सिकल सेल एनिमियाबारे अभिमुखिकरण

0


प्रेम क्षेत्री, पुस ९, गैंडाकोट ।
सिकल सेल एनिमिया सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम गैंडाकोटमा शुरु भएको छ ।

कार्यक्रमको पहिलो दिन आज गैंडाकोटका सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुलाई अभिमुखिकरण गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको संयोजन तथा नगर स्वास्थ्य शाखा गैंडाकोट नगरपालिकाको ब्यवस्थापनमा विजय विकास स्रोत केन्द्रको सभाहलमा सो कार्यक्रम शुरु भएको हो । कार्यक्रममा करिब ३ दर्जन सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत र कार्यक्रमबारे प्रकाश पार्दै नगर स्वास्थ्य शाखा गैंडाकोटका प्रमुख झलकराज पौडेलले सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशानुगत रोग भएकाले नआत्तिन तर समयमै उपचारमा ध्यान दिनुपर्ने बताउनुभयो । सिकलसेल एनिमियालाई सामान्य रुपमा नलिन र यसलाई गाउँतहमा जनचेतना फैलाउन सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमको दोस्रो दिन शुक्रबार गैंडाकोटका जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरिने उहाँले जानकारी दिनुभयो ।

अभिमुखिकरणका क्रममा मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. सविता लम्सालले यो रोग आमाबाबु दुबैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहने बताउनुभयो । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशानुुगत रोग भएको उहाँको भनाई छ । कालो जण्डिसका रुपमा लिईने गरेको यस रोगले रक्त अल्पता गराउने उहाँले बताउनुभयो । नेपालको पश्चिमी भेगमा त्यो पनि थारु समुदायमा वढि देखिएको उहाँले बताउनुभयो । समयमा नै ध्यान दिन सके यो रोगबाट बच्न सकिने उहाँले बताउनुभयो । १९१० मा पहिलो पटक अमेरिकामा यो रोग पत्ता लागेको र अफ्रिकामा ४५ प्रतिशत मानिसहरु यो रोगबाट प्रभावित रहेको उहाँको भनाई छ । कार्यक्रममा जिल्ला तथा प्रदेशका विज्ञहरुले अभिमुखिकरण गर्नेछन् ।

Share.

Leave A Reply