्थरीहुँदा के के नखाने?

0

डा. हेमराज कोइराला
खनिजतत्त्व र नुन आदिबाट मृगौलामा बनेकोे कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ।हुनत मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्त्वहरू जिम्मेबार छन् तर हामीले खाने खानेकुराहरूको भूमिका ती सबै कारक तत्त्वहरूमध्ये मूख्य मानिएको छ।मृगौलाको पत्थरी हुँदा के खाने वा नखाने भनेर निक्र्योल गर्नुभन्दा पूर्व हाम्रो शरीरमा बनेको पत्थरी कस्तो प्रकारको हो भनेर थाह पाउनुपर्ने हुन्छ किनकि हामीले एक खालको पत्थरीका लागि राम्रो खानेकुरा अर्को खालको पत्थरीका लागि नराम्रो हुन सक्दछ। यसर्थ मृगौलाको पत्थरी हुँदा चिकित्सकलाई सोधेर कस्तो किसिमको पत्थरी हो भनेर निक्र्योल गर्नुपर्ने हुन्छ। एकचोटि पत्थरीको प्रकृति निक्र्योल गरिसकेपछि अनि त्यसपछि मात्र के खाने र के नखाने भनेर छुट्याउनुपर्ने हुन्छ।
पत्थरीका प्रकारः
मृगौलामा बन्ने पत्थरी मूलतः चार प्रकारका छन् ः
१. क्यालसियम अक्जेलेट पत्थरी,
२. क्यालसियम फस्फेट पत्थरी,
३. युरिक एसिड पत्थरी र
४. सिस्टिन पत्थरी ।

