अमर साकोसले सदस्यलाई बिना ब्याज ३ लाख लगानी गर्ने, करिब ९३ लाख मुनाफा

0


प्रेम क्षेत्री
गैँडाकोट । सदस्यलाई बिना ब्याज ३ लाख सम्म लगानी गर्ने प्रस्ताव सहित अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड अमरापुरीको २१ औँ वार्षिक साधारण सभा सुरु भएको छ ।
मंगलबार संस्थाको सभाहल गैंडाकोट १६ मा भएको शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशवप्रसाद सापकोटाले गैंडाकोटमा रोजगारीमूलक उद्योग स्थापना गरे त्यस्ले लाभ दिने बताउँदै त्यसतर्फ सहकारीले सोच्नुपर्ने बताउनुभयो । गैंडाकोट दुधमा आत्मनिर्भर बनेको प्रंसग जोड्दै उहाँले यहाँका दुध संकलन गर्ने सहकारी मिलेर दुध कारखाना निर्माण गर्न सके त्यसबाट प्रतिफल प्राप्त गर्न सकिने बताउनुभयो । व्यक्ति र समाजको विकास र आर्थिक उन्नतीका लागि स्थापना भएका सहकारीहरुले बृहत्तर फड्को मारेको उहाँको भनाई छ । सहकारीले गरेका उन्नतीको प्रतिफलले रोजगारी सिर्जना गर्नुका साथै घर र समाज मजबुत बनेको बताउनुभयो ।


विशिष्ट अतिथि संस्थाका संस्थापक अध्यक्ष हरिदत्त पाध्याले गाउँमा २५ पैसा ब्याज महंगो भयो भनेर सबै मिलेर स्थापना गरेको सहकारीले गरेको प्रगति देखेर छक्क परेको बताउँदै खुसी लागेको बताउनुभयो ।
संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्षहरु गोपी कंडेल, दाताराम पाण्डे, यामलाल कंडेल, सल्लाहकारहरु कुलप्रसाद अधिकारी, तेजेन्द्रप्रसाद सापकोटा, मणिभद्र कंडेल, समाजसेवीहरु खेमप्रसाद सापकोटा, खड्ककुमारी ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राख्दै संस्थालाई प्रविधिमैत्री बनाउँदै सदस्यका चाहना अनुरुपका कार्यक्रम गर्दै जानुपर्ने बताउनुभयो ।
अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रजापति कंडेलले बचत र दुधको कारोबार गर्दै सदस्यलाई आत्मनिर्भर बनाउन जोड दिईएको बताउनुभयो । संस्थाले प्रविधिलाई जोड दिदैं रजहरबाट वित्तीय सेवा प्रदान गर्न सेवा केन्द्र स्थापना गर्ने बताउनुभयो । १५ गतेसम्म सुझाव संकलन, १६ गते सुझाव एकीकृत, १७ गते प्राप्त सुझावउपर छलफल तथा १८ गते २२औँ वार्षिकोत्सव तथा २१औँ साधारणसभा समापन समारोहको समय तय गरिएको उहाँले जानकारी दिनुभयो ।


कार्यक्रममा आर्थिक वर्ष २०७६÷०७७ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका सचिव श्यामसुन्दर शर्मा लामिछानेले प्रविधिमैत्री कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । सदस्यलार्ई सीपमूलक तालिम तथा आर्यआर्जनका कार्यक्रम सञ्चालन गरिने बताउँदै दुध संकलन तथा बिक्रि, दाना चापट खरिद बिक्रि, घाँस बीउ वितरण लगायतका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । दुग्ध व्यवसायमा लागेका सदस्यलाई थप प्रोत्साहनका लागि २१ लाखसम्म प्रति सदस्य विना ब्याज ३ लाख सम्म लगानी गर्ने बताउनुभयो ।


आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष आनन्दकुमार शर्मा पंगालीले गत आर्थिक वर्षमा संस्थाले ९२ लाख ७६ हजार ३ सय ५२ रुपैयाँ मुनाफा गर्न सफल भएको जानकारी दिनुभयो । त्यस्तै ३ करोड २९ लाख ४२ हजार २ सय सेयर पुँजी र ३४ करोड ९९ लाख ७४ हजार १ सय ७१ कुल सम्पत्ती पुगेको जानकारी दिनुभयो ।


लेखा समिति संयोजक हरिभक्त कंडेलले संस्थागत पूँजी वृद्धि गर्न सुझाव दिदैं कोरोना कहरकाबीच ९० प्रतिशत कार्यक्रम सम्पन्न हुनु सुखद् पक्ष रहेको बताउनुभयो । साधारण सभामा संस्थाका उपाध्यक्ष यमप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
२०५६ सालमा स्थापना भएको सहकारीमा हाल ५ हजार ४ सय ८५ जना सेयर सदस्य रहेको व्यवस्थापक देवेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । संस्थाका सेयर सदस्यहरुलाई कोरोनाबाट सुरक्षित राख्दै विभिन्न समयमा उपस्थिती एवं सुझाव संकलनको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँले संस्थाको केन्द्रीय कार्यालय गैँडाकोट १६ अमरापुरी र न्यू जनसेवा सेवा केन्द्र गैँडाकोट १५ बुद्धचोकमा उपस्थित भई सुझाव पेस गर्न सकिने बताउनुभयो ।

Share.

Leave A Reply