चेपाङहरुको जिवनपद्धतीलाई परिवर्तन गराउँदै सपना भिलेज, प्रतिस्पर्धाबाट जिते ७ लाख नगद पुरस्कार

0

डोलराज रानाभाट,पौष ११, चितवन। सौराहामा रहेको सपना भिलेज सोसियल इम्याक्टले इच्छाकामना गाउँपालिका १ का चेपाङहरुको जिवनपद्धतीमा परिवर्तन ल्याउदै गएको छ ।

कुनै समय घरवरपर सफा नराख्ने, मादक पदार्थ सेवन गरी कमाएको रकम खर्चिने, बाल विवाह गर्ने, छोराछोरी विद्यालय नपठाउने चेपाङहरु अहिले यी सवैकुरामा सुधार ल्याउदै गएका छन् । सपना भिलेजले संचालन गरेको हरेक सपनाको सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजनाले उक्त परिवर्तन ल्याएको हो । प्रतिस्पर्धात्मक पद्धतीको उक्त परियोजनाले संचालन गरेको कार्यक्रमलाई सफल बनाउने विभिन्न समूहरुलाई आज नगद सहित पुरस्किृत गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।
गत वर्ष माघदेखि संचालन गरिएको परियोजनाका कारण अहिले उनीहरुले दैनिक सरसफाई गर्ने, बालवालिका विद्यालय पठाउने, करेसावारी बनाउने, आम्दानी बचत गर्ने बानीको विकास भएको छ ।
चेपाङ समुदायले प्रतिस्पर्धाबाट ७ लाख भन्दा बढी रकम पुरस्कार पाएका छन् । सोसियल इम्प्याक्टले गत बर्ष माघ देखि यो परियोजना संचालन गरेको थियो । परियोजनाले विभिन्न क्षेत्रलाई समेटेर प्रतिस्पर्धा गराउने गरेको छ । पहिलो चरणमा शनिबार अन्तर घर प्रतियोगिता ,अन्त्तर आमा समूह,अन्तर स्वास्थ्य स्वयम् सेवक,उत्कृष्ट किसान,अन्तर निर्णायकलाई नगदले पुरस्कृत गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

अन्तर घरमा उत्कृष्ट चेपाङको शुन्दर र सफा घर

अन्तर घर प्रतियोगितामा ५५ घरधुरीले पुरस्कार पाएका छन् । वडा नम्बर १ मा कुल ६६५ घरधुरी रहेकोमा ५६५ घरधुरीमा परियोजना लागू छ । ११ वटा टोलबाट ५/५ जनाका दरले पुरस्कार पाएका हुन । अन्तर घरधुरी प्रतिस्पर्धामा प्रथम हुने घरले नगद १५ हजार,दोस्रोले १२ हजार,तेस्रोले १० हजार,चौथोले ७ हजार र पांचौले ५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेको सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो । अन्तर घर प्रतियोगितामा घरको सरसफाइ ,करेसाबारी,धुंवारहित चुलो,शौचालय ,छोराछोरीको विद्यालय नियमितता, मादक पदार्थ सेवनविहिन परिवारसदस्य आदिलाइ आधार बनाएर मुल्यांकन गरिएको थियो ।

त्यस्तै परियोजनाको आमा समूह प्रतिस्पर्धामा सयपत्रि उत्कृष्ट भएको छ । ११ वटा आमा समुहबिच भएको प्रतिस्पर्धामा उत्कृष्ट भएको यो समुहले नगद रु। ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । अन्तर आमा समुह प्रतिस्पर्धामा सरसफाइ ,हिंसा न्यूनीकरण ,बालबिवाहको अवस्था ,योजना तर्जुमामा सहभागिता , सामजिक बिकासमा सहभागी आदि मापदण्ड बनाइएको थियो । त्यस्तै अन्तर स्वयंसेवक प्रतिस्पर्धामा उत्कृष्ट भएका सुर्य चेपाङले नगद १५ हजार,उत्कृष्ट फलफुल किसान बनेका ताराकुमारी चेपाङले नगद १५ हजार,उत्कृष्ट निर्णायक बनेकी गिता चेपाङले नगद १५ हजारनै पुरस्कार प्राप्त गरेको सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक बस्नेतले बताए । प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाइ आज नै इच्छाकामना गाउँपालिका १ कालिङ डांडामा एक कार्यक्रम गरि पुरस्कार बितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी इच्छाकामना गाउँपालिका अध्यक्ष गिता गुरुङ र सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले उहाँहरुलाई प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

तीन बर्से परियोजना अबधी भर पहिलो चरणमा पुरस्कृत भएकाहरु पनि फेरि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । सोसियल इम्प्याक्टका अध्यक्ष गिरिको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रममा इच्छाकामना १ का वडा अध्यक्ष नन्दलाल गिरि, नेकपा जिल्ला सचिवालय सदस्य नारायण प्रसाद अधिकारी , भारङ टोल बिकास संस्थाका अध्यक्ष सुन बहादुर चेपाङ ,नेकपा इच्छा १ का सचीव हिरा गुरुङ ,सोसियल इम्प्याक्टका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेल लगायतले मन्तब्य राख्दै सपना भिलेजको परियोजनाको प्रसंसा गर्नुभएको थियो ।


सोही अवसरमा लोक तथा आधुनिक गायक रमेशराज भट्टराईले सांगेतिक प्रस्तुति दिनुभएको थियो । उहाँले एक दर्जन गितमा प्रस्तुति दिंदा चेपाङ समुदायले नाच्दै साथ दिएका थिए ।

सोसियल इम्प्याक्टले आर्थिक वृद्धिका लागि फलफूलको बिरुवा ,डाले घांसको बीउ बितरण गरिसकेको छ भने बोयर जातको बोका समेत बितरण गर्ने कार्यक्रम रहेको परियोजनाका कार्यक्रम अधिकृत अनिल अर्यालले बताउनुभयो ।

Share.

Leave A Reply