(क)क्यालसियम अक्जेलेट पत्थरीमा के नखाने?
यो पत्थरी धेरै व्याक्तिमा देखिने पत्थरी हो र यस किसिमको पत्थरीको निर्माण पिसाबमा निहित क्यालसियमसँग अक्जेलेट मिलेर अघुलनशील क्रिस्टल बनाएपछि हुने गर्दछ। क्यालसियम र अक्जालेट दुवै हामीले खाने धेरै खानेकुराहरूमा पाइने गर्दछ। यीमध्ये क्यालसियम हाम्रो शरीरका लागि चाहिने तत्त्व हो भने अक्जेलेटको उपयोग शरीरले गर्दैन। यसर्थ क्यालसियम अक्जेलेट पत्थरी हुन नदिनका लागि मुख्यतः उच्च अक्जेलेट भएका खानेकुराहरूलाई निषेध वा कम गर्नुपर्दछ । यसै गरी शरीरमै अक्जेलेट बन्न मद्दत गर्ने विभिन्न प्रकारका खानेकुराहरू पनि त्याग्नुपर्ने हुन्छ।
१. उच्च अक्जेलेट भएका खानेकुराहरूः
– पालुङ्गो।
– भान्टा
– काजु, पिस्ता र बदाम।
– कालो अङ्गुर
– च्याउ
– फर्सी
– काक्रो
– टमाटर
– अमला
– मिसो सुप
– बोक्रासहितको आलु
– चुकन्दर
– कोका पाउडर
– भिन्डी
– फ्रेन्च फ्राई
– रास्पबेरी
– स्टेभिया
– सुठुनी ।
२. चर्को नुन हालिएका खानेकुराहरूः
चाहिनेभन्दा ज्यादा नुनको सेवन गर्दा नुनमा भएको सोडियमले पिसाबका रूपमा बाहिर गइरहेको पानीलाई पुनः अवशोषण गरीपिसाबलाई बाक्लो बनाउने गर्दछ। यसो हुँदा पिसाबमा क्यालसियमको मात्रा बढ्न गएर अक्जेलेटसँग संयोग भई क्यालसियम–अक्जेलेट क्रिस्टल बन्ने गर्दछ। यसर्थ मृगौलाको पत्थरीबाट बच्नका लागि उच्च मात्रामा नुन हालिएको, अजिनोमोटो हालिएका एवं तारेभुटेको, चटपटे, फ्राइडफुड, जङ्कफुड, बोतल, बट्टाबद्ध खानेकुराहरू आदिको सेवन गर्नु हुँदैन।
३. प्राणीजन्य खानेकुराहरूः
माछा, मासु, अण्डाजस्ता जनावरबाट प्राप्त प्रोटिनको सेवनले पनि मृगौलाको पत्थरीलाई बढाउँदछ। यसर्थ जनावर जन्य खानेकुराहरू जस्तै ः माछा, मासु, अन्डा, दूध, दही, चिज, पनिर, बटर आदिको सेवन गर्नु हँुदैन।
४. उच्च मात्रामा भिटामीन सीको सेवन गर्ने गर्दा पनि यसले शरीरमा अक्जेलेट उत्पादन गरी उच्च पत्थरी बनाउन मद्यत गर्दछ। यसर्थ प्रतिदिन भिटामिन सीको सेवन ५०० मिलिग्रामभन्दा ज्यादा हुनु हँुदैन ।
(ख)क्यालसियम फस्फेट पत्थरीमा के नखाने?
पिसाबमा भएको क्यालसियमले जबपिसाबमै भएको फस्फेट मिनरलसँग संयोग गरी बनाएको पत्थरीलाई क्यालसियम फस्फेट पत्थरी भन्ने गरिन्छ।क्यालसियम फस्फेटको पत्थरी भएकाहरूले अक्जेलेट भएको खानेकुराहरू खान सक्छन तर उच्च फस्फेट भएको खानेकुराहरू खान सक्दैनन् । जस्तै ः
१. माछा, मासु अण्डाजस्ता जङ्गम खाद्यः
प्राणीबाट प्राप्त खानेकुराहरूमा उच्च मात्रामा फस्फोरस पाइन्छ। खाएको फस्फोरस रगत हँुदै पिसाबमा उत्सर्जित हँुदै गर्दा क्यालसियमसँग प्रतिक्रिया गरेर क्यालसियम फस्फेटको क्रिस्टल बनाउने गर्दछ।
२. दूध, दही, मही, चिज, पनिर, बटरजस्ता खानेकुरामा पनि उच्च मात्रामा फस्फोरस पाइने हुँदा पत्थरी बनाउन मद्दत गर्दछ ।
३. सामुद्रिक खानेकुराहरू पनि फस्फोरसको उच्च स्रोत हो।
४. जङ्कफुडः
जङ्कफुडमा खानेकुरालाई सड्न नदिने तत्त्वका रूपमा फस्फोरस प्रयोग गरिएको हुन्छ । यसै गरी स्वाद बढाउन र आकर्षक बनाउनका लागि पनि फस्फोरस प्रयोग गरिन्छ। यसर्थ जङ्कफुड, फास्टफुड, प्रोसेस्डफुड, केनफुड आदिको सेवन गर्नु हँुदैन।
५. चर्को नुनको सेवनः
उच्च मात्रामा नुनको सेवन गर्ने गर्दा यसले पिसाबलाई बाक्लो बनाउने हुँदा क्यालसियम र फस्फोरसलाई प्रतिक्रिया गर्ने प्रबल सम्भावना बढाइदिन्छ।
ग. युरिक एसिड पत्थरी हुँदा के नखाने?
रगतमा युरिक एसिडको मात्रा बढे सँगै युरिक एसिड पत्थरी हुने सम्भावना बढेर जान्छ। यसर्थ युरिक एसिड बढाउने निम्नलिखित खानेकुराहरू नखानुहोला ः
१. माछा–मासुः
युरिक एसिड पत्थरी भएका र युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हाँसको मासु, टर्कीको मासु मुुटु, कलेजो, मिर्गौला, गिदीजस्ता भित्री अङ्गको मासु खान हुँदैन । रातो मासु र भित्री मासुमा प्युरिन न्युक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।
२.समुन्द्री खाद्यान्नः
विशेष गरी भिङा माछा, प्राउन, लोवस्टोर , हेरिङ, ट्युना, एन्कोभिज प्र्रजातिका माछाहरु र अन्य समुन्द्री वनस्पतिहरुबाट निर्मित खानेकुराहरुमा प्युरिन न्युक्लिक अम्लको मात्रा बढी भएकाले युरिक एसिड बढ्दछ र युरिक एसिड पत्थरीमा खान राम्रो मानिँदैन ।
३. मदिरा ः
युरिक एसिड बढ्दा रक्सी, ब्रान्डी, ह्विस्की, रमजस्ता अल्कोहोलिकयुक्त पेय पदार्थ सेवन सर्वथा वर्जित छ । मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्रा बढाउनुका साथसाथैै शरीरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन हुन पनि रोक्दछ ।
४. कोल्ड ड्रिङ्कसः
कोकाकोला, पेप्सीकोला, स्प्राइट, फेन्टा, मिरिन्डाजस्ता कार्बोनेटेड र मधुराकृत पेय पदार्थहरुले युरिक एसिडलाई बढाउँछन् । फ्रुक्टोज–स्विटन्ड– ड्रिङ्स मह पानी,सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रुक्टोज पाइन्छ । फ्रुक्टोजले एटीपीलाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।
५. दाल–गेडागुडि ः
दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्युरिन न्युक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोगपश्चात् शरीरमा प्रशस्त युरिक एसिड बन्छ र युरिक एसिड पत्थरी हुन सक्दछ।
६.कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो, च्याउ, गोलभेंडाजस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्युरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेटको मात्रा पनि ज्यादा पाइन्छ । यसर्थ यस्ता तरकारीको सेवन कुनै पनि प्रकारको पत्थरीका लागि राम्रो होइन।
७. जङ्कफुड ः
जङ्कफुड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जङ्कफुडमा हालिएको प्रिजरभेटिभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जङ्कफुड ज्यादा खाँदा तौल बढ्न गई युरिक एसिड बढ्ने समस्या आउँछ र पत्थरी बन्दछ।
८. अचार (पुरानो), तामा र गुन्द्रुकसिन्की पनि युरिक एसिडका लागि राम्रो होइन ।यस्ता खानेकुराको सेवनले रगतमा युरिक एसिड बढाएर युरिक एसिड पत्थरी बन्न सहयोग गर्दछ।
घ. सिस्टिन पत्थरी हुँदा के नखाने?
प्रोटिन बनाउन प्रयुक्त हुने सिस्टिन एमाइनो एसिडको रक्त मात्रा ज्यादा भएर पिसाबमा उत्सर्जित भएर बन्ने सिस्टिन पत्थरी अन्य पत्थरीभन्दा आकारमा ठूलो हुने गर्दछ र एकपछि अर्को बनिरहने गर्दछ। यस किसिमको पत्थरीको मुख्य कारण सिस्टिन्युरिया भन्ने आनुवंशिक रोग हो। यद्यपि खानेकुराहरूको पनि सिस्टिन पत्थरी गराउनमा विशेष भूमिका हुन्छ । माछा, मासु, अन्डा, दूध, दही, चीज, पनिरजस्ता जङ्गम स्रोतका खानेकुराले यस किसिमको पत्थरी गराउनलाई सहयोग गर्दछ। यसै गरी अत्यधिक नुन हालिएका खानेकुराहरू जस्तै फ्रन्चफ्राई, आलु चिप्स, ससेज, पुरानो अचार आदिको सेवनले पनि सिस्टिन्युरियालाई बढाउँदछ।
यसै गरी कम पानी पिउनेहरूलाई पनि सिस्टन पत्थरी हुने सम्भावना रहन्छ । पानी कम पिउँदा पिसाबको अम्लता बढेर पत्थरी बन्ने गर्दछ।

Share.

Leave A Reply